site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

राज्य धर्मनिरपेक्ष हुनुको अर्थ आस्था जोडिएका पुरातात्विक, सांस्कृतिक सम्पदाप्रति सरकार उदासीन हुनु त होइन । विडम्बना, नेपालमा भने हिन्दु राज्य हुँदाजस्तै अहिले पनि पुरातात्विक सम्पदाको उपेक्षा कायमै रहेको छ । 

हालै गोरखाको चुमनुब्री गाउँपालिका -२ ह्लो गाउँको करिब दुई सय वर्ष पुरानो हिनाङ पुङ्जे गुम्बा आगलागीबाट ध्वस्त भयो । गुम्बामा रहेका अमूल्य पुराना मूर्ति तथा  ग्रन्थहरू नष्ट भएको बताइएको छ । 

केही साता पहिले डोल्पाको गाकार गुम्बाबाट ६ वर्षअघि हराएको पुरातात्त्विक महत्त्वको कास्यमूर्ति चीनमा लिलामीमा राखिएको समाचार सार्वजनिक भएको थियो । गाकार गुम्बामा लुटपाट भएको सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको बताइएको छ । 

पञ्चायत कालमा धेरै मन्दिरहरूबाट मूर्ति चोरिए । मूर्ति चोरीमा तत्कालीन शासनका हर्ताकर्ता नै संलग्न रहेको चर्चा भए पनि कोही समातिएनन् । नेपालबाट हराएका मूर्तिहरू अहिले संसारका धेरै धनी देशहरूमा पुर्‍याइएका छन् ।
 
पुरातात्त्विक महत्त्वका वस्तुहरूको चोरी र तस्करीमा संलग्न गिरोहको कुदृष्टिबाट गुम्बाहरू जोगिन सम्भव थिएन । त्यसमाथि अधिकांश प्राचीन गुम्बाहरू त झन् तस्करहरूको गिरोहका लागि अपेक्षाकृत सजिलो हुने दुर्गम ठाउँमा छन् ।

मन्दिर, गुम्बा, गुरुद्वारा, मस्जिदलगायत देशका सबै प्राचीन पुरातात्त्विक महत्त्वका सम्पदाको अभिलेखीकरण तथा सुरक्षामा तत्काल ध्यान नदिए ठूलो क्षति हुने जोखिम बढेर गएको छ । छिमेकी देशमै तस्करी हुन थालेपछि स्थिति झन् भयावह भएको छ ।

भौतिक संरचनाको पुनःनिर्माण हुनसक्ला तर अमूल्य प्राचीन सम्पदा नष्ट भयो भने त नेपालको मात्र होइन विश्वकै लागि अपूरणीय क्षति हुन्छ । यसैले पनि संरक्षणमा सरकार बढी नै संवेदनशील हुनुपर्थ्यो ।  

भौतिक सम्पदाजस्तै पुरातात्त्विक महत्त्वका मूर्त र अमूर्त सम्पदा पुर्खाले सन्तानका लागि छाडिगएका नासो हुन् । तिनको संरक्षण तथा सके सम्बर्धन गरेर भावि सन्तानलाई सुम्पने दायित्व वर्तमान पुस्ताको हो । 

संसारका धेरै मुलुकमा पुगेका अमूल्य पुरातात्त्विक सम्पदाहरूको खोजी गरेर फिर्ता ल्याउन नेपाल सरकारले विशेष संयन्त्र नै निर्माण गर्नुपर्ने देखिन्छ । साथै, तस्करीमा संलग्न गिरोहलाई दण्डित गर्न अपराध अनुसन्धान पनि गर्नुपर्छ । 

सरकारी अधिकारी र स्थानीय ‘ठालु’हरूको मिलोमतो नभई गुम्बा वा मन्दिरबाट मूर्तिलगायतको चोरी हुनै सक्तैन । यसैले पनि यस्ता अमूल्य सम्पदाको संरक्षणका लागि राज्यले विशेष संयन्त्र बनाउनु अपरिहार्य हुन्छ । सरकार गम्भीर होला त ?


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro