site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अन्तःशुल्क छपाउने काम रोक्न संसदीय समितिको निर्देशन

फाइल तस्बिर


काठमाडौं । संसदीय समितिले अन्तःशुल्क स्टिकर छपाइसम्बन्धी काम तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाली कम्पनीले छपाइ गर्न प्रतिस्पर्धा नै गर्न नसक्ने गरी सरकारले सो स्टिकर छपाई सम्बन्धी टेन्डर आह्वान गरेको निष्कर्ष निकाल्दै तत्काल सो काम अघि नबढाउन सरकारलाई निर्देशन दिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सो सम्बन्धमा भएका सबै निर्णयहरुबारे सरकारसँग जानकारी लिने निर्णय पनि गरेको छ । 

नेपाली कम्पनीहरुले प्रतिस्पर्धा नै गर्न नपाउने गरी अन्तःशुल्क स्टिकर छपाईसम्बन्धि बोलपत्र आह्वान सरकारले गरेकाले तत्कालका लागि सो प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

समितिले एक वर्षअघि नै अन्त शुल्क स्टिकर छपाई गर्दा नेपाली कम्पनीहरुले पनि भाग लिने गरी सर्तहरु राख्न सरकारलाई सचेत गराएको थियो । तर, सो निर्देशन पालना नभएपछि समितिले पुनः त्यो प्रक्रिया अघि नबढाउन सरकारलाई सचेत गराएको हो । 

समितिले सो सम्बन्धमा आवश्यक जानकारी लिन सोमबार सम्बन्धित निकायका पदाधिकारीहरुलाई उपस्थित हुन पनि पत्राचार गरेको छ । अर्थ मन्त्रालय अन्तरगतका सम्बन्धित पदाधिकारीहरुलाई सो सम्बन्धमा जानकारी लिन समितिको आगामी सोमबारको बैठकमा उपस्थित हुन पनि पत्राचार गरिएको सचिव पाण्डेले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले समितिले दिएको निर्देशन समेत पालना नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य राजेन्द्रकुमार केसीले संसदीय समितिले दिएको निर्देशनको समेत बेवास्ता गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।

बैठकमा समितिका सदस्यहरुले सरकारले सिमेन्टको गुणस्तर कमजोर बनाउन गतिविधि गरेको समाचार बाहिर आएको उल्लेख गर्दै त्यस सम्बन्धमा पनि सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १५:१६
प्रतिक्रिया दिनुहोस्