site stats
बाह्रखरी :: Baahrakhari
देश
चार वर्षदेखि वीर अस्पतालले रेडियोथरापी सेवा लिन आउने बिरामीलाई निजीमा रिफर गर्दै

काठमाडौं । वीर अस्पतालमा क्यान्सरका बिरामीलाई आवश्यक पर्ने पुरानो कोबाल्ट रेडियोथेरापी मेसिन बिग्रेर सेवा बन्द भएको चार वर्ष पुगेको छ । दैनिक रेडियोथेरापी सेवा लिन आउने बिरामीलाई उपकरण नहुँदा अन्य निजी अस्पतालमा रिफर गर्ने गरेको छ । अस्पतालले रेडियोथेरापी सेवाको स्थानमा अर्को नयाँ प्रविधिको मेसिन टोमोथेरापी ल्याएको करिब एक वर्ष पुग्न लाग्दासमेत पनि जडान गरेर सञ्चालनमा आउन सकेको छैन् । 

अस्पतालले (कोबल्ड ६०) टोमोथेरापी मेसिन अमेरिकाको एकुरे कम्पनीबाट रु ४७ करोड रुपैयाँमा खरिद गरेर ल्याएको थियो ।  तर अस्पताल प्रशासनले मेसिन राख्ने स्थानमा पुरानो मेसिन भएको त्यो मेसिन हटाउन ढिलो हुँदा जडान गरेर तुरुन्तै सञ्चालन ल्याउन नसकिएको बताउँदै आएको छ । हाल अस्पतालको क्यान्सर विभागमा रहेका अन्य रेडियोथेरापीका लागि आवश्यक मेसिन तथा उपकरणहरु बिग्रदै गएका छन् । अस्पतालमा उपकरण नहुँदा बिरामी मर्कामा पर्नुका साथै दक्ष जनशक्ति पनि सक्रिय भएर काम गर्न पाइरहेका छैनन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले अस्पतालमा पुरानो रेडियोथेरापी सेवा बन्द भएको चार बर्ष पुग्यो, गत वर्ष नै नयाँ उपकरण ल्याए पनि सेवा सुरु गर्न ढिलाइ भएको बताए । “अस्पतालमा रेडियोथेरापी सेवा लिन आउने बिरामीलाई अन्य अस्पतालहरु भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, हरिसिद्धि क्यान्सर अस्पतालमा रिफर गनुपर्ने बाध्यता छ,” उनले भने “नयाँ प्रविधिको टोमोथेरापी मेसिन अबको करिब दुई महिनासम्ममा सञ्चालनमा आउने छ । उक्त मेसिन सञ्चालनमा आउनेबित्तिकै क्यान्सरका रेडियोथेरापी सेवा नयाँ प्रविधिको टोमोथेरापीबाट विरामीलाई दुई सिफ्टमा सेवा दिइने छ ।”

रेडियोथेरापी सेवा लिन सरकारी अस्पतालमा पालो नपाइने, निजीको शुल्क धेरै महँगो हुँदा गरिब र विपिन्न उपचार नगरी घर फर्कने स्थिति समेत हुने गरेको विभागका चिकित्सकहरु बताउँछन् । अस्पतालमा उक्त सेवा सञ्चालनमा दैनिक ७० जनासम्म बिरामीहरु आउने गरेका क्यान्सर विभागले जनाएको छ । उक्त समयमा रेडियोथरापी सेवा लिन वीरमा एक साता पालो कुर्नुपर्ने बाध्यता थियो । 

क्यान्सर विभाग प्रमुख डा.विवेक आचार्यले आर्थिक वर्ष २०७४-०७५ मा अस्पतालमा क्यान्सर रोगका करिब सात सय बिरामी भर्ना भएका थिए । तीमध्ये पाँच सय ५० बिरामीलाई रेडियोथेरापी सेवाको आवश्यकता रहेको बताए । “यस्ता रेडियोथेरापी सेवा लिनुपर्ने बिरामी निजीमा महँगो शुल्क तिरेर सेवा लिन बाध्य छन्,” उनले भने, “रेडियोथेरापीे सेवा सञ्चालनमा आउँदा दैनिक करिब ७० जनासम्मले सेवा लिने गरेका थिए ।”

विश्वमा अहिलेसम्मकै नयाँ प्रविधियुक्त र गुणस्तरीय मानिएको रेडियोथेरापी मेसिनमा टोमोथेरापी एक हो । यो मेसिनबाट सेवा लिन विदेशमा दुई लाखसम्म उपचार खर्चसम्म लाग्छ । तर अस्पतालले यो सेवा सञ्चालनमा ल्याएपछि २० हजारसम्म नै सेवा दिने जनाएको छ । अस्पतालले पहिला रेडियोथेरापी सेवा सञ्चालनमा आउँदा पाँच हजारमा नै सेवा दिएको थियो । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सबाट क्यान्सर रोग अध्ययन गरिरहेका विद्यार्थी (रेजिडेन्ट चिकित्सक) ले रेडियोथेरापीमा प्रयोगात्मक अभ्यास गर्न समेत पाएका छैनन् । अस्पताल स्रोतका अनुसार खरिदमा कमिसन नमिल्दा समयमा जडान नभएको बताउँछन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ०४:१०
प्रतिक्रिया दिनुहोस्