विशेष
काठमाडौं ।तपाइँले बैंकबाट एटीएम सेवा लिनु भएको छ ? सजक रहनुहोस् ! एटीएम सेवा लिएर एसएमएस सेवा लिनुभएको छैन भने त्यो पनि लिइहाल्नुस् । तपाइँको खाताको पैसा जतिबेला पनि रित्तिन सक्छ ।
काठमाडौंमा एटीएम ह्याकरहरुको बिगबिगी बढेकाले प्रहरीले तत्कालै पिन कोड परिवर्तन गरेर सजक रहन आग्रह गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक महिनाको अवधीमा दुई पटक गरी ४ जना एटीएम ह्याकरलाई पक्राउ गरिसकेको छ । प्रहरीले उनीहरुको साथबाट एटीएम ह्याक गर्ने सम्पूर्ण सामग्री पनि बरामद गरको छ ।
गत शुक्रबार प्रहरीले काठमाडौंको ठमेलबाट रोमानियाका ३ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा जिता हुजुन, इओसिफ मोरारु, एलुक्स क्रिस्टेइन रहेका छन् । उनीहरुको काम भनेकै पर्यटक भिषामा नेपाल आउने र नेपालमा बसेर अरुको पीन नम्बर चोरी गरी एटीएमबाट पैसा निकाल्ने हो ।
“नेपालमा एटीएम ह्याकरको बिगबिगी छ, बैंकको मात्रै भर गर्ने होइन, आफ्नो खाताको सुरक्षा आफैँ पनि गर्न जरुरी छ,” प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, “एटीएम प्रयोगकर्ताले २४ घण्टाको अन्तरमा आफ्नो पीन कोड परिवर्तन गर्दा राम्रो हुन्छ ।”
उनले एटीएम सेवा लिएर बैंकिङ सेवा नलिनेहरुलाई पनि लिन आग्रह गरेका छन् । बैंकिङ् सेवा लिँदा तत्कालै थाहा पाइने हुनाले प्रहरीले यस्तो आग्रह गरेको हो ।
ब्यूरोको टोलीले गत शुक्रबार काठमाडौंको ठमेलबाट पक्राउ गरेका तीन जनालाई सोमबार सार्वजनिक गरेको छ ।
ब्युरोको टोलीले उनीहरुको साथबाट ३ लाख ८ हजार रुपैयाँ, १० हजार युरो, ३ सय ५३ वटा एटीएम, हिडन् क्यामेरा, नक्कली एटीएम नम्बर कि प्याड लगायतका सामग्री बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरु करिव डेढ महिना पहिले पर्यटक भिषामा नेपाल आएका थिए । “उनीहरुले धेरै नेपालीको एटीएम विवरण विदेश भएको संजाललाई पास गरेका हुन सक्छ,” ब्यूरोका डीआईजी सिलवालाले भने, “संगठित रुपमा हुने एटीएम ठगी रोक्न सबै चनाखो हुनुपर्छ ।”
उनकाअनुसार नेपालमा ३५ लाखको हाराहारीमा विभिन्न बैंकहरुले एटीएम कार्ड वितरण गरेका छन् ।
यसरी गर्छन् चोरी
एटीएम ह्याकरको निसानामा काठमाडौंको पर्यटकीय नगरी ठमेल क्षेत्र पर्ने गरेको छ । ब्यूरोको टोलीले यसअघि पनि ठमेल क्षेत्रबाट बुल्गेरिएन नागरिकलाई पक्राउ गरेको थियो ।
शुक्रबार पक्राउ परेका तीनजना रोमानियाका नागरिकको पनि पिन चोरी गर्ने तरिका उस्तै छ । उनीहरुसँग पिन चोरी गर्ने सम्पूर्ण उपकरणहरु पनि छन् । प्रहरीकाअनुसार पक्राउ परेका दुई जना इओसिफ मोरारु, एलुक्स क्रिस्टेइन कम्प्युटर इन्जिनियर हुन् भने जिता हुजुन ह्याक गरेको एटीएमबाट रकम झिक्ने व्यक्ति हुन् ।
अनुसन्धानअधिकारीका अनुसार उनीहरुको रोजाई ठमेल क्षेत्रका एटीएम बुथहरु नै हुन् ।
बिहान मानिसहरुको चहलपहल सुरु नभएका बेला एटीएम बुथहरुमा पस्ने, एटीएम बुथभित्र कसैले थाहा नपाउने गरी एटीएम मेसिनभित्र विभिन्न डिभाइस राख्ने अनि साँझ पख गएर त्यो डिभाइस निकालेर होटलमा गएर मेसिनमा राखी पिन नम्बर उतार्ने र अर्को एटीएममा त्यो विवरण भरेर काठमाडौंका विभिन्न ठाउँमा गएर रकम निकाल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीकाअनुसार पहिला एटीएम ह्याकरले नेपाल बाहिरबाट विभिन्न व्यक्तिको एटीएम कार्डको पिन नम्बर चोरी गरेर नेपाल आएर रकम निकाल्ने गरेका थिए भने अहिले नेपालीहरुको विवरण चोरी गरी विदेश गएर पनि नेपालीको रकम चोरी गर्ने गरेको प्रहरी आशंका छ ।
प्रहरी तथ्यांकअनुसार नेपालमा पक्राउ परेका एटीएम ह्याकर रोमानिया र बुल्गेरियाका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३ १७:३५
प्रतिक्रिया दिनुहोस्