
काठमाडौं । लियोनल मेसीले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बुधबार राति फ्रेन्च लिग वानमा मोन्टपेलियरलाई ३–१ ले हराएको छ । तर, काइलियन एमबाप्पेको चोटका कारण पीएसजीका लागि उक्त जित महँगो बन्यो ।
पीएसजीले नवौँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । एमबाप्पे पेनाल्टी प्रहारमा गोल गर्न चुके ।
२१औँ मिनेटमा एमबाप्पेको खुट्टामा चोट लागेपछि मैदान छाड्नु परेको थियो । पीएसजीका फरवार्ड क्रिस्टोफर गाल्टियरका अनुसार एमबाप्पेको घुँडामा चोट लागेको छ ।
पीएसजीले च्याम्पियन्स लिगको अन्तिम–१६ मा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखसँग खेल्दै छ । उक्त खेलमा एमबाप्पे उपलब्ध हुन्छन्/हुँदैनन् भन्ने चिन्ता पीएसजीलाई छ ।
पाहुना टोली पीएसजीले ३५औँ मिनेटमा किकि कोयाटेको गोलबाट अग्रता लिएको थियो । तर, भिडियो सहायक रेफ्री (भीएआर)ले उक्त गोललाई अफसाइड घोषित गरिदिएको थियो । ५२औँ मिनेटमा आच्रम हाकिमीले गरेको गोललाई पनि भीएआरले अफसाइड घोषित गरिदिएको थियो ।
अन्ततः ५५औँ मिनेटमा फाबियन रुइजको गोलबाट पीएसजीले अग्रता लिन सफल भयो । ७२औँ मिनेटमा मेसीले अग्रता दोब्बर बनाए । ८९औँ मिनेटमा अर्नाउद नोर्दिनको गोलबाट मोन्टपेलियरले पुनरागमनको प्रयास गरेको थियो । तर, इन्ज्युरी समयमा वारेन जैरे–इमेरेले अर्को गोल थपेपछि पीएसजीले तीन अंक पक्का गरेको हो ।
जितसँगै पीएसजीले २१ खेलबाट ५१ अंक जोडेको छ । त्यो दोस्रो स्थानको मार्सेभन्दा पाँच अंकले माथि हो । मार्सेले मंगलबार राति नान्टेसलाई २–० ले हराएको थियो । पराजित मोन्टपेलियर २० अंकका साथ १४औँ स्थानमा छ ।