दसैँको शक्ति एवं सन्देश

कुलचन्द्र वाग्ले

सांस्कृतिक रुप धारण गरेको चाडपर्वले क्रमशः धार्मिक भाव पनि ग्रहण गरे । यसो भन्दा स्वाभाविक प्रश्न उठ्छ – धर्म पहिले कि संस्कृति ? वा धर्मको प्रभाव संस्कृतिमा कि संस्कृतिको प्रभाव धर्ममा ? 

संस्कृति जीवन पद्धति हो जुन खानपान, भेषभुषा, रहनसहन, भाषा, भाषिकामा पनि प्रतिविम्बित हुन्छ । अर्थात्, खाद्य संस्कृति, परिधान संस्कृति । नेपालीहरुको चाड दसैँको मुखमा संस्कृति विषयमा सुरु भएको विमर्शका पक्षमा यी पंक्ति पनि समर्पित छन् ।   

 जीवनपद्धति वा संस्कृतिमा धार्मिक प्रभावमात्रै मिसिएको नभइ अन्य तत्त्व पनि समावेश हुन्छन् । भूबनोट, प्रकृति वा मौसम आदिले पनि संस्कृति निर्माण र विस्तारमा  प्रभाव राखेको पाइन्छ । बसाइँसराइ पनि धर्म, संस्कृतिको फैलावटको बाटो थियो भने घटना, दुर्घटनाले पनि धर्म संस्कृतिमा असर गरेको छ । अर्थात्, संस्कृति निर्माणमा खास एउटा कुनै कारणमात्र कारक होइन यसमा अनेक प्रकारको सम्मिश्रण पाइनसक्छन् । विस्तारका माध्यम पनि अनेक भए । आधुनिक प्रविधिको विकास पनि संस्कृतिको आदानप्रदानलाई माध्यम बनेको छ । 
    
भौगोलिक विविधताको हाम्रो देशमा त्यसरी नै खाना र पहिरनको विविधता देखिन्छ । त्यस्तै पर्व एक भए पनि मान्ने, मनाइने प्रचलन अनेक छन् । यी कुरा हाम्रो तराई मधेस, पहाड र हिमाली क्षेत्रको जनजीवनसँग दाँजेर हेर्दा देखिन्छ । विसं २०५० सालतिरको बाढीले नेपाली जनजीवन आक्रान्त थियो । खासगरी तराईका कतिपय ठाउँमा डुबानले जनजीवन नै अस्तव्यस्त बनाएको हो । त्यतिबेला काठमाडौँलगायत कतिपय सहर बजारमा बाढी पीडितका लागि सहयोग सामग्री जम्मा गरिए । 
    
महिलाको लवाइका सामग्रीमा मिडी, हाफमिडी, टीसर्ट, कुर्तासलवार आदि जम्मा भएछन् । बाढीमा सर्वस्व स्वाहा भएका त्यहाँका बासिन्दाले प्राप्त सामग्री प्रयोग गर्नैपर्ने भयो । धोतीको अघिल्लो फेरले तेलले लचप्प टाउको छोपेर हिँड्ने वा घरबाट बाहिरिने तराईका महिलामा यो दुर्घटना (बाढी)ले तुरुन्तै पहिरन संस्कृतिमा परिर्वतनको सूत्रपात गर्यो । खाद्य सामग्रीमा चाउचाउ र ‘जङ्क फुड’ गाउँ तहसम्म पुगे । बाध्यता थियो र पनि यस प्राकृतिक दुर्घटनाले खाद्यसँगै पहिरन परम्परामा आफ्नै प्रभाव राख्यो । जसले क्रमशः सांस्कृतिक समिश्रण गर्यो ।     हामी किन चाडबाड मानिरहेछौँ ? यसको कारण के हो ? नेपालको सन्दर्भमा समाजशास्त्रीहरु भन्छन् – नेपाल कृषि प्रधान देश भएकाले हाम्रा अधिकांश पर्व कृषिकर्मसँग समन्वित छन् । कृषिकर्म अन्त्यको पुर्सद वा कामको सुरुतिर हाम्रा चाडपर्वहरु छन् । पर्वलाई कृषि युगको उपज पनि मानिन्छ । फुर्सदमा छरछिमेक, बन्धुबान्धव र इष्टमित्रसँग मिलाप वा खानपिन एवं सामूहिक रमाइलो गर्ने परम्पराले पर्वको स्वरुप धारण गरेको अनुमान लगाइन्छ र यही परम्परा सांस्कृतिक धरोहर बनेको कारण दिइन्छ । तर, संस्कृति कृषिको चेतनाअघि जीवनचर्याको रुपमा प्रारम्भिक अवसरदेखि नै सांकेतिक रुपमा विकसित भएको हुँदो हो । 
    
मिसिए पनि, एक अर्कामा प्रभाव रहे पनि  धर्म र संस्कृति भिन्न भिन्न पद्धति हुन् । त्यसो त हाम्रा नेपाली सबैजसो पर्वहरुमा देवीदेवताको स्थान, मान र पूजा संस्कृति छ । कतै प्रकृतिको रुपमा,  कतै शक्ति उपासनाको रुपमा । जंगलको विम्ब रुखलाई र प्राणी वा पशु जगतको विम्ब (उड्ने, गुड्ने र सरिःसृप घस्रने सबैलाई) पूजा गर्ने धार्मिक संस्कृतिका धनी हौँ हामी । दृश्य, अदृश्य सबै शक्तिप्रति हाम्रो सम्मानभाव प्रदर्शित छ । पितृ श्राद्ध अर्को सम्झनयोग्य पारम्परिक संस्कृति हो हाम्रो । 

नेपाल, नेपालीको संस्कृति अत्यन्त धनी र सम्पन्न छ । संस्कृतिप्रति समभाव र सहिष्णु रहिदिँदा ती अत्यन्त आकर्षक हुन्छन् । त्यसो त धर्म, संस्कृति वा परम्पराहीन  मानव समाज वा समुदाय विश्वमा भेटिनेछैन । सबैको संस्कृति छ, आआफ्नै प्रकारको । संसार संस्कृतिको पुञ्ज पनि हो । यिनमा विकृति, गरुंगो पन र कट्टरता वा रुढपन बढ्न नदिए संस्कृतिले नैतिक सभ्यतालाई उजिल्याउने नै छ । 

नेपालको मात्रै होइन धार्मिक रुपले प्रभावित परम्परा । अन्य मुलुक वा समुदायको संस्कृति पनि धर्म प्रभावित देखिन्छन् । इसुख्रिष्ट प्रभावित क्रिस्चियन धर्मको प्रभाव इसाई समाजमा गहिरो गरी गाडिएकै छ । क्रिसमस होस् कि नयाँ वर्ष त्यो धर्म प्रभावित पश्चिमा देशहरुमा त्यतिबेला पन्ध्रांै दिनसम्म सडक सुनसान र सबै आआफ्नो प्रकारको रमझममा झुमेकै हुन्छन् । 

इस्लाम धर्म समुदायले महिनौ लगाएर रमजान आदि चाड मनाउँछन् । हज गर्न जान्छन् । धर्म प्रवर्तकका जन्मजयन्तीले पनि पारम्पारिक सांस्कृतिक स्वरुप धारण गरेकै छन् । जस्तै बुद्ध, महावीर, गुरुनानक जयन्ती । यसको अपवादमा सनातन धर्म देखिन्छ । अर्थात्, सनातन धर्मका खास कुनै प्रर्वतक देखिँदैनन् । तर, हिन्दु समुदायको कतिपय पर्वमा धर्मकोे प्रभाव भने छ । जस्तै – दसैँ, तिहार ।

पर्वको विशेषताले धर्म, परम्परा, प्रकृति र संस्कृतिको विम्ब मात्रै बहन गरेको छैन मानव व्यवहारलाई समेत अत्यन्त गहिरोसँग प्रभावित गरेको देखिन्छ । मानव व्यवहारलाई प्रभावित गर्ने तत्त्व नै त अन्ततः संस्कृति हुने हो जसको प्रभाव आर्थिक, सामाजिक र जीवनका मूल्यमान्यता समेतमा छ । आर्थिकरुपले हेर्दा एकातिर फजुल खर्च भन्ने दरिद्र चिन्तन देखिन्छ भने अर्कोतर्फ पर्वमा थपिने चलायमान अर्थको फैलावट जनसामान्यमा पनि पुग्छ भनिन्छ । अर्थमाथिको पहँुच नै सामान्यहरुको आर्थिक सबलीकरणको माध्यम बन्ने विचार पनि अर्थशास्त्रमा छ । ती असत्य नै हुन् भन्न सकिँदैन ।  
  
सामाजिक मूल्यमान्यताका दृष्टिले दसैँको प्रभावको धेरै बेलीविस्तार लगाउनु जरुरी छैन । तर, दृष्टान्तमा, ३० देखि ३५ लाखसम्म नागरिक दसैँको बेला काठमाडौँबाट गाउँघर जान बाहिरिने तथ्यांकले यसको सामाजिक मूल्यमान्यतालाई उद्घाटित गरेकै छ । विदेशमा रहेका लाखौँ नेपाली पनि आफ्नो गाउँघर आउँछन्, श्रद्धेय अग्रजबाट आशीर्वाद लिन । आफन्तसँग भेटघाट हुन । यो सामूहिक भेटघाटको ठूलो अवसरमा स्थापित छ । 

यति ठूलो संख्याको आवतजावतको प्रसंग आइसके पछि र यतिबेला हुने किनमेलको घुइँचो देखिसकेपछि दसैँको आर्थिक प्रभावको व्याख्याले थप उदाहरण माग गर्दैन । अर्बौंको मासुको व्यापार, खर्बौंको अन्य उपभोग्य सामग्री । यसरी हेर्दा समग्र जीवन चर्यालाई प्रभावित गर्ने दसैँको शक्ति जति बहुआयामिक छ, त्यति नै सन्देश प्रदायक पनि ।     

देवी वा मातृ पूजक विजया दशमी पर्व आसुरी शक्तिको पराजय र दैवी वा सत्वगुणको विजयी भाव प्रदायक पर्व हो ।  रामसँग जोडिएर अनैतिकको हार र नैतिकताको जित वा सत्यको जित र असत्यको हारको सन्देश प्रवाहक पनि हो दसैँ ।  संक्षिप्तमा यो पर्वको मूल नैतिक, सत्य र दैवी शक्तिसँग अन्योन्याश्रित रहेछ । यसबेला पाठ गरिने दुर्गासप्तशती जसलाई चण्डी पाठ पनि भनिन्छ  त्यसमा सबै प्राणी आफूजस्तै सचेत र संवेदनशील छन् भनी बुझ्नु भनिएको देखिन्छ । यो पर्वको सन्देश त्यस्तै प्राणी प्रेम पनि रहेछ । सज्जनतासँग प्रेम ।  तर, पर्वहरुमा परम्परागत रुपले थपिएका विकृति,  रुढ र फजुलता छन् भने तिनलाई बदलेर सुसंस्कृत बनाउन योग्यसमाजले नै योगदान गर्नुपर्छ । भन्न सकिन्छ – धर्मको अवधारणा अघि जान अन्जानमा परम्पराबाट संस्कृतिको संकेत आएको हो । पछि धार्मिक भावले स्थान ग्रहण गर्यो र समयक्रममा संस्कृतिका पक्षहरु धर्म सान्निध्य पनि हुन आए । 

पर्व भनियोस् कि कुनै पनि धर्म संस्कृतिको सन्देश सुसंस्कृत नै छन् । अन्याय, अत्याचार, विभेद र अनैतिकता विरुद्ध नै धर्म संस्कृतिका सन्देश हुन् । कुनै पनि विश्व धर्मले अन्यायको पक्षपोषण गरेको छैन । परम्परामा थपिएका रुढ र विकृति छन् भने ती धर्म पनि होइनन् र संस्कृतिका सुसन्देश पनि होइनन् । थपिएका त्यस्ता रुढ मान्यतालाई धर्म, संस्कृतिको मूल सन्देश मानियो भने त्यो अन्यथा हुन्छ । यही सन्दर्भमा दसैँ वा हाम्रा समग्र नेपाली पर्वको मूल्यांकन र मान्यताप्रति ध्यान जानुपर्छ ।

थपिएका रुढ कुरालाई प्राथमिकतामा राखेर पर्व, संस्कृतिमाथि विमर्श गर्न सकिन्छि तर धर्म, कर्म वा संस्कृतिलाई त्यही विकृतिका आधारमा व्याख्या गर्न थालिए समाज मूल यथार्थबाट भड्किनेछ । केही विद्वानहरु एकाध विकृति समाएर सांस्कृतिक पर्वमाथि विश्लेषण गर्न उद्यत देखिन्छन्, होच्याउन लाग्छन् । यो अन्यथा हो, मूल यथार्थको विपरीत हो । यसले सही सन्देश बोल्दैन । 
 

प्रतिकृया दिनुहोस
ad