site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगातार दोस्रो महिना पनि घट्यो आयात, निर्यात वृद्धिदर सुधारिँदा व्यापार घाटामा पनि कमी

काठमाडौं । अघिल्लो वर्षको तुलनामा पहिलो महिनामा घटेको आयात दोस्रो महिना पनि सोही लयमा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि विदेशी वस्तु तथा सेवाको आयात घटेको हो ।
आयात घट्दा दुई महिनामा निर्यात वृद्धिदर सन्तोषजनक देखिएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा चालु आव वस्तु तथा सेवा आयात १.२२ प्रतिशतले घटेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भदौसम्म नेपालले २ खर्ब २९ अर्ब  ५० करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । गत आवको यही अवधिमा नेपालले कुल २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

चालु आवमा नेपालले निर्यातमा पनि उल्लेख्य सुधार देखिएको छ । गत वर्षको पहिलो दुई महिनाको तुलनामा भदौसम्म निर्यात दर २५ प्रतिशतले बढेको छ । गत वर्ष नेपालले सुरुका २ महिनामा १४ अर्ब ६९ करोड रुपैयाँको वस्तु निर्यात गरेकोमा यो वर्षको २ महिनामा १८ अर्ब ५० करोड रुपैयाँका वस्तु निर्यात गरेको हो ।

यो वृद्धिदर २५ दशमलव ८७ प्रतिशत हो ।

२ महिनामा नेपालको व्यापार घाटा ३ दशमलव शून्य ५ प्रतिशतले घटेको छ । गत आवको पहिलो दुई महिनामा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ रहेको व्यापार घाटा यसवर्ष २ खर्ब ११ अर्ब रुपैयाँमा झरेको हो ।

चालु आर्थिक वर्ष सरकारले खसीबोका आयातमा रोक लगाउनु, तरकारीजन्य वस्तुको विषादी परीक्षण गर्नु, उद्योगलाई चाहिने कच्चापदार्थ कम आयात हुनु र सरकारले निर्यातजन्य वस्तुलाई थप प्रोत्साहन दिएका कारण व्यापार घाटा कम भएको बताइएको छ  । यद्यपि गत आर्थिक वर्षको पहिलो महिना भएको हवाइजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, एमएस बिलेट, सवारी साधन तथा त्यसको पार्टपुर्जाको आयात उच्च रहेका कारण बढी रहेको थियो ।

गत आवको पहिलो दुई महिनाको व्यापार घाटा उच्च रहेका कारण त्यसलाई आधार मान्दा यो आवको पहिलो दुई महिनामा कम व्यापार घाटा देखिएको हो । 
 

प्रकाशित मिति: सोमबार, असोज २०, २०७६  १३:४७
प्रतिक्रिया दिनुहोस्