मधुमेह के हो ? कसरी नियन्त्रणमा राख्ने ?

डा. सन्देश पन्थी– इन्डोक्राइनोलोजिष्ट तथा डायबेटोलोजिष्ट,  ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ । विश्वमा ४० वर्षमाथिका चार जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको पछिल्ला अध्ययनहरुले देखाएका छन् । मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसा लगायत शरीरका विभिन्न अंगमा पनि थप समस्या बढ्दै जान्छ । दैनिक रुपमा ३० मिनेट व्यायाम गर्दा मात्र पनि मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ ।

मधुमेहका कारण सन् २०१२ मा मात्र विश्वभर ४८ लाख मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय मधुमेह संगठनले जनाएको छ । यो रोगबारे जनचेतना जगाउन सन् १९९१ देखि नोभेम्बर १४ तारिखमा मधुमेह दिवस मनाउन थालिएको थियो । तर, संयुक्त राष्ट्र संघको अगुवाईमा सन् २००७ देखि आधिकारिक रुपमा यो दिवस मनाउन सुरु भएको हो ।

मधुमेह के हो ?
रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी देखा पर्नुलाई मधुमेह भनिन्छ । मानिसको आफनै खानपान र रहनसहनको कारण यो रोग देखा पर्छ । यो सरुवा रोग होइन । कतिपय मधुमेह वंशानुगत पनि हुन्छ । मधुमेह लागेको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराई उपचार गराउनुपर्छ । मधुमेहबाट बच्न नियमित व्यायाम, सन्तुलित आहार आदिमा ध्यान दिनुपर्छ ।
 

मधुमेहका प्रकार
मधुमेह हुने प्रारम्भिक कारणको आधारमा सामान्यतया यो दुई प्रकारको मानिन्छ । अन्य प्रकारमा गर्भावस्थामा हुने मधुमेह र अत्यन्त कम मात्र देखा पर्ने देखिने मधुमेह पर्छन् ।

पहिलो किसिम
शरीरमा इन्सुलिनको उत्पादन अत्यन्त कम हुँदा रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुने अवस्थालाई पहिलो किसिमको मधुमेह भनिन्छ । यस्ता बिरामीलाई बाँच्नको लागि नै इन्सुलिन चाहिने भएकाले यिनीहरु जीवनभर इन्सुलिनमा आश्रित हुन्छन् । जुनसुकै उमेरमा देखा पर्न सक्ने भए पनि यस्तो मुधमेह विशेष गरी बाल्यावस्था वा किशोरावस्थामा सुरु हुने र दुब्ला मानिसमा बढी देखिने गर्छ ।

दोस्रो किसिम
शरीरमा आवश्यक इन्सुलिन उत्पादन नहुँदा तथा उत्पादित इन्सुलिनले प्रभावकारी काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्थालाई दोस्रो किसिमको मधुमेह भनिन्छ । यसको उपचारमा सन्तुलित खानपान र नियमित व्यायामको साथसाथै आवश्यकता अनुसार खाने औषधि र कहिलेकाहीँ इन्सुलिन पनि जरुरी पर्न सक्छ । यस्तो मधुमेह सामान्यतया ४० वर्षको उमेरपछि प्रायः मोटाघाटा व्यक्तिहरुमा देखापर्छ ।

मधुमेहका लक्षण
•    मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु ।
•    पटकपटक पिसाब लाग्नु र पिसाबको मात्रा धेरै हुनु ।
•    राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु ।
•    भोक धेरै लाग्नु ।
•    घाउ खटिरा आइरहनु र समयमा निको नहुनु ।
•    यौन दुर्बलता ।
•    शरीर र खासगरी गुप्ताङ्ग चिलाउनु ।
•    दृष्टि धमिलो हुनु ।
•    -हातगोडा झमझमाउनु ।
•    जिउ गलेको महसुस हुनु ।

यी लक्षणहरु देखापरेमा बेलैमा जाँच गराई उपचार प्रक्रिया सुरु गर्नुपर्छ । रगतमा चिनी धेरै बढी वा धेरै कम हुँदा पनि मानिस बेहोश हुन सक्छ । बेलैमा नियन्त्रणमा राख्न नसकेमा मधुमेहले शरीरका महत्वपूर्ण अंगहरु आँखा, मुटु, मृगौला, मस्तिष्कका साथै रगत तथा स्नायुका नसाहरुमा नराम्रो असर पुर्‍याई दीर्घकालीन रोगहरु निम्त्याउन सक्छ । तसर्थ मधुमेहको जाँच र उपचार बेलैमा गर्नु आवश्यक हुन्छ ।

बच्ने उपायहरु
•    शारीरिक रुपमा सक्रिय रहने । जस्तैः हरेक दिन कम्तीमा ४५ मिनेट जति हल्का पसिना आउने गरी हिँड्ने वा योगा गर्ने । कुनै न कुनै रुपमा शारीरिक श्रममा सक्रिय भए पनि हुन्छ ।
•    उँचाइ अनुसार तौल कायम राख्न ध्यान दिने ।
•    प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने ।
•    चुरोट, बिडी, तमाखु, खैनी, जर्दा आदि सूर्तीजन्य पदार्थहरुको सेवन नगर्ने ।
•    ४० वर्ष नाघेका मानिसले नियमित स्वास्थ्य परीक्षण गर्ने ।
•    बच्चालाई दुई वर्षको उमेरसम्म आमाको स्तनपान गराउने ।

मधुमेहलाई कसरी नियन्त्रणमा राख्ने ?
मधुमेहको किसिम, बिरामीको अवस्था तथा दैनिक कामको प्रकृति आदिलाई ध्यानमा राखी यसको उपचार गरिने भएकाले बिरामीहरुले विज्ञ चिकित्सकको परामर्श लिनु जरुरी हुन्छ । संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकता अनुसारको सही औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ ।

संयमित खानपान
•    मधुमेह रोगीले आफ्नो खानाबारे थाहा पाइराख्नुपर्छ । मधुमेह रोगीहरुले निम्न प्रकारका खानामा ध्यान दिनुपर्छ:
•    कार्बोहाइड्रेटयुक्त खाना जस्तै: भात, आलु कम खाने ।
•    चिल्लो वा बोसो नभएको मासु खाने तर रातो मासु धेरै नखाने ।
•    अण्डा र ताजा माछा ठिक्क मात्रामा खाने ।
•    ताजा सागसब्जी, बन्दा, काउली, काँक्रा, भन्टा, गोलभेंडा, मुला, गाँजर,प्याज र फलफूल पर्याप्त खाने ।
•    अमिलो अचार खाने ।
•    झोल वा सुप खाने ।
•    नुन कम खाने ।
•    चिनी कम भएको चिया वा कफी कम मात्रामा पिउन सकिन्छ ।
•    तरकारी पकाउँदा तोरी अथवा भटमासको तेल कम मात्रामा खान हुन्छ ।
मधुमेहका बिरामीले बढी फाइबर पाइने गहुँ, मकै, कोदो, फापर आदिबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ । भात खानै नहुने त होइन, तर गहुँ, कोदो, मकै आदिबाट निर्मित खानेकुरा खाँदा शरीरमा कार्बोहाइड्रेटको मात्रा केही कम भई रगतमा चिनीको मात्रा पनि घट्न सक्छ ।
यस्ता खानेकुरा सकभर नखाने
•    चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुरा जस्तै: चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेय पदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यु, तारेको वा भुटेको खाना ।
•    बियर, रक्सी जस्ता अल्कोहलयुक्त पदार्थ सेवन नगर्ने ।
•    चुरोट, बिँडी, सुर्ती, तमाखु, खैनी, जर्दा आदि सुर्तीजन्य पदार्थको सेवन नगर्ने ।
•    लामो समयसम्म भोकै नबस्ने ।
•    व्रत नबस्ने । यसो गर्दा रगतमा चिनीको मात्रा घट्न गई बिरामी बेहोश पनि हुन सक्छ ।
शारीरिक व्यायाम
मधुमेहका बिरामी शारीरिक रुपमा सक्रिय रहनुपर्छ । हरेक दिन कम्तीमा ३० मिनेटदेखि १ घण्टासम्म हल्का पसिना आउने गरी हिँड्ने, खेतबारीमा काम गर्ने, साइकल चलाउने, पौडी खेल्ने जस्ता खेलकुद गतिविधिमा सहभागी हुने क्रियाकलाप नियमित रुपमा गरेमा मधुमेह नियन्त्रण हुने मात्र नभई तौल, उच्च रक्तचाप र रगतमा चिल्लोपना नियन्त्रण गर्न मद्दत पुग्छ ।
नियमित स्वास्थ्य परीक्षण
•    तौल, रगतमा चिनीको मात्रा र रक्तचापको नियमित जाँच गर्ने ।
•    कम्तीमा वर्षको एकपल्ट आँखाको नानी फुलाएर आँखाको जाँच गर्ने ।
•    गोडाको नियमित जाँच (फुटेको, घाउ, चोटपटक लागेको) गर्ने ।
•    वर्षको कम्तीमा एकपल्ट पिसाबमा एल्बुमिन तथा माइक्रो एल्बुमिनको जाँच गर्ने ।
•    चिकित्सकको परामर्शमा वर्षको २/४ पटक दुई-तीन महिनाको अन्तरालमा रगतमा सुगरको अवस्थाबारे जानकारी दिने ग्लाइकाटहेमोग्लोबिन (Glycatedhaemoglobin) तथा एचबिएबनसी (HbA1C) को वा एबानसीको जाँच गर्ने ।
•    कम्तीमा वर्षको एक पटक रगतमा मृगौला सम्बन्धी युरिया र क्रिएटिनिनको परीक्षण गर्ने ।
•    कम्तीमा वर्षको एक पटक रगतमा भएको बोसोको मात्राको जाँच गर्ने ।
यी नियमित परीक्षणका साथै चिकित्सकसँगको सल्लाहमा आवश्यक अन्य जाँच पनि गर्नुपर्छ । जस्तैः मुटुको इसिजी र दाँतको जाँच पनि गर्नु वेश हुन्छ ।
मधुमेहको उपचार
•    मधुमेहको उपचार लामो र केही जटिल भएकोले विज्ञ चिकित्सकको निरन्तर सम्पर्कमा रहनुपर्छ ।
•    मधुमेहका रोगीहरुलाई झाडापखाला लागेर पुनर्जलीय उपचार गर्नुपरेमा ग्लुकोजरहित आइभी फ्लुड वा अन्य पुनर्जलीय झोल खान दिनु वेश हुन्छ ।
•    मधुमेह विरुद्धको चक्की औषधिले नियन्त्रण नभएमा चिकित्सकको सल्लाह अनुसार इन्सुलिन पनि दिनुपर्ने हुन सक्छ ।
आकस्मिक अवस्थाहरु
रगतमा चिनीको मात्रा कम हुने अवस्थालाई आकस्मिक अवस्था मानिन्छ । त्यस्तो अवस्था यस्ता मानिसमा देखिने गर्छ :
•    भर्खर जन्मेका बच्चाहरुमा, कुपोषित अवस्थामा, चिनी रोगको उपचार गराइरहेका व्यक्तिहरुमा, औलो ग्रसित बच्चाहरुमा ।
•    थोरै खाएर यात्रा गर्नेहरुमा, धेरै शारीरिक परिश्रम गर्ने, गर्मी ठाँउमा बस्ने, रक्सी खाने, तनावमा रहनेहरुलाई पनि रगतमा चिनीको मात्रा कम हुन सक्छ ।
•    तुरुन्त उपचार नपाएमा यस्ता बिरामीको मृत्यु पनि हुन सक्छ ।
रगतमा चिनीको मात्रा कम हुँदाका लक्षणहरु
•    धेरै भोक लाग्नु, शरीरमा कम्पन छुट्नु
•    रिंगटा लाग्नु, मुर्छा पर्नु, पसिना आउनु
•    पेट दुख्नु, बान्ता हुनु
•    नवजात शिशुहरुमा मुर्च्छा पर्ने समेत हुन्छ ।
उपचार
•    नसाबाट वा मुखबाट ग्लुकोजको मात्रा पुर्‍याउने ।
•    आवश्यकता अनुसार औषधि वा इन्सुलिनको मात्रा थप गर्नुपर्ने हुन सक्छ ।
रगतमा चिनीको मात्रा बढी हुने अवस्था
यो अवस्थालाई अनियन्त्रित मधुमेह भनिन्छ । मधुमेह रोग लागेर संक्रमण भयो भने यो अझ जटिल बन्छ ।
उपचार
•    प्रशस्त मात्रामा चिनीरहित झोलिलो पदार्थ दिने ।
•    नशामार्फत नर्मल सलाइनको सुई दिने ।
•    इन्सुलिनको व्यवस्था गर्ने ।
•    यो अवस्था गर्भवती र प्रसव अवस्थामा बढी खतरनाक हुने भएकाले त्यसतर्फ ध्यान दिनु उचित हुन्छ ।
(ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा. पन्थी बङ्गलादेशको प्रधानमन्त्री स्वर्ण पदकद्वारा गतवर्ष सम्मानित भएका हुन् ।)

प्रतिकृया दिनुहोस
ad