site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
ह्वाट्स एपमार्फत जासूसी भइरहेको खुलासा, एप अपडेट गर्न कम्पनीको आग्रह

वाशिङटन । ह्याकर्सले मेसेजिङ एप ह्वाट्स एपमार्फत् फोन र अन्य डिभाइसमा टाढाबाट सर्भिलेन्स सफ्टवेयर जडान गर्ने गरेको खुलासा भएको छ ।  ह्वाट्स एप फेसबुकले चलाइरहेको छ । त्यस खालको जासूसी अथवा आक्रमण छानिएको संख्यामा भइरहेको बताइएको छ ।  यी क्रियाकलापलाई अत्यधुनिक साइबर गतिविधिको रुपमा लिइएको छ । 

यस खालको आक्रमणको गतिविधि इजरायली सेक्युरिटी फर्म एनएसओ ग्रुपले तयार पारेको फाइनान्सीयल टाइम्सले जनाएको छ । सोमबार ह्वाट्स एपले सबै १ दशमलब ५ बिलियन प्रयोगकर्तालाई आवश्यक होशियारी अपनाउँदै आफ्नो एप अपडेट गर्न आग्रह गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सो आक्रमणको जानकारी यो महिनाको सुरुमा पत्ता लागेको हो ।  आक्रमणकारीले ह्वाट्स एपको भ्वाइस कलिङ्ग फन्क्सनलाई लक्षित डिभाइसमा रिङ्ग गर्नको लागि प्रयोग गरेको पाइएको छ । 

त्यो  फोन कल उठाइएन भनेपनि सर्भिलेन्स सफ्टवेयर त्यसमा जडान हुने गरेको छ । साथै त्यो कल डिभाइसको लगबाट पनि आफैं हराउने गरेको बताइएको छ । ह्वाट्स एपले बीबीसीलाई बताएअनुसार कम्पनीको सुरक्षा टोलीले यो त्रुटी फेला पारेको छ । यो सूचना मानवअधिकार समूह, छानिएका सुरक्षा सम्बन्धी सामान दिने निकाय र अमेरिकाको कानुन मन्त्रालयलाई यो महिनाको सुरुमा दिइ सकिएको छ । 

यस खालको प्रयोगको खतरामा को को परे भन्ने बारेमा अहिले नै भन्न नसकिने ह्वाट्स एपले जनाएको छ ।  विगतमा त्यस खालका गतिविधि अधिकारकर्मी र पत्रकारहरुलाई निगरानीमा राख्नको लागि प्रयोग गरिने गरिएको बताइएको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठन एम्नेस्टी इन्टरनेसनलले इजरायलको रक्षा मन्त्रालय विरुद्ध एनएसओ ग्रुपलाई आफ्ना उत्पादन निर्यात गर्नका लागि दिएको लाइसेन्स खारेज गर्न आग्रह गर्दै त्यहाँको अदालतमा मुद्दा दायर गरेकोमा त्यसको सुनुवाई आज मंगलबार हुने  जनाइएको छ । (बीबीसीबाट)
 

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ०७:५५
प्रतिक्रिया दिनुहोस्