सहृदयता कायम गर्नु जरोकिलो

धिरेन्द्र चन्द सोडारी

 सहृदयता कायम गर्नु जरोकिलो

जरो अर्थात् मूल, स्रोत, दृष्टिकोण, मौलिकता, स्थानीयता, सान्दर्भिकता, अपनत्व, स्वामित्वको सवाल । कुनै पनि दर्शन, सिद्धान्त, वाद, मताग्रह, प्रतिमान, प्रणाली, रणनीति, कार्य योजना आदिलाई जरोको कसीमा जाँच्नका लागि उक्त कुराको मूल, स्रोत उद्गमबिन्दु कहाँ हो भन्ने परीक्षण गर्नु पर्ने हुन्छ । कुनै दर्शन, सिद्धान्त, वाद, मताग्रह, प्रतिमान, प्रणाली, रणनीति, कार्य योजना आदिको जरो नेपाल देशमा एवं नेपाली समाजमा रहेनछ भने उक्त कुरामा नेपालको मौलिकता, स्थानीयता, सान्दर्भिकता रहँदैन । त्यसमा हाम्रो अपनत्व एवं स्वामित्व समेत हुँदैन । किलो भनेको केन्द्र, प्रभुत्व, स्वाधीनता, स्वतन्त्रता, सार्वभौमसत्ताको सवाल आदि हो ।

करिब दुई दशकसम्म सैद्धान्तिक, वैचारिक, नीतिगत चिन्तनपश्चात् वि.स. २०७२ को वसन्तपञ्चमी (श्रीपञ्चमी) को दिनमा डा. निर्मलमणि अधिकारीको संकल्प एवं आह्वानबाट जरोकिलो महाअभियान स्थापित भएको हो । सैद्धान्तिक एवं व्यावहारिक सबै आधारमा जरो र किलो दुवै नेपाल देशभित्रै एवं नेपालीजनमै भएको हुनाले नै यो महाअभियान हो । जरो नेपाल देश एवं नेपालीजनमै भएको हुनाले यो नेपाल देश एवं नेपाली समाजका निमित्त स्वाभाविक रुपमा मौलिक हो । 

जरो किलो ‘वैज्ञानिक सत्ययुग’को लक्ष्य सहित स्थापना भएको एक महाअभियान हो । “विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्ध” लाई आधारशिला चतुष्टयका रुपमा अवलम्बन गरिएको छ । नेपालमा मौलिक रैथाने धर्म, संस्कृति, दर्शनशास्त्र, परम्परा, कला, रीतिरिवाज, विद्या, शिल्प, सीप, योग, आयुर्वेद, कृषि आदि क्षेत्रमा अनुसन्धान, उद्यमशीलता, विकासका लागि कार्य गर्न र धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, आर्थिक आदी क्षेत्रमा अन्वेषण, अनुसन्धान, विकास र प्रवद्र्धनजस्ता क्रियाकलापहरुमार्फत नेपालको प्रगति, समुन्नित, समृद्धिमा विशेष योगदान पुर्‍याउने अठोटसहित संस्थापित संस्था जरो किलो महाअभियान हो ।

कपुतन्त्रका कारणले परेको संकटै संकटको संक्रमणबाट नेपाललाई मुक्त गराउने, मानव विकास, आधारभूत र संरचनागत विकास, विज्ञान प्रविधि आदीका माध्यमबाट विश्वका विकसित देशहरुको समूहमा पुर्‍याउने, र अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एंव केन्द्र बनाउने हो । नेपालको नेतृत्व सम्हाल्न यो देशका लागि सुयोग्य नेतृत्व विकास गराई देशको सर्वाङ्गीण उन्नती प्रगतिका लागि सर्वश्रेष्ठ नेतृत्व सुनिश्चित गर्न, आर्थिक समृद्धि एवं स्वाधीनताको लागि उद्यमशीलतालाई व्यावहारिक रुपमा लागू गर्न एवं अनुसन्धानलाई प्राथमिक रुपमा अवलम्बन गरी उद्यमशीलता मार्फत् व्यक्ति, समाज र देशको विकास गर्नको लागि स्थापना भएको हो । 

मौलिक रैथाने धर्म, संस्कृति, रितिथिति, भाषा, कला, साहित्य, शिल्प, उद्यम आदिका क्षेत्रमा पुनर्जागरण, पहिचान एवं अस्मिताको खोजी, अनुसन्धान, विकास, मूलप्रवाहीकरण जस्ता कार्यलाई जरोकिलोले समर्थन गर्छ र सकेसम्म सहयोग पनि गर्छ र तर, पहिचानलाई निहुँ बनाएर कसैले घृणावादी राजनीति गर्छ भने जो कोही पनि घृणावादीका विरुद्धमा उभिन्छ जरोकिलो र तिनिहरुका घृणावादी सोच र कार्यलाई निकारण पनि गर्छ । नागरिक–राजनीतिक अधिकारका परिप्रेक्ष्यमा व्यक्ति नै सर्वोच्च हो र व्यक्तिका गुण÷दोषका आधारमा कसी लगाएर ठिक/बेठिक, असल खराब के हो भन्ने भन्ने निर्णय हुन वाञ्छनीय छ । तर, पहिचानको राजनीति गर्ने भन्नेहरुले त व्यक्तिका गुण/दोषका आधारमा होइन कि जन्मकै आधारमा कुन जाति, प्रजाति,वर्ण, समुदाय हो भन्ने कुरालाई निहुँ बनाएर, घुणाका नजरबाट हेरेर कित्ताकाट हेरेर कित्ताकाट गर्छन् । त्यस्तो सोच र कार्यलाई जरोकिलोले अस्वीकार गर्नेछ । जरोकिलो महाअभियानले सामाजिक परिवर्तनको लागि र राजनीतिक परिवर्तनकोको काम गरिरहेको छ ।

पहिचान/अस्मिताको राजनीतिका नाममा घृणालाई मलजल नगरौँ । सम्बन्धको आधार प्रेमलाई बनाऔँ । घृणालाई सम्बन्धको आधार नबनाऔँ । वर्तमान नेपालमा तीव्र गतिमा कित्ताकाट, धु्रवीकरण, सङ्गठन÷विघटन भइरहेको परिस्थितिमा हाम्रो अगाडिको जल्दोबल्दो सवाल स्पष्ट छ : घृणालाई सम्बन्धको आधार बनाउने हो वा प्रेमलाई ? असहिष्णुता, विद्वेष, झगडा, विखण्डन, हिंसाको निमित्त निहुँ खोज्ने हो भने त्यस्तो निहुँ जहिले पनि भेटिनेछ र सहिष्णुता, सामञ्जस्य, मैत्री, शान्ति, एकता, सहृदयताको निमित्त आधार खोज्ने हो भने पनि पाइला–पाइलामा पाइनेछ । निर्णय त हामीले गर्नुछः के हो हाम्रो अभीष्ट ? नेपाली राष्ट्रियताको जगलाई सुदृढ गराउने हो वा यसलाई नामेट गराउने ? सहृदयी एकताको उज्यालो भविष्यतिर डोर्‍याउनेछ र विद्घेषपूर्ण विखण्डनले विनाशलाई निम्त्याउनेछ । कि भन्नु पर्‍यो –नेपाल भन्ने राष्ट्र खडा गर्नु नै गलत थियो, नत्र नेपाल राष्ट्रलाई जीवित यथार्थ मान्ने हो भने नेपाली राष्ट्रियतालाई जसरी पनि बलियो नबनाइृ सुखै छैन । नेपाली राष्ट्रियतालाई बलियो बनाउने हो भने यसका आधारहरुलाई मजबुत बनाउनै पर्छ । नेपाली राष्ट्रियताका बृहत्तर आधारहरु पहिचान गरौं नेपाली राष्ट्रियताको बृहत्तर एवं अद्यावधिक परिभाषा, व्याख्या, विश्लेषण, अर्थापन गरौ, साझा राष्ट्रिय चेतनालाई अवलम्बन गरी नेपाललाई राज्यराष्ट्रका रुपमा अग्रणी बनाऔँ ।

समाजमा, देशमा, संसारमा परिवर्तन ल्याउने हो भने सर्वप्रथम त सिद्धान्त, वाद, मताग्रह, प्रतिमान, विश्वदृष्टिकोण को सङ्कथन, अभिनिर्माण एवं मूलप्रवाहीकरण ध्यान दिनु पर्छ । सिद्धान्त, वाद, मताग्रह, प्रतिमान, विश्वदृष्टिकोण बारे थाहा हुनु प्रत्येक सचेत मानवका लागि आवश्यक छ । सैद्धान्तिक चिन्तन मानव जीवनको अपरिहार्य पक्ष हो । प्रत्येक व्यक्तिसँग एक सिद्धान्त हुन्छ, थाहा पाएर वा नपाएर । सिद्धान्त एक प्रकारले श्वास–प्रश्वासजस्तै अपरिहार्य मानव क्रियाकलाप हो ।

नेपालको मौलिकतालाई संरक्षण गर्दै प्रगतिगामी स्थितिगत्यात्मक प्रगतिवादमा आधारित सिद्धान्त र अवधारणाले मात्र वर्तमानको समस्या समाधान गर्न सक्छ । मौलिक अवधारणामा रुढीमात्र देख्ने कथित आधुनिक र विगतमा भासिन खोज्ने कुपमण्डुकबाट बचाएर मौलिकतामा आधारित आधुनिकरणको लागि स्थितिगत्यामक प्रगतिवाद अपरिहार्य छ । विविधताले भरिएको नेपालजस्तो देशमा घृणामा आधारित राष्ट्रराज्य, द्वि–राज्ट्रराज्य र बहृराष्ट्रियराज्यको मान्यतालाई विस्थापित गरी सहृदयताको अवधारणा बोकेको राज्यराष्ट्र सिद्धान्तलाई मूलप्रवाहीकरण गर्नु आवश्यक छ । यसका लागि सम्पूर्ण युवा विगतको प्रतिक्रियात्मक सोचबाट उठेर स्वाक्रियात्मक हुन आवश्यक छ । 

( केन्द्रीय अध्यक्ष, प्रगतिवादी युवा समाज नेपाल) 

प्रतिकृया दिनुहोस
ad