site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । राजधानीको मुख्य पर्यटकीय केन्द्र हो ठमेल । पर्यटकलाई चाहिने सबैजसो सेवासुविधा छन् ठमेलमा । त्यसो त नेपालीहरूका लागि पनि ठमेल मुख्य गन्तव्य नै हो । 
ठमेल भन्नेवित्तिकै मसाज सेन्टरको कुरा आउँछ । यहाँ घरैपिच्छेजस्तो मसाज सेन्टर छन् । ठमेलमा बग्रेल्ती खुलेका मसाज सेन्टरभित्र मसाजमात्रै हुँदैन, यौन धन्दा पनि हुन्छ । साँझपख ठमेल छिर्नुभयो भने तपाईं चोक–चोकमा मसाजका लागि ग्राहक खोज्ने दलाल भेट्नुहुन्छ । उनीहरूले ‘होटल चाहिन्छ ? मसाज गर्न जाने हो ?’ भन्दै ग्राहक बटुल्छन् । प्रहरीका अनुसार उनीहरू मसाज सेन्टरमा ग्राहक पुर्याउने दलाल हुन् । मसाजभित्र हुने ‘अन्य’ गतिविधिका कारण ठमेलका मसाज सेन्टर र स्पा बदनाम छन् । प्रहरी नै भन्छ– “बाहिर मसाज सेन्टरको बोर्ड राख्ने अनि भित्र रोजीरोज युवतीहरूसँग मस्ती ।”
मसाज सेन्टरमा हुने अवैध यौन गतिविधि रोक्न भन्दै प्रहरीले विभिन्न समयमा अभियान चलाउँदै आएको छ ।  हालैमात्र ११ वटा मसाज सेन्टर बन्द गराएको छ । ५ जना मसाज सेन्टर सञ्चालकलाई पक्राउ गरेको छ, यीमध्ये २ जनालाई मानव बेचबिखनको मुद्दा नै चलाएको छ । मसाज सेन्टरमा ग्राहक बटुल्ने ७२ जना दलाल पनि प्रहरीको फन्दामा परेका छन् । 
ठमेल क्षेत्रमा अहिले ३९ वटा मसाज सेन्टर सञ्चालित छन् । प्रहरीका अनुसार यीमध्ये केहीले मात्र मसाजको मात्रै काम गरेका छन् । “ठमेल क्षेत्रमा भएका मसाज सेन्टरको प्रहरीले नियमित निगरानी गरिरहेको छ । ५ महिनाको बीचमा मसाज सेन्टरका नाममा यौन धन्दा चलाउने ११ वटा मसाज सेन्टर बन्द गरायौं,” महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डीएसपी सुमेन्द्र राठौरले भने ।
सोह्रखुट्टे प्रहरीले २२ कात्तिकमा मात्रै ठमेलमा लामो समयदेखि बाहिर मसाजको आवरणमा यौन धन्दा चलाउने रमेश श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठले सञ्चालन गरेको सगरमाथा स्पा मसाज सेन्टरबाट १६ जना युवतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । 
श्रेष्ठ र नेचुरल हर्बल सेन्टरका सञ्चालक अर्जुन कार्कीलाई मानव बेचबिखनको मुद्दा चलाएको डीएसपी राठौरले बताए । “गाउँका सोझा बेरोजगार युवतीलाई मोटो रकमको लोभ देखाएर काठमाडौं ल्याउने र मसाज सेन्टरमा केही दिन राम्रोसँग काम गर्न लगाउने अनि यौन धन्दामा लगाउने उनीहरूको काम हो,” डीएसपी राठौरले बाह्रखरीसँग भने, “पीडित युवतीले उजुरी गरे उनीहरूविरुद्ध मानव बेचबिखनको मुद्दा चल्छ ।” 
यसरी यौन धन्दामा लगाइन्छ युवतीलाई
प्रहरीका अनुसन्धान अधिकारीहरूका अनुसार मसाज सेन्टरमा काम गर्ने युवतीहरू अधिकांश गाउँबाट आएर प्लस टु पढ्नेहरू हुन्छन् । उनीहरूलाई केही दिन मसाजमा काम लगाइन्छ र मनस्थिति बुझेर अन्य धन्दामा लगाइन्छ । 
मसाज सेन्टर सञ्चालकहरूले महिनावारी तलब दिएरै ग्राहक जम्मा गर्ने दलाल र ट्याक्सी चालकलाई पनि सम्पर्कमा राख्छन् । 
यस्ता मसाज सेन्टरमा आउने ग्राहक दुई प्रकारका हुन्छन्, नियमित र पटके । नियममित ग्राहकसँग १ हजारदेखि १५ सय रुपैयाँ लिने गरिन्छ भने पटके ग्राहकसँग १५ सयदेखि २५ सयसम्म लिने गरेको पाइएको प्रहरीले जानकारी दियो । 
 
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १६:५१
प्रतिक्रिया दिनुहोस्