site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको एक वर्षको समीक्षा : उपलब्धि भएन भनेर अब उम्कने अवस्था छैन

विराटनगर । प्रदेश १ सरकारले आफूले एक वर्षमा गरेका कामको समीक्षा गरेको छ । ‘‘जे जति उपलब्धि हासिल गर्नु पर्दथ्यो गर्न सकिएन,’’ सरकारको स्वयम् आफूप्रतिको मूल्यांकन यस्तो छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सात मन्त्रालयग तथा सरकारका अन्य निकायको कार्य प्रगतिबारे समीक्षा गरेको हो । 

त्यस अवसरमा मुख्यमन्त्री शेरधन राईले अघिल्लो आर्थिक वर्ष २०७५-०७६ को पूर्ण बजेट कार्यान्वयन गर्न प्रदेश सरकारले विविध चुनौतीको सामना गर्नु परेको दृष्टान्त पेश गरे । ‘‘अघिल्लो बजेट कार्यान्वयन गर्न सजिलो भएन । कर्मचारी, कानुन र संरचना अभाव भयो,’’ मुख्यमन्त्री राईले भने,‘‘एक पटकको लागि त सरकारलाई छुट प्राप्त भयो तर हामी बिल्कुलै नयाँ परिवेशमा छौं । संघीयता नै नयाँ व्यवस्था हो । अब उम्कने अवस्था छैन । जनताले पनि बिल्कुलै नयाँ आँखाले हेरिरहेका छन् । अब सम्पूर्ण जवाफदेहितासहित उभिनु परेको छ ।’’

मुख्यमन्त्री राईले अब कार्यप्रगतिलाई कागज वा रिर्पोटमा मात्र नहेर्ने बरु उपलब्धिको फिल्डमा जाँच हुने, अनुगमन गरिने र विकासलाई जाँच गरिने स्पष्ट गरे । सरकार, संसदीय समिति र जनताको आँखा पनि सरकारले गर्ने काममा परिहेको मुख्यमन्त्रीको भनाइ थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राईले अघिल्लो आर्थिक वर्षको आधा अवधिबाट मात्र काम सुरु हुँदा ६० प्रतिशत हाराहारीमा विकास खर्च भएको बताउँदै चालू आर्थिक वर्षमा जेठ १५ गतेभित्र बजेट कार्यान्वयन गरिसक्ने र केन्द्रीय सरकारको क्यालेन्डरअनुसार नचल्ने बताउँदै भने,‘‘असोज महिनाभित्रै टेन्डर बिड भइसक्नु पर्छ । चैत वैशाखमा काम थाल्ने र असारमा भुक्तानी गर्ने हुनुहुँदैन । अब प्रदेश नयाँ ढंगले चल्नुपर्छ ।’’

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले समग्र बजेट खर्चको अवस्थिति ६० प्रतिशतभन्दा बढी भएको दाबी गरे । उनले कार्यक्रम ल्याउने भन्दा पनि स्रोतको सुनिश्चितता प्रमुख विषय भएको चर्चा गर्दै भने,‘‘कार्यक्रमहरु सञ्‍चालन गर्न अख्तियारी लिइरहनु पर्ने झन्झट अब राखिएको छैन् । जुनजुन निकायले कार्यक्रम सञ्‍चालन गर्ने हो सोझै गर्न मिल्छ । विगत जस्तो अख्तियारी कुरेर बस्नु पर्दैन् ।’’

मन्त्री आङ्बोले प्रदेश सरकारले अब आफ्नो आन्तरिक आय बढाउन स्रोतको पहिचान गर्न जरुरी भएको बताए । स्रोतको दायरा फराकिलो नबनाउन्जेलसम्म प्रदेशका आफ्नो आम्दानी बढ्न नसक्ने मन्त्री आङ्बोको भनाइ छ ।

त्यस अवसरमा प्रदेशका सबै सात मन्त्रालयको अघिल्लो आर्थिक वर्षको कार्यप्रगति तथा आगामी कार्ययोजनामाथि छलफल भएको थियो । मन्त्रालयगत रुपमा प्रस्तुत गरिएका कार्यप्रगतिमा सबैभन्दा धेरै बजेट खर्च गर्न सामाजिक विकास मन्त्रालय समक्ष देखिएको छ । उसले ९० प्रतिशत बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयकातर्फबाट सचिव हरिप्रसाद दाहालले कार्यप्रगति र आगामी योजना प्रस्तुत गरेका थिए ।

आन्तरिक मामिला मन्त्रालयका सचिव भरतमणि रिजालले मन्त्रालयका कार्यक्रम तथा प्रगति समीक्षा कार्यक्रममा प्रस्तुत गरे । मन्त्रालयले नेपाल प्रहरीलाई भौतिक पूर्वाधार तथा आवश्यक सामग्रीमा गरेका सहयोगबारे जानकारी गराए । 

भौतिक पूर्वाधार मन्त्रालयका निमित्त सचिव राजेशप्रसाद घिमिरेले भौतिक पूर्वाधार विकासको लागि सरकारले बजेटको करिब ४५ प्रतिशत पूर्वाधार मन्त्रालयमा कार्यक्रम समेटेको बताउँदै भने,‘‘कार्यक्रमहरुलाई सार्थक रुपमा सञ्‍चालन गर्न र प्रगति पाउन हामीलाई निकै चुनौती छ ।’’ उनले सरकारले अब आफूले गरेका कामको विषयमा जानकारी गराउन होर्डिङ बोर्ड र काम सम्पन्न भएपछि शिलालेख तयारी गरेको बताए । 

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले मन्त्रालयले ३८ प्रतिशत प्रगति हासिल गरेको तथ्यांक पेश गरे । कृषिको क्षेत्रमा मन्त्रालयले गरेको कार्यविवरण प्रस्तुत गर्दै कृषितर्फ कूल रु. २७ करोड र पशुपंक्षीतर्फ ४६ करोड अनुदान प्रदान गरिएको बताए । 

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयकातर्फबाट पेश भएको प्रतिवेदनमा पर्यटन विकासदेखि उद्योग क्षेत्रका समस्या उजागर गर्दै मन्त्रालयले गेरेको कार्यप्रगति प्रस्तुत गरिएको थियो । अर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवन प्रकाश सिटौलाले स्रोतको सुनिश्चितता भएको योजना र वहुवर्षीय योजना महत्वपूर्ण भएको चर्चा गरे । 

उनले कतिपय बहुवर्षीय योजनाहरुमा विनियोजन भएको बजेटले त्यसको निरन्तरता कठिन हुने देखिएको बताए । उनले भने,‘‘प्रदेश सरकार अधिक रुपमा केन्द्रीय सरकारको अनुदानमा आश्रित भएजस्तो देखिएको छ । आन्तरिक आय बढाउने योजना बनाउन जरुरी छ ।’’ मुख्यमन्त्री कार्यालयका वार्षिक प्रगति विवरण तथा योजना सचिव भरतमणि रिजालले प्रस्तुत गरे ।

कार्यक्रममा प्रदेशसभा, प्रदेश योजना आयोग, न्यायाधिवक्ताको कार्यालय र प्रदेश लेखा नियन्त्रण कार्यालयको प्रगति विवतरण तथा चालु आर्थिक वर्षको कार्ययोजना पनि पेश गरिएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १८:०७
प्रतिक्रिया दिनुहोस्