पोखरा । ताप्लेजुङमा मंगलबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको छ । अधिकारीको मृत्युले उनको गृहजिल्ला शोकमा डुबेको छ । अधिकारीका बुबाआमा भने बुधबार नै काठमाडौं गएका छन् ।
वि.सं. २०२६ वैशाख २२ गते कास्कीको भरतपोखरी गाविसमा जन्मिएका अधिकारी विद्यार्थी अवस्थादेखि नै राजनीतिमा प्रवेश गरेका थिए । प्रवेशिका उतीर्ण गर्नेबित्तिकै वनविज्ञान अध्ययन संस्थानमा भर्ना भएतापनि त्यसको केहि समयमै २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्न थाले ।
पृथ्वीनारायण क्याम्पसबाटै अधिकारीको राजनीतिक जीवन सुरुवात भएको थियो । २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।
त्यसको ३ वर्षपछि २०५६ मा अनेरास्ववियु केन्द्रीय अध्यक्ष र सोही वर्ष नै स्ववियु काउन्सिल नेपालका संयोजक बन्नु उनको विद्यार्थीकालीन राजनीतिको उचाई थियो । आजको आवश्यकता, ‘संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चायतको अन्त्य’ भन्ने नाराका साथ ०४६ को जनआन्दोलनमा क्रियाशील रविन्द्र पञ्चायतकालमा पटक–पटक गरी छ महिना जेल र हिरासतमा समेत बिताए ।
०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उनी क्याम्पस, जिल्ला र संयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले नेतृत्व गरेका थिए । ०४६ को परिवर्तनपछि विद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने उनको विचार पृथ्वीनारायण क्याम्पसबाट सुरुवात भएको थियो । कलेज भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माण, शैक्षिक बाताबरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार,क् याम्पसमा विद्यार्थीको पोशाक आदि कुराहरुमा सुधार र परिवर्तनको जस उनैलाई जान्छ ।
शिक्षामा भएको निजीकरण र व्यापारीकरण, प्राविधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैका लागि गुणस्तरीय शिक्षा जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू–भाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध तथा शाहज्यादा पारस शाहको ज्यादतीविरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैन जेलखानामा हो भन्दै पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाइ गरेका कारण रविन्द्र राजनीतिक क्षेत्रमा एक उदियमान राजनीतिज्ञको रुपमा चिनिएका थिए ।
पार्टी राजनीतिमा
विद्यार्थीकालीन राजनीतिसँगै उनले पार्टीको राजनीतिको पनि थालनी गरेका थिए । २०४५ सालमा पार्टीको संगठित सदस्यता, २०३९ पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित २०४० मा इलाका पार्टी कमिटी, २०४६–४७ मा पोखरा नगर कमिटी, २०४८ मा पार्टी जिल्ला कमिटी र त्यसपछि लगातार जिल्ला कमिटीमा उनी सक्रिय थिए । २०६० र २०६३ मा उनी पार्टी सचिवमा निर्वाचित भए ।
पार्टीको राष्ट्रिय परिषद् सदस्य, अञ्चल कमिटी सदस्य हुँदै राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य, केन्द्रीय पार्टी स्कुल विभाग र संसदीय विभागको सदस्य समेत थिए । त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका अधिकारीले संविधानसभा, लोकतन्त्र र पुनर्संरचना पुस्तक समेत लेखेका थिए ।
संसद र संविधान सभा
अहिले पर्यटनमन्त्री बन्नूपर्व संविधानसभाको दोश्रो निर्वाचनमा उनी विकास समितिका सभापति बनेका थिए । पहिलो संविधानसभा निर्वाचन २०६४ र दोस्रो निर्वाचन २०७० मा संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उचाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाएको चर्चा हुने गर्छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी कास्की क्षेत्र नं. २ बाट निवार्चित भएका थिए । मन्त्री भइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सुचारु, १०० पर्यटकीय स्थलको सूचीकृत सहित सुधारका कार्यको संकेत देखाएका अधिकारीलाई वाइडबडी विमान काण्डमा भने विवादमा ल्याइएको थियो ।