site stats
बाह्रखरी :: Baahrakhari
देश
बाटो पिच नभएपछि बौद्धमा शंख बजाएर सरकारको विरोध, प्रहरीद्वारा अश्रुग्यास प्रहार 

काठमाडौं । बौद्ध–जोरपाटीका स्थानीय नागरिकले बाटोको सास्ती बेहोर्न थालेको एक दशक हुन लाग्यो । अहिले कुम डुब्ने हिलो त कहिले धुलो । चार वर्षअघि चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूरा नभएपछि स्थानीयले बुधबारदेखि आन्दोलन थाले ।

बिहीबार बिहान ८ बजेदेखि बाटो पिच हुनुपर्ने माग गर्दै बन्द गराए । बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका छन् ।

सोही क्रममा प्रहरीले अरुग्यास प्रहार गरेको थियो । प्रहरीसँगको झडपमा केही स्थानीय घाइते भएका छन् । आन्दोलनका कारण चुच्चेपाटी–जोरपाटी सडकखण्ड ठप्प छ । सवारी साधन चलेका छैनन् । जनता मार्न पाइँदैन, धुवाँ–धुलो उडाउने सरकार चाहिँदैन, ठेकेदारलाई कारबाही गरलगायतका नारा लगाउँदै आन्दोलनमा उत्रिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चाबहिलदेखि जोरपाटीसम्मका स्थानीयले उक्त सडकखण्डमा धुलो बढी हुँदा पनि सरकार र ठेकेदारले बेवास्ता गरेको भन्दै आज बिहानैबाट बाटो बन्द गराएका हुन् । सडक छेउका व्यवसायी पनि पसल बन्द गरेर सडकमा उत्रिएका छन् । उक्त सडकखण्ड वर्षौं बित्दासमेत पिच नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको बैठकमा काठमाडौंमा धुलो कम भएको, कोही पनि मास्क लगाएर हिँडनु नपरेको बताएका थिए । तर पनि स्थानीयले बाटोमा उडेको धुलो र धुवाँले नजिक बस्नै नसकिएको भन्दै विरोध जनाएका छन् । स्थानीय, व्यवसायीलगायतले ‘धुलो धुवाँ धेरै भो, स्वास फेर्न गाह्रो भो’, कालो पत्र छिटो गर’ ‘विश्व सम्पदाको संरक्षण गर’ लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर उक्त सडकखण्डमा प्रदर्शन गरेका छन् ।

बौद्ध व्यापार संघको पहलमा आज बिहानैबाट उक्त सडक बन्द गराएर स्थानीयले दबाब दिएका हुन् । “हामीले तीनवर्षदेखि संघर्षका कार्यक्रम गरेका थियौं,” बौद्ध व्यापार संघका सचिव सहदेव चौलागाईँले बाह्रखरीसँग कुरा गर्दे भने,“न त सरकारले सुन्छ, न ठेकेदारले ।” उक्त सडक खण्ड निर्माणको जिम्मा युनाइटेड विल्डर्सले पाएको थियो । उक्त कम्पनीको कार्यालयमा पुगेर समेत आफूहरुले दबाब दिएको भए पनि अहिलेसम्म सडक नबनेको भन्दै स्थानीय आक्रोशित भएका छन् । 

“हिजो बौद्ध गेटमा एकघण्टा चक्काजाम ग¥यौं,” उनले भने, “आज ८ बजेदेखि ५ बजेसम्म चक्काजाम गरेका छौं । परिणाम नआउन्जेल अब हामीले सडक खोल्दैनौं । सडक भत्काएको पाँचवर्ष बढी भइसक्यो तर अहिलेसम्म बनाइएको छैन ।” सडकको चौडाइ २२ मिटर बनाउने भनेर ठेक्का लगाइएपछि स्थानीले आफूहरुले घर नभत्काउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अन्तरिम आदेश दिएपछि सडक निर्माणको काम रोकिएको थियो ।

अघिल्लो वर्ष नै मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि जति सडक अहिले कायम छ त्यसमा पिच गर्नू भनेर निर्देशन दिएको भएपनि अहिलेसम्म नभएको चौलागाईँले जानकारी दिए । 

“हामीलाई धुवाँ धुलो त छँदैछ,” उनले भने, “बौद्ध व्यापार संघले तीन वर्षको बीचमा करिब ८० लाखको पानी बाटोमै खन्याइसक्यौं । अब त  त्यो पनि सम्भव भएन । धुलोले बस्नै नसकिने भयो । त्यसैले सडकमा उत्रियौं । हामीले नै पैसा उठाएर दिनमा तीनपटक ट्याङ्करबाट पानी सडकमा खन्याउने गरेका थियौं । तर पनि सरकारले वास्तै गरेन ।”
 

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  ११:०३
प्रतिक्रिया दिनुहोस्