युवकले मलाई झुक्यायो !

युवकले मलाई झुक्यायो !

डेढ महिनाअघि । बेलुकी सात बजेको हुँदो हो । मान्छे देख्न गाह्रो नहुने तर चिन्न मुस्किल । झिस्मिसे अँध्यारो भनौँ न । 

थापाथली अफिसबाट घर फर्कंदै थिएँ । सातदोबाटो पार गरेर घर जाने दिशातिर स्कुटरको ह्याण्डल सोझ्याएँ । गोदावरी जाने बाटोमै पर्ने कृषि गेट समीप पुगेकी थिएँ, एक जना युवक साइकल दौडाउँदै नजिकैबाट गयो । एकदमै नजिकबाट ।

स्कुटरको हेडलाइटको प्रदीप्त प्रकाश मलाई उछिनेर गएकोे साइकलमा पर्यो । हेडलाइटको उज्यालोमा मेरो नजर साइकलको बिना पैताला घुमिरहेको प्याडलमा गएर टक्क अडियो । अझ उज्यालो भएर ।

म तीनछक परें । 

टाउकोमा सेतो हेल्मेट । पिठ्युँमा सानो झोला बोकेका थिए । झोलामा झुण्डिएको वैशाखीले मलाई नै हेरिरहे जस्तो लाग्यो । 

“बिना खुट्टा युवकले साइकल कसरी चलाइरहेको छ ?” दृष्यले मलाई दिग्भ्रमित बनायो । 

पत्रकारिता नगर्दो हुँ त, दृष्यले दृष्यकै रूपमा चित्त बुझाउँथ्यो । तर, दृष्य कौतूहलको रूपमा पो प्रकट भयो । रहस्यले चिथोरिरहे ।

मनले नमानेपछि मैले स्कुटीको एक्सिलरेटर बटारेँ । स्कुटीको गति २० किमी प्रतिघण्टा हुँदो हो । एक्सिलरेटर बटार्नेबित्तिकै गति दोब्बर भयो । म युवक हाराहारीको गतिमा पुगेँ । युवक नजिक गएर स्कुटी रोकेँ ।

मेरो उमेरभन्दा भाइ रहेछन् । स्फूर्त आँखा । चहकिलो अनुहार ।

“भाइ पख्नूस् न, एकछिन कुरा गर्नुछ ।” 

अघिसम्म म रहस्यले भरिएको थिएँ । अब आश्चर्यमा पर्ने पालो उसको थियो ।

तर उसले नाइँनास्ती गरेन । टक्क रोकियो ।

कस्तो संयोग ? युवक त साँच्चै युवक पो रहेछन् । अर्थात् युवक लामा ।

उसलाई पूर्णरूपेण देख्नेबित्तिकै मनका छालहरूमा उठेका प्रश्न त्यत्तिकै सेलाएर गयो ।

औसतभन्दा कम कुराकानी भयो । फोन नम्बर मागेँ । उसले पनि मेरो नम्बर माग्न छुटाएन ।

आ–आफ्नो बाटो लाग्यौँ ।

जाँदाजाँदै मैले भनेकी थिएँ– “बाबु ! तिमीसँग एकदिन कुरा गर्न आउँछु ल !”

स्वीकृतिको भावमा उसले पनि भनेको थियो– “हुन्छ नि !” साथमा मुस्कानको फुर्को झुण्ड्याएर ।

युवकको हाँसोमा म मुग्ध हुँदै गएँ । घर जाने बाटो परेकाले होला, सधैँ मेरो आँखा युवक रोकिएको ठाउँमा पथ्र्यो । मनको अन्तर्तलमा कताकता ती युवकको हाँसोले सम्वाद गरेको भान हुन्थ्यो ।
कति छिट्टै युवक मेरो प्रेरणा बनिसकेछ ।

युवकलाई सम्झँदा एकछिन खुसीले गद्गद् हुन्थेँ । तुरुन्तै मनभित्र बादल मडारिन्थ्यो । खिन्न बनाउँथ्यो । “दिदी दुर्घटनामा खुट्टा गुमाएँ मैले,” भेट भएकै दिन उसले सुनाएको थियो ।
मुटु चिरिएको थियो मेरो ।

कहाँ, कसरी, कहिले दुर्घटना भयो होला भन्ने विस्मयकारी कौतूहल भने मेटिएको थिएन । युवकको साहस र धीरता मैले मेरै मनमा मात्र सीमित राख्न सकिनँ । बेलुकी घर पुग्नेबित्तिकै परिवारलाई सुनाएँ । भोलिपल्ट साथीहरूलाई पनि पस्किएँ ।

उनीहरूले एउटै वाक्य भनेका थिए– “हो र !”

एउटा खुट्टाबिना दुईपाङ्ग्रे साइकल भन्दै थप आश्चर्यमा पनि परेका थिए, कतिपय ।

केही दिनपछि मैले बाह्रखरीको साप्ताहिक मिटिङमा सुनाएँ । त्यतिबेलासम्म युवकसँग कुराकानी गर्ने उत्साह दुगुणा भइसकेको थियो ।

पाठक–दर्शकलाई शब्दमात्रै देखाउन मनले मानेन । दृष्यसँगै साक्षात्कार गराउन पाए युवकलाई प्रेरणा–आदर्श मान्नेहरू अरू पनि थपिएलान् भन्ने लोभ भयो ।

भिडियो खिच्ने चाँजोपाँजो अफिसले नै मिलाइदिने भयो ।

तर सधैँ संयोग दाहिना कहाँ हुन्छ र ! व्यस्तताले गाँजिहाल्यो ।

उसलाई भेटेको तेस्रो हप्तापछि हुनुपर्छ, मैले फोन गरेँ । बोलीमा उस्तै उत्साह थियो । जीवनप्रति कत्ति पनि निराशा प्रतिविम्बित हुँदैनथ्यो । कुराकानीमा अन्त्यमा मैले भनेँ– “भाइ भेटौँ है ।”

“हुन्छ नि !,” ऊ भन् उत्साहित देखियो ।

युवक हात्तीवनमा बस्थ्यो । म त्यसको नजिकै । बेलुका अफिसबाट फर्कंदा बाटो मिलाउने मेरो योजना थियो । तर साइकल कुदाउने साहसिलो भाइ, आफ्नो निम्ति खर्चको आफैं जुगाड गथ्र्यो भनेर मलाई थाहा थिएन ।

कार्यव्यस्तताले बेलुका भेट्न असमर्थ रहेछ ऊ । “भोलि बिहान भेटौँ,” आफैँले समयको बन्दोबस्ती गर्यो ।
० ० ०
गोलो (माइनस–१) पावरधारी चस्मा । अनुहारमा गुलाबी हाँसो । नीलो रंगको प्याङ्ग बाइक (उसको काम गर्ने पसल) को जर्सी लगाएर एक हातले वैशाखी थाम्दै हात्तीवनको एक होटल अगाडि मूर्तिवत् उभिइरहेको थियो युवक ।

घरमा खानेकुरा बनाउन अल्छी लाग्दा, बेलाबखत छिर्ने होटल रहेछ त्यो । भेट्न पनि त्यही होटलमा बोलाएको रहेछ । “साइकल खोइ त भाइ ?,” मलाई साइकलको नियास्रो लाग्यो, सोधिहालेँ ।
कुरैकुरामा मैले साइकल देखेको रहेनछु । “ऊ त्यहाँ भित्र छ,” उसैले इशारा गर्यो ।

“स्कुटर पनि छ दिदी, चलाउन अल्छी लाग्छ । अहिले सर्भिसिङ्गमा दिएको छु,” उ झन् उत्साहित देखियो ।

“दुई पाङ्ग्रे कि तीनपाङ्ग्रे स्कुटर ?,” मेरो मनमा अर्को कौतूहलको वीजारोपण भयो ।

“दुई पाङ्ग्रे,” ऊ अझै टठीलो देखियो । तर स्कुटी भएको धेरै भएको रहेनछ । आत्मविश्वास कम भएर चलाउँदैनथे कि, के जान्नू !

पहिलो भेटमै मस्तिष्कमा गाढा छाप बनिसकेको थियो ऊ । अड्कलेर बोल्थ्यो । विचार पुर्याएर जवाफ दिन्थ्यो । शब्दप्रति सचेत थियो । हाँस्दाहाँस्दै बत्ती निभेजस्तो अनुहार बनाउँदा बोल्दाबोल्दै शंका लाग्थ्यो– “जिन्दगी र भगवानलाई आफ्नो देब्रे खुट्टाको अपराधी मान्दै त छैन ?”

तर ऊसगँको पहिलो बसाइले मेरो शंका दूर गरिदियो । जिन्दगीसँग खुसी छु भन्दै अनुहारमा हाँसो फिँजाइरहन्थ्यो । “साइकल चलाएर देशका कुनाकुना पुग्ने विचार छ,” कुरैकुरामा ऊ योजना समेत सुनाउँथ्यो ।
हरेक कुराको जवाफमा हाँसो पनि मिसिएको हुन्थ्यो । त्यो मिजासिलो हाँसोमा केही लजालुपन थपिएजस्तो लाग्थ्यो, मलाईचाहिँ ।

पत्रकारिता प्रश्नोत्तर पेशा हो । धेरैसँग कुराकानी भयो । तर युवकसँग जति अप्ठ्यारो कसैसँग भएन । कोट्याउँ खाटा बसेको घाउ दुख्ला । अनुहार मलिनो होला । आँखा रसाउलान् । नकोट्याउँ आलेख अपूरो हुन्छ ।
मनलाई मसक्क बाँधेर कुराकानीको गाँठो फुकाएँ ।

अचम्म ! ऊ त आफनो अतीतलाई निकै पछाडि धकेलेर वर्तमानमा रमाउन बानी पारिसकेछ । नक्कली खुट्टा राखेर सक्कली गन्तव्यमा हिँड्नु थिएन रहेछ ! नक्कली सुन्दरता क्षणभंगुर हुन्छ भन्थ्यो ऊ ।

“नक्कली खुट्टा हाल्दा राम्रो त देखिन्छ नि दिदी ! तर के गर्नु साईकल चलाउन मिल्दैन । नक्कली खुट्टा लगाउनुभन्दा साइकलमै हिँडडुल गर्न सजिलो हुन्छ । मन लागेको ठाउँमा जान सकिन्छ,” ऊ यसै भन्थ्यो ।
घरीघरी थप्थ्यो– “अब त साइकल नै मेरो अर्को खुट्टा हो ।”

साइकल चलाएर हरेक ठाउँ पुग्न बाधा थिएन । हरेक सप्ताहान्तमा साइक्लिङ्ग गर्दै काठमाडौैंका डाँडाकाँडा चहाथ्र्यो ।

एक्लै बस्ने ऊ खाना बनाउन उस्तै पारङ्गत !

प्रसंगवश मैले सोधेको थिएँ– “खाना पनि बनाउँछौ युवक ?”

ऊ झन् उत्साहित हुँदै सुनाउँथ्यो, “अरे दिदी ! म त पहिला सेफ नै थिएँ ।”

“मःमः चाउमिन मात्रै कहाँ हो र ! तपाईंहरूको नेवारी खाजा पनि मीठै पो बनाउँछु !,” ऊ अझै हाँस्थ्यो ।

आमसञ्चार विषय लिएर १२ कक्षा पढिरहेको युवकसँग जम्माजम्मी दुई थान सपना थिए । पहिलो, आफूजस्तै एक खुट्टा गुमाएका साथीहरूलाई साइकल चलाउन सिकाएर आत्मनिर्भर बनाउने । उनीहरू अनुभूतिलाई प्रेरणाका रूपमा विश्वभरि फिँजाउने ।

पत्रकारितासँग बेलाबखत घृणा हुनेगर्छ । जब लेख्न नसकेर डल्लिन्छु, मलाई मेरो पेशाप्रति बहुतै उदेक लाग्छ ।

पत्रकारितामा स्नातकोत्तर त सकियो तर आमसञ्चारको कखरा नै जानेको रहेनछु भन्ने तीतो भान हुन्छ । घरीघरी त्याग्न खोज्यो यो पेशा ।

युवकले मेरो पेशाप्रति गर्वबोध गरायो । आँखै खोलिदियो भन्न रुचाउँछु म ।  मैले आफूलाई चिन्नै सकेकी रहेनछु ।

“किन पत्रकारिता पढेको ?,” कुरैकुरामा सोधीहालेँ । उसले अवाक् बनायो, “तपाई जस्तै म जस्ताहरूको आवाज बन्न दिदी !”
कति गम्भीर ! कति सम्वेदनशील !

भाइ मेरै निम्ति प्रेरणा बन्यो ।

० ० ०
१३ वर्षको लाउँलाउँ, खाउँखाउँको भर्भराउँदो उमेरमा युवक लामा दुर्घटनामा परे । काठमाडौंमा साहुको घरमा बसेर काम गर्दै पढाइको यात्रा अघि बढाइरहेका युवकको जीवनमा भवितव्य आइपर्यो । देब्रे खुट्टा गुम्यो ।

“दसैँ मनाउन घर जाँदै थिएँ । दशा आइलाग्यो, खुट्टा गुमाएँ,” उनको विदारक कथा यसरी शुरू हुन्छ । दुर्घटनाको केही समय होसहवास गुम्यो । जब बेहोसबाट होसमा फर्किए । उनले  आमासँग मृत्युको याचना गर्न थाले ।

“आमा ! यत्रो दुःखाइ सहनुभन्दा मार्दिनूस् मलाई !” निरूपाय आमा निरुत्तरित हुन्थिन् ।

घाउ निकै दुख्थ्यो । दुखाइ सहन नसकेर युवक रुन्थे । आमा ! मलाई बाँच्नु छैन । म मर्न चाहन्छु ।  थाहा नपाउने गरी मर्ने सुई हान्न लगाइदिनूस् भन्थे । प्रतिउत्तरमा आमा रोइरहन्थिन् ।

घाउले नटुटाएका युवक त्यतिबेला टुक्राटुक्रा भए । जतिबेला आफ्नो चित्कार, क्रन्दन चुपचाप सुनिदिने र हमेसा हौसला दिइरहने आमाले सधैँका लागि संसार छाडेर गाइन् । आमाले छाडेपछि सर्वथा एक्लो भए युवक । बजारबाट जसोतसो बैसाखी किनेर ल्याए । त्यसैलाई सहारा बनाए । उनको भर बैसाखी थियो । बैसाखीको भर युवक थियो । 

देब्रे खुट्टाभन्दा भरसिलो बन्दै गयो, बैसाखी ।

बैसाखीसँग हिँड्न नजानेर कयौँपल्ट पछारिए युवक । धूलो टक्टक्याउँदै उठ्नु र पुनः गन्तव्यतिर सोझिन्थे उनी ।

कलिलै उमेरमै युवकले दुःख र पीडाका अनगिन्ती खुट्किलाहरू पार गरिरहेका थिए । काठमाडौं आएर खगेन्द्र नवजिवन विद्यालयमा पढ्न थालेपछि भने उनको जीवनमा पहारिलो घाम लाग्दै गयो । जिन्दगीका काला बादललाई उछिन्दै चम्किलो घामको किरण सामुन्ने आएको थियो ।

स्कुलमा आफूजस्तै थुप्रै बालबालिका देखेपछि आफूलाई भुल्दै गए युवकले ।

खुसीको आयु अल्प हुन्छ भनेझैँ दुःख–पीडालाई छिचोल्दै बैसाखीकै सहारामा भए पनि हाँस्न सिकेका युवकलाई स्कुल बसले लिन आउन छाड्यो ।

सार्वजनिक यातायातमा जान त सक्थे । तर काठमाडौंका सवारी कहाँ अपाङ्गतामैत्री छ र ! हेलाहाँसो गर्थे । उनी त शारीरिक अपाङ्गता भएका व्यक्ति थिए । आनीबानी नै अपाङ्गता भएकाहरू फेला पर्न थाले ।

दुःखलाई जिन्दगीको सम्पत्ति मान्दै आएका युवक त्यहीँभित्र सम्भावनाको खोजी गर्न थाले ।

खोजीले उनलाई साइकल थमायो ।

बाँकी जिन्दगीलाई साइकलमा धकेल्छु त सोचे । तर एक खुट्टाबिना दुई पाङ्ग्रे साइकल कसरी गुडाउनु ? उनले हार मानेनन् र निरन्तर सङ्घर्ष जारी राखे । अन्ततः युवक एकखुट्टामै चलाउन पारङ्गत भए ।

तीन वर्षमै साइकल चालक नभएर ‘साइकिलिस्ट’को छवि फिँजाइसकेका थिए ।

साइकिलिस्टहरूका बीचमा उसको नाम अग्रपङ्क्तिमा थियो । थुप्रै राष्ट्रिय साइकिलिङ प्रतियोगितामा जित हासिल गरिसकेका थिए । 

“अबको लक्ष्य अन्तर्राष्ट्रिय पारासाइकिलिङमा भाग लिएर देशको नाम उँचो तुल्याउनु हो,” उनी छाती फुलाउँदै सुनाउँथे ।
साउन ४ गते  । युवकसँग कुरा गरेको दुईदिन भएको थियो । आलेखले आकार ग्रहण गरेको थियो । मस्तिष्क खाली कागजझैँ थियो । केही शब्द आइरहेका थिएनन् ।

गह्रुँगो मन लिए वार्तालापलाई कथाको रङ दिन्छु भन्दै थिएँ । बाहिर रात बाक्लिँदै थियो । फोनले डिस्टर्ब गर्यो ।
दुई घण्टी बजेपछि फोन उठाएँ ।

सरिता खड्काको रहेछ । बाह्रखरीकै सहकर्मी । फोटोजर्नलिस्ट ।

सञ्चोविसञ्चो सोध्न होला भन्ठानेथेँ । के–को हुन्थ्यो ?

“वर्षा ! भाइले त आत्महत्या गरेछ !,” उनी पहिलो वाक्यमै चुकचुकाइन् ।

मेरो नौनाडी खिचियो । मसँग कुनै शब्द थिएन । भावशून्य बन्न पुगेँ । आँखाअगाडि अँध्यारो सघन भयो ।

अर्कै भाइ पो हो कि भनेर जाँच्न खोजेँ– “को भाइ भन्नुहुन्छ तपाईं ?”

“युवक भाइ, के युवक !,” सरिताले दोहोर्याइन् ।

युवक भाइ नरहेको कुराले मेरो मथिङ्गल चिसो भयो । निधारमा पसिना आएछ !

दुई दिनअघिको भेटमा त्यत्रो योजना सुनेको भाइ यत्ति छिट्टै कस्तो मानसिक अवसादमा पर्यो होला र, मृत्युको बाटो रोज्यो । सोच्दासोच्दै कतिबेला फोन राखेँ पत्तै भएन ।

म अझै कन्फर्म थिइनँ ।

हतारहतार भाइले काम गर्ने प्याग बाइकको साहुजीको मोबाइलमा सम्पर्क गरेँ ।

“हो बहिनी, भाइले आत्महत्या गरेछ । आफू बसेकै कोठामा । दिउँसो २ बजेतिर !,”  दाइले कन्फर्म गरे ।

कुराकानी लम्ब्याउने जाँगर चलेन ।

दाइ र म दुवै अचम्भित भयौँ । कहिले निराश नदेखेको भाइले किन यति ठूलो कदम उठायो ।

कलेजबाट आएपछि दाइलाई मध्याह्नपख फोन गरेर आज काममा आउँदिन, घरमा काम छ भनेको रहेछ । तर, त्यत्रो ठूलो ‘काम’को बारेमा कसैलाई सुइँको पनि दिएन ।

युवकले आत्महत्या गर्नुअघि सामाजिक सञ्जालमा रुँदै गरेको फोटोसँगै निराशाजनक स्ट्याटस लेखेको रहेछ– ‘अर्को जूनिमा भेटौँला !’

त्यो स्ट्याटसमा आँखामात्रै पुगेको भए, कुद्दै गएर बचाउने थिएँ । 

“हे युवक ! जानु नै थियो तर कहिलै जाँदिनजस्तो गरेर मलाई किन छल गर्यौ ? के तिम्रो भाषाको गुनासो हाँसो नै हो ?”

तस्बिरहरूः सरिता खड्का

प्रतिकृया दिनुहोस
ad