site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
फोहोरकी ‘करिष्मा’

– अक्षर काका


“ऊ त करिष्मा हो करिष्मा !”

“हैन नेता, नेता !”

KFC Island Ad
Dabur Nepal
NIC Asia

पटपटी फुटेका कुर्कुच्चा । त्यसमाथि लपक्कै फोहोर । नाक टट्याउने दुर्गन्ध नै जीवनको प्राणवायु हो । यसैले त धानेको छ– सास !

मध्याह्नको १२ बज्यो । टाउकामाथि आइपुग्यो घाम पनि । गर्मीले तालु बगर तुल्याएको छ । मंसिरमासमा धाँजा फाटेका खेतझैं कलेटी परेका छन् ओठ ।

चर्को धूप ! प्यासले व्याकुल तुल्याएको छ– एक अम्खोरा पानी सासै नफेरी रित्याऊँजस्तो !

टेक्न मिल्ने एक पाइला जमिन छैन । एकछिन उभियो, अमिलो राग कण्ठभित्र पस्छ । पेट उमेठेर उल्टी आउलाजस्तो हुन्छ । रिंगटाले फनफनी घुमाएको छ । कसरी काम गर्न सकेको होला यस्तोमा ! उफ् !!

ओठमा बाक्लो लिपिस्टिक । कोष ढाक्ने गाजल । शिरमाथि छड्के क्याप । आँखामाथि गुलाबी ‘आइस्याडो’ । लुगाको बान्की उस्तै । फोहोरको दुर्गन्धले पनि आदिम सौन्दर्यको मानकलाई छाया पारेको छैन ।

“ऊऽऽ गाडी आइसक्यो, कति बस्या होला ! अरूले बटुलिसक्छन्, अनि खान्छौ ठूलो भाग !” उनले श्रीमान्लाई बेस्सरी हकारिन् । निचोरिएको कागतीझैं अनुहार लिएर श्रीमान् काममा हाजिर हुन्छन्, तुरुन्तै ।

उमेरमै तिलचामल कपाल । काँसझैं छुस्स दाह्री पनि फुलेछन् । घामले डढेर अँगारतुल्य छन् हातपाउ । अनुहार उस्तै श्यामल । पिठ्युँमा उचालिनसक्नुको बोरा बोकेका थिए, श्रीमान्ले ।

“बुझ्नुभो दाइ ! काठमाडौंबाट आएको गाडीलाई नछोप्ने हो भने प्लास्टिकले बोरा भरिँदैन । प्लास्टिकले बोरा भरिएन भने पेट कसरी भरिनु ?” टीठलाग्दो देखिइन् उनी ।

हेर्दाहेर्दै फोहोर बोकेका दुइटा ट्रकले फोहोरको पहाडमा मुख सोझ्यायो । फोहोरैमाथि माटो हालेर सम्याइएको बाटो चढ्न ट्रकलाई केही सकस भएथ्यो । तीनफेर चक्का माटोमा धस्सिएपछि बल्ल गुडेको जनाउ दिए, दुवैले ।

खुला चौरमा आइपुगेपछि ट्रकले धूवाँको मुस्लो छाड्यो । उकालो बाटो छिचोल्दा निकै कष्ट भएथ्यो होला । लामो सास फे¥यो । एकछिनका लागि किन नहोस्, त्राण पायो उसले ।

युद्धग्रस्त अफ्रिकी मुलुकहरूमा खाद्यान्न बाँडिरहेका राष्ट्रसंघका ट्रकअघिल्तिर मान्छेहरू झुम्मिएको तस्बिरमा देख्न पाइन्थ्यो । अनेक किस्सा सुन्न पाइन्थ्यो । फोहोर बोकेको गाडी छोप्न हुर्रिएका मानवभीडले त्यो दृश्य–कहानीलाई समेत ओझेल पार्‍यो ।

‘करिष्मा’ अर्थात अञ्जु सेढाईंले त्यसरी फोहोर छोप्न थालेको एक दशक नाघ्यो । फोहोर केलाउन शुरू गर्दा नवदुलही थिइन् । अहिले त सन्तान पनि जेठमासको मकैझैं हर्लक्क हुर्किइसके । कान्छो छोरो नै ढुन्मुनिँदै फोहोरको डंगुर उधिन्न आउने भइसके ।

“भर्खर २७ वर्ष त भएँ !” ओठमा नूतन हाँसो छाउँछ ।

“२७ वर्षमै चार सन्तान ! बाफ् रे !” पर्यावरणमा ठूलो हाँसो खलबलिन्छ ।

“१३ वर्षमै भागियो । बर्सेनि जन्मिइहाले,” यसपटक चाहिँ मजाले हाँसिन् उनी ।

० ० ०

काठमाडौं उपत्यकाको फोहोरको दुगन्र्धमा आकण्ठ जाकिनुपर्ने गरी ओखरपौवाबासीले के अपराध गरे होलान् ?

यो प्रश्नको उत्तर काठमाडौं महानगरपालिकासँग छैन । न त महानगरबासीसँगै छ । तर, ओखरपौवाबासीले काठमाडौंको फोहोर सिरानी हालेको र दुर्गन्धसँग लुकामारी खेलेको जुग बितिसक्यो ।

यस्तो लाग्छ— काठमाडौं उपत्यकाको फोहोरले ओखरपौवाबासीको बासमात्रै दुर्गन्धित तुल्याएको छैन, साससमेत अतिक्रमण गरेको छ । बदलामा ओखरपौवाबासीले केही पाएका छैनन् । जीवनभरलाई पुग्ने दम, खोकी, आँखा–चर्म रोगशिवाय ।

घर–घरमै व्यवस्थापन गर्न सकिने फोहोर डाँडापारिसम्म ल्याएर महानगरले दशगाउँ रोगी किन बनाएको होला ? सम्झँदा पनि जिउ सिरिंग हुन्छ । अस्थायी नै किन नहोस्, महानगरबासीको हैसियतले यसको धेरथोर जिम्मेवारी मैले पनि लिनुपर्ने त होला !

“के गर्नु दाइ, तपाईंहरूभन्दा हामी १० वर्ष पहिला मर्छौं । बाँचुन्चेल छोराछोरीलाई खानलाउन दिनुपरिहाल्यो !” आगोको फिलिंगोजस्तो रापिलो सूर्यको तेजलाई कालो बादलले ढाकिदिन्छ । वातावरणमा उस्तै गोधूली छाउँछ ।

“परालको थुप्रोजस्तो झुप्रो घर थियो, त्यो पनि भूकम्पले आहार बनाइहाल्यो । गरिबको भागमा पर्ने यस्तै आपदविपद त हो,” एवम् रितले दुःख सुनाउँछिन् उनी ।

मस्तिष्कमा विम्ब कुँदिएको थियो– काठमाडौं सुन्दर सहर । त्यहाँ बस्ने मान्छे उस्तै सभ्य र सुन्दर हुन्छन् ।

हातपाखुरामा भकारो गन्हायो भने पुपुर्रामा हात ठोक्काएर आफैंलाई सराप्थें, “के गर्नु—काठमाडौंमा बसेर खाने भाग्य गर्भमै छाडेर आइस् ।”

डाँडापल्लोपट्टिको काठमाडौं खाल्डो टेक्ने भाग्य कहाँ ! उनीहरू काठमाडौं त जान पाएनन् तर ०६२ सालमा काठमाडौंको फोहोरचाहिँ उनीहरूको दैला–दैलामा पुग्यो । दुर्गन्धले चुल्हाचौकामा साम्राज्य खडा गर्‍यो । सिंगै ओखरपौवा लिचेड (फोहोर सडेर निस्कने तरल पदार्थ)को अधिराज्य भयो ।

फोहोरको दुर्गन्धका कारण रोगव्याधी भाग्यमै लिएर जन्मिए । वृद्ध–बालखमात्रै होइन, बलियाबांगालाई समेत रोगले गाँज्न थाल्यो । किलै मासिने गरी पशुचौपाया भकाभक मर्न थाले । नवशिशु गर्भमै रोगको भारी बोकेर जन्मिन थाले । भनौं न, दुर्दिन देख्न धेरै दिन पर्खनु परेन ।

सिसडोलमा थुप्रिएको फोहोर–मैलाले ओखरपौवाको पर्यावरण धमिलिएपछि पो उनीहरूले चाल पाए– सुग्घरी भनिएका काठमाडौंबासी अवर्णनीय फोहोरी पो रहेछन् ! मन्दिरैमन्दिर, टुँडालको सहर काठमाडौं कतिबेला बदलिएर फोहोर र दुर्गन्धको उपमा पो बनिसकेछ !

अहिले उनीहरूलाई काठमाडौंको फोहोर काउसोको माला भएको छ । फोहोर फाल्न नदिऊँ, सिसडोलमा फोहोरको ‘सगरमाथा’ खडा भइसक्यो । दिऊँ, रात–दिनको गन्धले प्राण कतिबेला निल्ने हो, टुंगो छैन ।

तर, १३ वर्ष काठमाडौं उपत्यकाबासीको फोहोर–मैलासँग अंकमाल गरेकाले होला— झन्डै ४० परिवारलाई त्यही फोहोर पेट पाल्ने गर्जो बनेको छ । काठमाडौंमा दुई दिन फोहोर उठेन भने उनीहरूलाई भोक–निद्रा लाग्दैन, “भरे के खाने होला ?” चिन्ताले पिरोल्न थाल्छ ।

ती ४० परिवार काठमाडौंबासीले गाडीमा हालेर फाल्न पठाएको फोहोरलाई मोहोरमा बदल्छन् । किलोको १२ रुपैयाँका दरले बेचेर चुल्हो तताउँछन् ।

काठमाडौंको फोहोर ढोकामै आउने भएपछि ओखरपौवाबासीलाई आस थियो— सिंहदरबारकै फोहोर आँगनमा आउँदैछ, मन्त्री, प्रधानमन्त्री, राजाको गाउँ पनि हो त्यो । सरकारले पक्कै हेर्छ । “सरकार प्रमुखकै फोहोर स्याहार्न पाउने हामी ‘भाग्यमानी’ सावित पो हुने हौं कि ?” मनमा भरोसाले हाँगा नहालेको होइन ।

१३ वर्षसम्म सिसडोलको डाँडा भत्काएर फोहोर थुपार्ने, दुर्गन्ध फिँजाउने र क्षीरनदीतुल्य कोल्पुखोला मैलाउनेबाहेक सिंहदरबारले केही गरेन ।

“सरकारले त हामीलाई तिरस्कार पो गर्‍यो,” अञ्जुका आँखा आँसुका तलाउमा डुबुल्की मार्छन् ।

० ० ०

कोल्पुमा हिजो ‘दूध’ बग्थ्यो । आज लिचेडको नदी बनेको छ । एकछाक भात खान नपाए पनि ताजा हावा त खान पाइन्थ्यो । त्यो पनि दुर्गन्धले निलिहाल्यो । ओखरपौवाबासी ‘लोभले लाभ, लाभले विलाप’ गर्ने ग्राम्य–कहावतको लौकिक पात्र बनेका छन् ।

तीन महिनापछि सिसडोलको ल्यान्डफिल साइट भरिँदैछ । महानगरले फोहोर पुरपार गरेर बोटबिरुवा लगाउला पनि । तर, १३ वर्षदेखि ओखरपौवाबासीको छातीमा थुप्रिएको ‘दोख’को इलाज कसले गरिदिने ?

सिसडोल क्षेत्र फोहोरले भरिन थालेपछि अञ्जुका भने ओठमुख सुक्न थालेका छन् । “कदाचित बञ्चरे डाँडामा ल्यान्डफिल साइट बन्यो भने त्यहाँ प्लास्टिक टिप्न नदिने भनेका छन् !” आँखामा विस्मयभाव छाउँछ । अनुहार सोहोरिन्छ अञ्जुको ।

फोहोर फाल्न आउनुपूर्व महानगरले स्थानीयलाई जागिर दिने वचनबद्धता व्यक्त गरेको थियो । समय बित्दै जाँदा महानगरले सिसडोललाई फोहोरको तारेभीरमात्रै बनायो ।

“महानगरले दिने जागिरको आश थिएन । फोहोर टिपेर बालबच्चालाई बाटो देखाउन पाएका थियौं, त्यही पनि बन्द हुने भयो,” चिसा आँखा लिएर उनी पुनः फोहोर टिप्प थालिन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro