चलचित्र बनाउन जान्ने, बेच्न नजान्ने 

चलचित्र बनाउन जान्ने, बेच्न नजान्ने 

नरेश फुयाँल


बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘दबङ्ग–३’ डिसेम्बर २० मा रिलिज हुँदैछ । बहुप्रतीक्षित ‘दबङ्ग–३’ को चर्चा चुलीमा पुगिसकेको छ । चर्चामात्रै होइन यसले बक्सअफिसमा गर्ने व्यापारको पनि पूर्वानुमान सुरु भइसक्यो । यो चलचित्रले  अहिलेसम्मकै ठूलो रिलिजको मौका पाउने भएको छ । घरेलु बक्सअफिसमा ५४ सय स्क्रिन पाउने ‘दबङ्ग–३’ले बलिउडबाहिर १६ सय स्क्रिन पाउने छ । यति स्क्रिन नघटेमा यसले ‘ठग्स अफ हिन्दोस्तान’को रेकर्ड ब्रेक गर्नेछ ।

बलिउडकै सर्वाधिक स्क्रिनमा रिलिज भएको ‘ठग्स अफ हिन्दोस्तान’ले ५ हजार स्क्रिन पाएको थियो । फलतः चलचित्रले ५० करोड माथिको ओपनिङ गरेको थियो । अब यो रेकर्ड ‘दबङ्ग–३’ ले तोड्ने अवस्था छ । बलिउडमा चलचित्रको चर्चा जुन ढङ्गमा हुने गर्छ, प्रचारप्रसार पनि त्यतिकै हुने गर्छ । प्रचारमात्रै होइन कुन चलचित्रले कति व्यापार गर्छ भनेर त्यसको पूर्वानुमान पनि हुन्छ । परिणामतः कुन चलचित्र कहिले रिलिज हुन्छ र कुनमा को कलाकारले अभिनय गरेका छन्, दर्शकलाई त्यसबारे पूर्ण जानकारी हुन्छ । 

बलिउडमा चलचित्रको प्रचारका लागि अभिनेता तथा अभिनेत्रीहरु विभिन्न सूत्र अपनाउँछन् । स्टारहरु नै आमजनतासँग साक्षात्कार गर्न सडकमै ओर्लिन्छन् । हुन पनि हो, चलचित्र अब फगत कलामात्रै रहेन । यो ‘कमोडिटी’ अर्थात् ‘वस्तु’ बनिसक्यो । अर्बौं लगानी गरेर उत्पादन गरिएका वस्तु (चलचित्र) चलाउन त्यसको प्रचार पनि हुनैपर्‍यो । मनोरञ्जनका बहुसुविधा उपलब्ध वर्तमान समयमा उपभोक्तालाई वस्तु उत्पादनबारे विशेषतासहित राम्रै जानकारी दिनु जरुरी छ । त्यसैले बलिउडमा चलचित्रको प्रचारका लागि साम, दाम, दण्ड, भेद सबै प्रक्रिया अपनाउने गरिन्छ । 

चलचित्र निर्माणको गति बढ्दै गएको नेपालमा तुलनात्मक रुपमा यसको प्रचार कमै हुन्छ । न्यून बजेट र प्रचारका लागि दक्ष जनशक्तिको अभावमा फितलो प्रचार हुने गरेको छ । साथै, प्रचार सामग्री रचनात्मक ढङ्गमा निर्माण हुन नसक्नु पनि नेपाली चलचित्रजगत्को समस्या हुन पुगेको छ । 

त्यसो त, नेपालमा पछिल्लो समय प्रचारको शैली फेरिन थालेको छ । सहरका गल्लीका भित्तामा पोस्टर टाँसेर गरिने प्रचार यथावत् त छ, तर यो पहिलो प्राथमिकतामा पर्न छोडेको छ ।

रेडियो टेलिभिजनमा गरिने विज्ञापन, देशका मुख्य सहरमा पुगेर गरिने पत्रकार सम्मेलनसँगै पछिल्लो समय केही चलचित्रले टाइटल सङ्गको कभर डान्स तथा केहीले स्क्रिप्ट तथा कविता प्रतियोगिता समेत गराउन थालेको देखिएको छ । तर यतिमात्रै चलचित्रको प्रचारका लागि पर्याप्त छैन । यही महसुस गर्दै पछिल्लो समय नेपाल भित्रिएका साङ्गीतिक ‘रियालिटी सो’मा चलचित्रको प्रचारका निम्ति जान थालिएको छ ।  

‘भ्वाइस अफ नेपाल’, ‘नेपाल आइडल’मा चलचित्र रिलिजको पूर्वसन्ध्यामा चलचित्रका मुख्य कलाकार, निर्देशक तथा निर्माताहरु जाने गरेका छन् । यी अन्तरराष्ट्रिय साङ्गीतिक सो नेपाल भित्रिएको लामो समय भएको छैन । तर यस्तो प्लेटफर्मलाई नेपाली चलचित्रले प्रचारको माध्यम बनाउन पाएका थिएनन् । गत वर्षमात्रै नेपाल भित्रिएको ‘को बन्छ करोडपति’को मञ्चबाट पनि केही चलचित्रले प्रचार गर्ने मौका पाए ।   

अन्तरराष्ट्रिय राइट्स लिएका यी ‘सो’बाहेक नेपाली मौलिक टेलिभिजन ‘सो’ ‘ह्वाट्स द फ्लप’, ‘मुन्द्रेको कमेडी क्लब’बाट पनि चलचित्र मेकरहरुले आफ्नो चलचित्र रिलिजको पूर्वसन्ध्यामा प्रचार गरिरहेका छन् ।

टेलिभिजनमा उच्च टीआरपी हुने तथा युट्युब स्क्रिनिङमा ठूलो सङ्ख्यामा दर्शक आउने भएकाले यस्ता कार्यक्रमलाई मेकरहरुले चलचित्रको प्रचारका लागि प्रभावकारी माध्यम ठानेका हुन् । 

नेपालमा चलचित्रको पब्लिसिटीका लागि खासै धेरै बजेट छुट्ट्याइँदैन । त्यसको असर चलचित्रको व्यापारमा पर्ने गरेको चलचित्र निर्देशक तथा कलाकार तुलसी घिमिरे बताउँछन् । “हामी चलचित्र बनाउन जान्दछौं, तर त्यसलाई बेच्न जान्दैनौं,” निर्देशक घिमिरे भन्छन्, “हामीले सबै चलचित्र राम्रा बनाएका छौं भनेर म भन्दिनँ, तर राम्रा चलचित्रको पनि मार्केटिङ गर्न जानेनौं ।” नेपाली चलचित्रको बजार प्रवद्र्धनका लागि व्यापारिक घरानाको प्रवेश आवश्यक रहेको उनको भनाइ छ ।
 
बलिउडमा चलचित्रको कुल बजेटको कम्तीमा २५ प्रतिशत पब्लिसिटीमा खर्च गरिन्छ । “बलिउडमा लो बजेटको फिल्म जस्तै १० करोडमा निर्माण गरिएको छ भने अर्को १० करोड पब्लिसिटीका लागि खर्च गरिन्छ,” निर्देशक तथा समीक्षक दीपेन्द्र लामा भन्छन्, “हाम्रोमा भने पब्लिसिटीका लागि खासै खर्च नगर्ने परम्परा नै बसिसकेको छ ।”

बलिउडमा चलचित्र निर्माणलाई जति संवेदेनशील मानिन्छ त्यति नै ध्यान पब्लिसिटीमा दिइन्छ । सुपरस्टार आमिर खान हुन् या किङ खान शाहरुख । उनीहरु आफ्नो चलचित्रको प्रचारका लागि कुनै कसर बाँकी राख्दैनन् । सैलुनमा बसेर सर्वसाधारणको कपाल काट्नेदेखि सार्वजनिक सवारी टेम्पो रुटमा चलाउनेसम्म गर्छन् । महङ्गो शुल्क तिरेर कपिल शर्माको ‘कमेडी सो’मा जान्छन् । समाज सेवाको पाटो भिन्दै छ, प्रदर्शनपूर्व नै चलचित्रको यति धेरै पब्लिसिटी भइसकेको हुन्छ कि, चलचित्रको हाइपको ग्राफ निकै माथि चढिसकेको हुन्छ । देशदेखि विदेशका दर्शकलाई कसको चलचित्र कहिले आउँछ अग्रिम जानकारी हुन्छ । फलतः इनिसियल पहिलो दिनको बक्सअफिस कलेक्सनले नै चलचित्रलाई सय करोड क्लबमा प्रवेश गराउने ल्याकत राख्छन् । 

बलिउडकै सूत्रमा चल्ने नेपालको प्रसङ्ग भने अलि फरक छ, आफ्ना फेभरेट एक्टर तथा एक्ट्रेसको चलचित्र कहिले आउँदैछ भनेर हार्डकोर दर्शकलाई नै थाहा हुँदैन । यसको साक्षी आफू रहेको अभिनेता खगेन्द्र लामिछानेले हामीसँगको एक अन्तरवार्तामा केही समयअगाडि भनेका थिए । आफ्नो चलचित्र ‘डण्डीबियो’ लागेको आफ्ना हार्डकोर दर्शकले नै थाहा नपाएको उनको गुनासो थियो । 

“राम्रो कथामा चलचित्र बन्ने हो भने त्यही अनुसारको मार्केटिङ हुनुपर्छ । बाहिरको बजारमा पनि पठाउन सक्नुपर्छ । फेस्टिभलका लागि एप्रोच गर्नुपर्छ । यसो गर्न सकियो भने राम्रो चलचित्र बनाउन सकिन्छ । हाम्रोमा बजेट अभावका कारण चलचित्र आउँदैछ भनेर मार्केटिङ नै हुँदैन,” खगेन्द्र भन्छन्, “यसमा मेरो आफ्नै अनुभव छ । मेरा यति धेरै शुभचिन्तक छन्, केही व्यक्तिलाई मेरो चलचित्र ‘डण्डीबियो’ रिलिज भएकै थाहा थिएन । हामी दर्शकलाई नै थाहा नदिई चलचित्र रिलिज गरिरहेका त छैनौं ?” चलचित्र राम्रो भएर मात्रै नहुने भन्दै दर्शकसामु चलचित्र आउँदैछ भनेर जानकारी पनि दिन सक्नुपर्ने लामिछानेको भनाइ छ । 

“हाम्रोमा केही राम्रा चलचित्र पनि बनिरहेका छन् । तर ती चलचित्र पब्लिसिटीको अभावमा कहिले लाग्छन् र उत्रिन्छन् भन्ने नै थाहा हुँदैन,” निर्देशक के खनाल भन्छन् । 

पब्लिसिटीको नयाँ तरिका दुई वर्षअगाडि दीपेन्द्रले पनि गर्ने प्रयास गरेका थिए । स्क्रिप्ट लेखेर पठाउन आग्रह गर्दै राम्रो स्क्रिप्ट आएमा त्यसमै चलचित्र बनाउने घोषणा गरेका थिए । पछिल्लो समय नेपाली चलचित्र पब्लिसिटीको तौरतरिकामा केही फरकपन भित्रिन नथालेको होइन, तर प्रभावकारी छ वा छैन त्यो भने समीक्षाको पाटो हो । 

गत वर्ष रिलिज भएको चलचित्र ‘हरि’को समीक्षकले तारिफ गरे । हेरे जति दर्शकले प्रशंसा गरे । सर्रियलिज्म थिममा बनेको चलचित्रमा विपिन कार्कीको अभिनयको उच्च प्रशंसा भयो । 
विडम्बना दर्शक हलमा पुगेनन् । चलचित्रले राम्रो कलेक्सन गर्न सकेन ।   

८६ लाख लगानी रहेको चलचित्र ‘हरि’का निर्माताको हातमा ट्याक्स कटाएर १० हजार रुपैयाँ पर्‍यो । ‘हरि’ निर्देशक सफल केसी चलचित्रको मार्केटिङ राम्रोसँग गर्न नसक्नु नै हलसम्म दर्शक नजानुको अर्को मुख्य कारण रहेको बताउँछन् । “आमरुपमा आइरहेका भन्दा फरक चलचित्रका लागि पब्लिसिटी झन् धेरै आवश्यक पर्छ । तर बजेट अभावका कारण रिलिज गर्न नै कठिन हुन्छ,” निर्देशक सफल भन्छन्, “हामी केही भिन्न गरौं भन्ने मेकरहरुका लागि त चलचित्र पोस्टप्रोडक्सनमा जाँदै बजेट सकिसकेको हुन्छ, पब्लिसिटीका लागि बजेट नै हुँदैन ।”

गत वर्ष रिलिज भएको चलचित्र ‘बुलबुल’को प्रचारको शैली केही भिन्न थियो । यसले निश्चित दिनको अन्तर तोकेर चलिचत्र प्रचारका लागि विभिन्न सामग्री प्रस्तुत गरेको थियो । नेपाली चलचित्र उद्योगमा टिजर, ट्रेलर, गीत र पोस्टरबाहेक खासै डिजिटल प्रचार सामग्री ल्याउने चलन छैन । तर ‘बुलबुल’ले चलचित्रभित्रका विभिन्न ‘क्लिप्स’लाई पनि प्रचार सामग्रीका रुपमा प्रयोग गरेको थियो । 

यो चलचित्रको गीत पनि फरक तरिकाले सार्वजनिक गरिएको थियो । ‘फ्ल्यास मुभ’ शैलीमा गीत रिलिज गरिएको थियो । काठमाडौं मल, पोखराको चिप्लेढुङ्गा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सअगाडि कलाकारहरू नाच्दै चलचित्रको गीत सार्वजनिक गरिएको थियो । काठमाडौंको काठमाडौं मलमा अभिनेत्री स्वस्तिमा खड्का दर्शकसँग गीतमा नाचेकी थिइन् । ‘फ्ल्यास मुभ’ शैलीमा गीत रिलिज गरिएको नेपालमा यो नै पहिलो पटक थियो । 

आफूले अपनाएको चलचित्रको प्रचार शैली प्रभावकारी भएको ‘बुलबुल’ निर्देशक विनोद पौडेल बताउँछन् । “हामीले पब्लिसिटीका लागि जुन टुल्स अपनायौं, त्यो प्रभावकारी भयो,” विनोद भन्छन्, “प्रचारका कारण चलचित्रले रिलिजपूर्व नै राम्रो हाइप बनाइसकेको थियो ।” उनी अब पुरानै ढर्राले पब्लिसिटी प्रभावकारी नहुुने बताउँछन् । 

बलिउड तथा हलिउडमा चलचित्रको प्रचारका लागि छुट्टै क्रिएटिभ टिम हुन्छ । त्यसले प्रचारको माध्यम र तरिका तय गर्छ । “हलिउड र पछिल्लो समय बलिउडमा पनि चलचित्रको पब्लिसिटीका लागि छुट्टै क्रिएटिभ टिम नै हायर गर्ने चलन छ,” निर्देशक नरेशकुमार केसी भन्छन्, “त्यस्तो क्रिएटिभ टिमले फिल्मको विषयअनुसारको पब्लिसिटी कन्टेन्ट डिजाइन गर्छन् र टुल्सको प्रयोग गर्छन् ।” 

हलिउडमा चलचित्र रिलिज हुनुअगाडि ट्रेन, ट्रेनस्टेसन र सिटी बसमा ठूलठूला होर्डिङ बोर्ड लाग्छन् । नरेश भन्छन्, “जसरी हाम्रोमा मेन सिटीका बीचमा कोकाकोला, स्प्राइट होस् अथवा कुनै मल्टिनेसनल वा स्वदेशी राम्रो ब्रान्डका प्रोडक्टको होर्डिङबोर्ड हुन्छ, हलिउडमा चलचित्रको त्यस्तै बोर्ड लाग्छ ।” नेपालमा यस्ता होर्डिङ बोर्ड चलचित्र घरको प्राङ्गण अथवा छतमा एक साताअगाडि लाग्नुबाहेक कतै देखिँदैन ।  
 
निर्देशक तथा निर्माता दीपकराज गिरीले यो वर्ष चलचित्र ‘छ माया छपक्कै’को विज्ञापन टेलिभिजनमा गरेनन् । उनको समूहलाई लाग्यो– अहिले टेलिभिज विज्ञापन प्रभावकारी छैन । उनले मुख्य सहरमा कन्सर्ट गरे । कन्सर्ट प्रभावकारी पनि भयो । तर सबै चलचित्रको प्रचारका लागि कन्सर्ट प्रभावकारी नहुने उनको भनाइ छ ।

चलचित्रको जान्र, विषय र लक्षित समूहअनुसार प्रचार शैली पनि फरकफरक हुन सक्छ । तर यहाँ एउटाले जे गर्याे अर्कोले पनि त्यही गर्ने प्रवृत्ति रहेको उनी बताउँछन् । 

“हरेक सिनेमाको प्रोमोसन एउटै डिजाइनमा हुँदैन । चलचित्र अनुसार त्यसको कन्टेन्टले फरकफरक प्रोमोसनल डिजाइन माग गर्छ,” दीपक भन्छन्, “तर यहाँ दीपकले यस्तो गर्यो म पनि त्यही गर्छु भनेर त्यस्तै गर्ने चलन छ, यो गलत हो ।” 

चलचित्रमा स्टार कास्ट छ वा छैन, त्यसले पनि प्रचारको डिजाइन निर्धारण गर्ने उनको भनाइ छ । स्टार कास्ट भए कम पब्लिसिटी गरे पनि हुने, तर नयाँ कलाकार भए प्रोमोसनमा बढी बजेट खर्चिनुपर्ने उनी बताउँछन् । 

दीपकका अनुसार नेपालमा प्रतिचलचित्र औसतमा प्रचारप्रसार खर्च २५ देखि ३० लाख रुपैयाँ छ । उनले ‘छ माया छपक्कै’मा २२ लाख प्रोमोसनमा खर्चिएको जानकारी दिए । टेलिभिजनमा विज्ञापन नदिँदा १० लाख रुपैयाँ जोगिएको उनले बताए । 

नेपालमा १०/१२ वटा ब्यानरका चलचित्रले मात्रै प्रोमोसनमा रकम खर्चिन्छन् । अधिकांश चलचित्रले युट्युबमा टिजर, ट्रेलर र पोस्टर तथा हल ट्रेलरबाहेक अन्यमा बजेट खर्चिएको पाइँदैन । परिणामः दर्शकले कुन चलचित्र कहिले हलमा लाग्यो र उत्रियो जानकारीसमेत पाउँदैनन् । 
 

प्रतिकृया दिनुहोस
ad