site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
घडी फूल नफुलेको दिन
Sarbottam CementSarbottam Cement

बिना थिङ


सेता भित्ता । सेतै झ्यालका खापाहरु । पारदर्शी शिशा । झ्यालबाहिर कौसीको पेटीमा ज्यानमारा खुर्सानीका बोटहरु । अलिक पल्लोतिर अर्को होचो कौसी । कौसीमा उक्लिएको भर्‍याङ । मुस्किलले दुईजना ओहोरदोहोर गर्न सकिने । भ¥याङको एक छेउमा लस्करै राखिएका ससाना गमला । गमलामा समय फुल्ने बिरुवाहरु । त्यो बिहानको नौ बजे फुल्थ्यो । साँझ मुर्झाउँथ्यो । 

दिदी त्यही झ्यालमा बायाँ हातको टेको लगाउँथी । दायाँ हात गालामा जोत्थी । अनि पारदर्शी शिशाबाट आप्mना आँखाहरु छेड्थी । तल बसपार्कतिर ।  घण्टौंसम्म । स्थिर । आँखा स्थिर । ओँठ स्थिर । खिरिला खुट्टाहरु स्थिर । यस्तो लाग्थ्यो, उसका वरिपरिका सबैसबै परिस्थिति स्थिर छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सिल्की कैलो कपाल । काँधसम्म लत्रिएको । सुइरे माछाका जस्ता एकजोर आँखा । शान्त । अपेक्षाहीन । सिकुटे पाखुरा । एक थप्पड जोडले कसैलाई लगाई भने प्याट्ट भाँचिएला जस्ता । उसको करङ भित्र पसेको थियो । स्तनको फाँचो त्यही करङभित्र कतै च्यापिएको थियो । पाँच–चारको उचाई । ट्युबलाइटजस्तै सेतो छाला । समग्रमा दिदी स्याकडीमा उनिएको सुकुटीजस्तो देखिन्थी । लामो, तर सुकेको । 

०००

Global Ime bank

दिदीको स्कुलको नाम बन्दना थिङ । घरको पुतली । खासमा उनी मेरी फुपु थिइन् । मेरी मितिनीले आप्mनी फुपुलाई दिदी भनेको सुनेकी थिएँ । त्यसैको सिको गरेँ । अनि भनिदिएँ, पुतली दिदी । उमेरले बा भन्दा पन्ध्र वर्ष कान्छी । म भन्दा पाँच वर्ष जेठी । उमेरको यो हिसाबकिताब तल–माथि हुनुको पनि कारण थियो । 

बा पहाड नुवाकोटबाट झर्नुभएको थियो, हेटाैंडा । त्यहाँबाट चाडबाडमा पहाड धाउन समस्या थियो । पैसाको । समयको । विशेषगरी तिहारमा । त्यसमाथि बाको जन्मको चेली थिएन । विकल्पमा बाले मैयाँ फुपुलाई चेली मान्नुभएको थियो । मैयाँ फुपुकी कान्छी बहिनी थिइन् पुतली । मैयाँ फुपुको बिहे हुँदा पुतली दिदी चार वर्षकी थिइन् । बहुदलीय व्यवस्था लागू गरिएको वर्षमा पुतली दिदीले कक्षा आठको जिल्ला स्तरीय परीक्षा दिएकी थिइन् । तर परीक्षाको नतिजा नआउँदै विवाह गरिन् । भागेर । विरगञ्जतिरको नेवार केटासँग । यो त्यही केटा थियो, जसको बारेमा वीरेन्द्रले मलाई कहिलेकाहीँ बताउने गरेको थियो । त्यतिखेर म आदर्श बोर्डिङमा कक्षा चारमा पढिरहेकी थिएँ । नौ वर्षकी थिएँ ।

०००

वीरेन्द्र मैयाँ फुपुको कान्छो छोरा । आठ वर्षको । फतरफतर बोलिराख्नुपर्ने । उसको मनमा गाँठो छँदै थिएन । तरबुजा जस्तो लाम्चो अनुहार । हाँस्दा अगाडिका दुईवटा दाँत उछिट्टिइहाल्ला जस्तो देखिन्थ्यिो । सर्पको जस्तो जीउ । सुलुत्तको । शाहरुख खानको गतिलो फ्यान । बाजिगर फिल्मको टिकट उसले तीन पटक काटेको थियो । थर्ड क्लासको । 

ये काली काली आँखे 
ये गोरे गोरे गाल
ये तिखी तिखी नजरेँ
ये हिरनी जैसी चाल
देखा जो तुझे जानम
हुआ हे बुरा हाल 

वीरेन्द्र बाजिगरको गीतमा जिब्रो फट्काथ्र्यो । शरीरलाई बटाथ्र्यो । मसँगको थप भेटमा उसले आपूm डान्सर बन्ने कुरा जिकिर गरेको थियो । उसको र मेरो केमिस्ट्री मिल्थ्यो । ठीक त्यसैगरी जसरी पुतली दिदीसँग मिल्थ्यो । 


पुतली दिदी भाग्नुअघिको एक साँझ । 


कौसीमा म, वीरेन्द्र र पुतली दिदी थियौं । हामी हेटाैंडा बसपार्कतिर ढाड फर्काएर उभिएका थियौं । तातो हावा क्रमशः चिसिँदै गएको थियो । घाम पश्चिम आकाशको एउटा लामो रेखामा अडिएको थियो । जहाँबाट एउटा रातो धर्सो खसेको थियो, पुतली दिदीको अनुहारमा । पुतली दिदीले त्यस दिन आप्mनो कपाल कर्ली बनाएकी थिइन् । स्पन्जवाला क्लिप कसेर । कालो रङको लङ मिडी र बटरफ्लाइवाला टिसर्ट लगाएकी थिइन् । आँखाको कुनासम्म पुग्नेगरी गाजल लगाएकी थिइन् । 
“लास्टमा भिलेनलाई पुलिसले लैजान्छ । अनि हिरो र हिरोइनको मिलन हुन्छ । त्यो सिनमा कस्तो रुन मन लाग्छ ।”

पुतली दिदीले भर्खरै ॐ चलचित्र मन्दिरमा कुनै चलचित्र हेरेकी थिइन् । त्यही चलचित्रको कहानी बताउँदै थिइन् । त्यो प्रेम कहानी भएको चलचित्र थियो । कहानी भन्दा उनी कहिले निकै भावुक हुन्थिन्, कहिले खितखिताएर हाँस्थिन् । हाँस्दा उनको अनुहार टन्न अघाएको मानिसको जस्तो देखिन्थ्यो ।

“एउटा केटो छ । काले काले । सधैं छ्यामा (सानीमा)को स्कुल जाने बाटो ढुक्छ । नयाँ वर्षमा छ्यामालाई ग्रिटिङ कार्ड दिएको थियो । छ्यामाले एस्सेको बुकभित्र लुकाएर राख्नुभएको छ ।”
प्रेम प्रसङ्ग उठेकोले वीरेन्द्रले पोल खोल्यो । पुतली दिदी र त्यो केटाको । 

“साले तँ भुरा भएर मेरो जासुसी गर्छस् ?” पुतली दिदीले वीरेन्द्रलाई कुट्न खोजिन् । वीरेन्द्रले जिब्रोको बक्ररेखा बनायो । अनि टाप कस्यो । 

०००

“थुक्क । नक्कली । पोइला नै जानुथ्यो त एसएलसी सकेर जाँदा हुन्थ्यो । त्यो पनि नेवारसँग ! हामीले पढ्न नपाएर दुःख पायौं । तेरो आँखा फुट्यो ।”

मैयाँ फुपुले ढोगभेट फुकाउने दिन सराप्नुभयो । त्यसपछि बेस्सरी अँगालो मारेर रुनुभयो, पुतली दिदीलाई । त्यस दिन पुतली दिदीको आँखामा भयको एउटा सर्को दौडिएको थियो । म बाको पुछार बनेर त्यस भोजमा सामेल थिएँ । 

रातो जर्जेट साडी । सितारा भरिएको रातो पारदर्शी घुम्टी । दुवै आँखीभौं माथि लस्करै ससाना बिन्दिया । ओँठमा रातो लिपिस्टिक । गालामा गुलाबी लाली । सेता र लाम्चा औंलामा बिच्छु औंठी । खुट्टामा चाँदीका पाउजु । घाँटीमा रातो पोतेमा उनिएको तिलहरी । त्यस दिन पुतली दिदी साँच्चिकै पुतली देखिएकी थिइन् । बसपार्कको पूर्वी ढिस्कोमा अडिएको त्यस घरमा बजारका आइमाईहरु जम्मा भएका थिए । १४ वर्षकी दुलही हेर्न । 

त्यसपछि पुतली दिदी र मेरो भेट भएन । लामो समयसम्म । 

०००

बिहे भएको वर्षको तिहार । उज्यालो छरिने समय । हेटौंडाबाट वीरगञ्ज त्यति टाढा पनि होइन । खोइ के समस्या प¥यो, त्यो वर्ष पुतली दिदी आइनन् । हामीले पुतली दिदीलाई खुबै सम्झियौं । 

“त्यसको सासु जण्डी छ रे । पुतलीलाई माइत पठाउँदै पठाउँदिन । धनीमानीको कुरो । पुतली डराउँछे सासु ससुरासँग ।”

यसो भन्दै मैयाँ फुपुले तिहारको सगुन राखिदिनुभयो, बाको अगाडि । दुईवटा बियरको बोतल । प्लेटमा तारेको माछा । पकाएको गेडागुडी । पान । उसिनेको अण्डा । 

“त्यसले सानै उमेरमा आपूmखुसी बिहे गरी । बिजातसँग । दुःख पाउने भई ।”

बाले सुस्केरा निल्नुभयो, बियरको चुस्कीसँगै । बियर त पुतली दिदी पनि पिउँथिन्, असाध्यै । चुरोट पनि । यो कुरा बालाई, मैयाँ फुपुलाई, मलाई, सबैलाई थाहा थियो । बजारको बसाई, हुर्काई । साथीसङ्गीको प्रभाव । घरको प्रभाव । घरमा मैयाँ फुपु पनि पिउनुहुन्थ्यो । ज्ञाने काका पनि । माम । मेमे । सबैसबै पिउँथे । त्यसैले हुनुपर्छ पुतली फुपु पनि सानैमा रक्स्याहा भएकी थिइन् । बिहे गरेपछि पिउँथिन् कि पिउँदिनथिइन् ? मैले थाहा पाइनँ । 

अर्को वर्ष दसैंमा पुतली दिदी आइन् । आउँदा एक्लै आइनन् । पेटमा सानो साथी पनि ल्याइन् । तर सानो साथीको बाबु आएन । पुतली दिदी साइजमा बढेर आएकी थिइन् । वजनमा घटेर । अनुहारको रङ्ग सूर्यमुखी पूmलको जस्तो देखिन्थ्यो । छ्यासमिस । पहेँलो । बीचबीचमा कालो । आँखाहरु उदासीले भरिएका । लामो यात्रापछि यात्रीले महसुस गरेको थकान । थकानपछिको आलस्यजस्तै । 

 पूर्णिमाको दिन मैयाँ फुपुले ल्यान्डलाइनबाट फोन गर्नुभयो, वीरगञ्जको ज्वाइँलाई । फोनमा मैयाँ फुपुले थोरै अनुरोध, बढ्ता घुर्की लाउनुभयो । त्यसपछि पुतली फुपुले तिहारसम्मको छुट्टी पाइन्, घरबाट । ज्वाइँबाट । प्रतिकूलताबाट । उनी तिहार सकेर मात्र फर्किइन् । 

दुई महिनापछि । माघको एउटा ठिहि¥याउने साँझ । 

“वन्दना आमा बनिन् । घरमै सुत्केरी भइन् । छोरी जन्माइन् । सबैथोक सामान्य छ ।”
ल्यान्डलाइनबाट आएको यो खबर सुन्ने पहिलो व्यक्ति मैयाँ फुपु हुनुहुन्थ्यो । त्यसपछि माम । मेमे । बा । आमा । म । अनि वीरेन्द्र । हाम्रो खुसीको पारो ह्वात्तै बढेर गयो । गर्मीको थर्मोमिटरमा जस्तै । सबैले न्यानो महसुस गरे । त्यसको अर्को दुई वर्ष पुतली दिदी माइत आइनन् । 

०००

२०५० साल, साउनको महिना । झरी । झरी । मात्र झरी । त्यसैबखत आप्mना सारा चञ्चलता वीरगञ्जमै बन्धक राखेर आइन्, पुतली दिदी । आँखाबाट अविरल झरी बर्सिरह्यो ।  

“छोरी खोइ ? ज्वाइँ आउनुभएन ? कति दिन बस्छेस् ?”

मैयाँ फुपुको आँखामा आतङ्क देखियो । भय देखियो । देखियो कुनै ‘अनहोनी’को आशङ्का । 
“मेले कति दुःख साध्न बाँकी छ ?”
पुतली दिदी आँखाले बोलिन् । ओँठले बोलिनन् । 
त्यसपछि पुतली दिदी घर फर्किनन् । बिस्तारै उनी हर्रोको सुकेको हाँगाजस्तो देखिन थालिन् । खङ्ग्रङ । उनी दिनप्रतिदिन हलुका हुँदै गइन् । साँझ ज्वरो आउने क्रमले निरन्तरता पायो । लामो खोकी । खानामा अरुचि । पिउनमा अरुचि । श्रव्यमा अरुचि । दृश्यमा अरुचि । उनलाई देख्दा यस्तो लाग्थ्यो, बाँच्नमै अरुचि छ । उनी घण्टौं सिलिङ हेरेर बिताउँन सक्थिन् ।

मैयाँ फुपुले जोड गर्नुभयो, हेटौडा अस्पताल लान । पुतली दिदीलाई । दिदीले मानिनन् । यस्तो पटकपटक भयो । 

“तँ अस्पताल जान मान्दैनस् । दाउरा भइसकिस् । के हामीलाई रुवाएरै जान्छेस् ?” हप्ता दिनपछि, आजित भएर मैयाँ दिदीले हप्काउनु भयो, पुतली दिदीलाई ।

“मलाई टीबी भएको छ । पछिल्लो तीन महिनादेखि । घरमा सबैले घृणा गर्न थाले । छोरीलाई मेरो नजिक पर्नै दिँदैनन् । म छिटै मर्छु होला ।”

त्यस दिन पुतली दिदी ओँठले थोरै बोलिन् । आँखाले धेरै बोलिन् ।

मैयाँ फुपुको आँखाको आतङ्क पग्लियो । मैन बनेर । तातो । रापिलो । यसले वरिपरिका सबैलाई पोल्न सुरु ग¥यो । तर छिट्टै यो चिसियो । औषधि उपचारको लागि दौडधुप भयो ।

पुतली दिदीको लागि छुट्टै व्यवस्था गरियो । टावेल, भाँडाकुँडा । कोठा । तेस्रो तलामा । ढलान छाना । सेता भित्ता । सेतो भ्mयाल । त्यहाँबाट बसपार्कको नाङ्गो छाती छिचोल्दै कुद्ने रात्रिकालीन बसहरु देख्न सकिन्थ्यो । देख्न सकिन्थ्यो, माछा बजारको भागदौड । फुटपाथको कपडा पसल । होटलको चहलपहल । मान्छेको भीड । 

पुतली दिदीको कोठामा केटाकेटीलाई जान दिइँदैनथ्यो । टीबी सर्छ भनेर । म भने पुगिरहन्थेँ । मैयाँ फुपु नभएको मौका छोपेर । उनको एकाकीपन तोड्न । त्यसैले मप्रति उनको स्नेह अलि गहिरो थियो ।

“ला यो पेन तँलाई । मेरो त पढाइ छुटिहाल्यो । यो वर्ष तैंले जिल्लास्तरीय परीक्षा दिदैंछस् । पढ्नचाहिँ नछोड् ल ।”

एक दिन पुतली दिदीले मलाई पेन दिँदै भनिन् । त्यो पेन उनले दराजबाट झिकेकी थिइन् । त्यस दिन मेरो खुट्टा भुइँमा थिएन । किनकि, त्यो पेनको माथिल्लो साइडमा डिजिटल घडी जडान गरिएको थियो । महङ्गो खालको । त्यस्तो पेनको कल्पना गरिएकै थिएन, हाम्रो पुस्ताबाट । अपेक्षाको कुरा झन् परको थियो । खासमा दिदीलाई त्यो पेन गिफ्ट आएको रहेछ । स्कुले दिनमा । प्रेम प्रस्तावमा । त्यो नेवार केटोबाट । यो कुरा मैले निकै पछि मात्र थाहा पाएँ । 

“यो पेनले समय देखाउँछ । ऊ त्यो गमलाको पूmलले जस्तै । तर एउटा कुरा फरक छ । यी दुईबीच । यो पेनको घडीको लागि ब्याट्री ठीक हुनुपर्छ । गमलाको घडीको लागि घाम ठीक हुनुपर्छ । नत्र यी दुवै मुर्झाउँछन् ।”

यसो भन्दा पुतली दिदीको अनुहारमा गहिरो खिन्नता देखिएको थियो ।

०००

“काजललाई आज ल्याइदिन्छन् भनेका थिए । होइन ?” 

अचानक केही सम्झिएजस्तै, पुतली दिदी फर्किइन्– मैयाँ फुपुतिर । पछिल्लो एक घण्टादेखि बसपार्कतिर एकोहोरिएकी थिइन् । उनको टाउकोको ठीक माथिबाट घाम पस्यो । पारदर्शी शिशा चिरेर । त्यो बराबर छरियो । उदासीले भरिएको भित्तामा । 

काजल पुतली दिदीकी छोरी । तीन वर्षकी । आमा–छोरीको भेट नभएको छ महिना भएको थियो । बीचमा दुई–तीन पटक छोरी हेर्न चाहेकी थिइन्, दिदीले । तर अस्वीकार गरिरहे घरकाहरुले । रोग सर्छ भनेर । यसबीचमा पुतली दिदीको आँखा गडेर गएको थियो । निधारमा गाँठो परेको थियो । गालाका हाड अस्वाभाविक तवरले उचालिएको थियो । खोकीको मात्रा बढेको थियो । खकारमा रगत देखिएको थियो । नियमित आउने ज्वरोले छाला पहेँलिएको थियो । शरीर मान्द्रो पल्टिएको थियो ।

“टीबीको औषधिले काम गरेको छैन । पुतली बाँच्दिन होली । एकपटक छोरीको अनुहार देखाउनुप¥यो ।”

मैयाँ फुपुले फोनबाट चिन्ता व्यक्त गर्नुभयो, वीरगञ्जमा ज्वाइँलाई । ज्वाइँकी आमालाई । बालाई । त्यसपछि छोरी लिएर बाबु आउन तयार भएका थिए । भोलिपल्ट । उज्यालोमै । तर त्यस दिन अँध्यारो हुँदासम्मै ती आइपुगेनन् । पर्सिपल्टको उज्यालो पुतली दिदीले देख्न पाइनन् ! 

पुतली दिदी असमायिक मुर्झाएको बिहान घाम लागेन । हुस्सु तलतल बसेको थियो । गह्रौं भएर । मेरो हृदयजस्तै । त्यो संयोग नै थियो । त्यस दिन गमलामा घडी फूल फुलेन । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement