साहित्य
बग्नु नदीको विशेषता हो । यसकारण कि त्यो उसको नियमितता हो । अवरोधको आकस्मिकता पन्छाएर अग्रप्रवाहसँगै सागरको नीलिमा चुम्नु उसको चरित्र हो ।
केही नदीमा पानीसँगै जीवन पनि बगिरहन्छ ।
इन्द्रावतीमा सदियौंदेखि निमुखा माझी, दनुवारहरूको पसिनाका थोपा बगेका छन् । र त, त्यसको रङ निख्खर नीलो छ, आजसम्म ।
इन्द्रावतीको भँगालोलाई अँगालोमा बेर्दै रह र दहमा जाल फ्याँक्नु, पानीसँग निर्मम सिँगौरी खेल्दै दुवाली फर्काउनु, ढडिया, बल्छी थाप्नु र उदयाचलदेखि अस्ताचलसम्म इन्द्रावतीको बरदानस्वरूप जे–जति माछा, गँगटा हात लाग्छन्, तिनैले घरको चुल्हो जगाउनु ती माझीहरूको दैनिकी हो, आजपर्यन्त ।
साहु–महाजनहरूको बिरौटा बिराएर मात्रै मुखमा माड नलागेपछि इन्द्रावतीको भंगालो तेर्स्याएर हिउँदे घट्ट थाप्ने होस् या डुंगा खियाएर बटुवाहरूलाई नदी तारेर– उनीहरू जीवनमा जीजिविषा साँच्छन् ।
जीवनयापनका नवीन साधनहरूको खोजीमा यायावरी गर्नुको सट्टा त्यही इन्द्रावतीका पाखापखेराको भरोसामै दुःखी जीवन बिताउने तिनै माझीहरूको अन्त्यहीन कथा लेखे रमेश विकलले ।
‘अविरल बग्दछ इन्द्रावती’ त्यही दुःखी कथा हो । सिपाघाटदेखि दोलालघाटसम्म बसोबास गर्ने माझीहरूको जीवन हो ।
० ० ०
वारि चन्डेनीमण्डन, पारि भीमटार । तल लमतन्न ज्वानेटार, जोगीटार । त्यहीँ धूलीमाटी खेलेर हुर्किए माझीहरू । काठमाडौँको आरुबारीमा जन्मिएका विकलको ससुराली गाउँ हो चन्डेनीमण्डन । वि.सं. १९८५ मा जन्मिएका विकल ११ वर्षकै उमेरमा विवाह गर्न पुगेका थिए मण्डनटार । ससुराली गाउँमा बाक्लै आउजाउ गरेका विकलले माझीका दुःख र पीरमर्का नजिकबाट अनुभूत गरे ।
वारि काभ्रे, पारि सिन्धुपाल्चोक । बीचमा अविरल बगिरहेको नागबेली इन्द्रावती । उतिबेला भीमटारका थापा काजीको उस्तै दबदबा थियो । डाँडाकाँडा र सेरोफेरो नै बिर्ता पाएका काजी खलकले त्यहाँका सोझा माझी दनुवारहरूलाई मान्छे नै गन्दैनथे । तिनै काजीको खोरिया, बिरौटा अधियाँमा कमाएर हातमुख जोरेका माझीहरूको दुःखले उनलाई पिरोल्नुसम्म पिरोल्यो ।
पाथी अन्नमा वर्षभरि डुंगा नदीमा हेल्ने र अन्न बुझेका घरका मानिसहरूलाई पारि पुर्याउने माझीहरूको पुर्ख्यौली कर्म हो । त्यसरी नदीमा डुंगा खियाउने माझीमध्ये कतिलाई त इन्द्रावती छालले निल्थ्यो । नांगैभुतुंगै बगर डुल्ने माझी र तिनका लालाबालाको दूरवस्था नै विकलको उपन्यास लेखनको मूल स्रोत हो भन्दा फरक पर्दैन ।
विकलका छोरा विजय चालिसे सुनाउँछन्, “त्यहाँका दीनहीन माझीहरू आरुबारीसम्म कोसेलीपात लिएर आउँथे । बारीमा फलेका कटहर, आँप लिची र फर्सीहरू कोसेली बोकेर आउने माझी दनुवारको दुःख र तिनको याचना देखेर बुबा घण्टौँ घोत्लिइरहनुहुन्थ्यो ।”
त्यसो त आफ्ना ससुराली खलक पनि ठूलाठालूमै दरिन्थे । साला/जेठान राष्ट्रिय पञ्चायत सदस्यमै उठेकाले ससुराली घरतिर पञ्चायतको राम्रै धङधङी थियो । माझीहरू ससुरालीमा पनि आउँथे । बारीमा फलेका फलफूल, खाद्यान्न बोकेर बिन्ती बिसाउन आइपुग्ने बबुरा माझीहरूको दिनचर्याले उनलाई घोच्नुसम्म घोच्यो ।
साहुमहाजनसँग मानो–मुट्ठी मागेर जीविका चलाउनुपर्ने माझीहरूको निरीह याचना नजिकबाट नियालेका विकललाई १९३० को दशकदेखि नै तिनका कथा लेख्ने हुटहुटी जाग्यो ।
र त, विकलले उपन्यासमा भनेका छन्, “इन्द्रावती नदी किनारका धर्ती त्यहाँ रुने, हाँस्ने अस्तित्वका लागि डोलाउने माझीका जीवनलाई मैले नजिकबाट हेरेँ, त्यही स्थूल अभिव्यक्ति हो– उपन्यास ‘अविरल बग्दछ इन्द्रावती ।’
उपन्यास लेखनको मूल प्रेरणाको स्रोत तिनै माझी दनुवारहरू हुन् । सहायक भूमिका खेल्यो– प्रज्ञा प्रतिष्ठानको विद्वद्वृत्तिले । त्यतिबेला एकेडेमीले सर्जकहरूलाई विद्वद्वृत्ति उपलब्ध गराउँथ्यो । त्यसबापत सिर्जना लगेर बुझाउनुपर्ने हुन्थ्यो ।
०३९ सालमा उनले त्यो विद्वद्वृत्ति पाएका थिए । त्यसैले जन्मायो उपन्यास ‘अविरल बग्दछ इन्द्रावती ।’
विजय भन्छन्, “विद्वद्वृत्ति पाएपछि उहाँ एक महिना चण्डेनीमण्डन नै बसेर माझीहरूको जीवनको गहिराइसम्मै पुग्नुभयो ।”
विकलले तिनै माझीको फेरीमा बसेर इन्द्रावतीको बगर डुल्ने होस् या तिनले जम्मा पारेका माछाका भूरासँग कल्पिँदै, आफैंभित्र सिंगो इन्द्रावती प्रवाहित गरे ।
“त्यसबीचमा इन्द्रावरी तटका माझीको दैनिकीलाई नजिकबाट देख्ने र पारि भीमटारका थापाहरूको शोषण उत्पीडनलाई हेर्नुभयो र खेस्रा तयार पार्नुभयो । र, त्यही एक वर्षको अवधिमा उपन्यासलाई आकार दिनुभयो,” विजयले थपे ।
त्यसो त विकलले पनि प्रष्ट्याएका छन्, “यो उपन्यास एकेडेमीले विद्वद्वृत्ति दिएर लेखाएको हो, तर विद्वद्वृत्ति नपाएको भए पनि यो पुस्तक र तिनका कथा लेखिनेथियो ।”
रचनागर्भ र उपन्यासको मूल कथाबारे प्रष्ट्याउँदै विकलले थपेका छन्, “मैले जति पनि लेखेको छु, तिनको पात्र र परिवेश मैले यसै धर्तीका धूलोमा खोजेको छु । त्यसैले मेरा पात्र हावादारी नभई यसै माटोमा खेल्ने, सास फेर्ने जीवन्त पात्र छन् ।”
उपन्यासको पाण्डुलिपि बुझाए पनि एकेडेमीले प्रकाशन गर्न आनाकानी गर्यो । पञ्चायतको दबदबा थियो उतिबेला । उपन्यास नै पञ्चायती शासनका पृष्ठपोषक सिन्धुका थापा खलकको वरिपरि घुमेकाले एकेडेमीले मन पराउने कुरै भएन ।
उपन्यास प्रकाशनको सन्दर्भमा विजय भन्छन्, “त्यतिबेला प्रज्ञा प्रतिष्ठानको उपकुलपति माधवप्रसाद घिमिरे हुनहुन्थ्यो । पाण्डुलिपि बुझाएको तीन–चार महिनासम्ममा पनि उपन्यास प्रकाशन गर्नेबारे एकेडेमीले चासो नदेखाएपछि उपकुलपति घिमिरेले ‘भिटो’ लगाएर प्रकाशन गर्नुभएको हो, उपन्यास प्रकाशनको श्रेय उहाँलाई नै जान्छ ।”
घिमिरेले उपन्यासको भूमिकामा भनेका छन्, “विकलका कथा र उपन्यासका विशिष्टता हुन्– नेपाली समाजको सुधारको साथै मानवताको सन्देश । उपन्यास ‘अविरल बग्दछ इन्द्रावती’ इन्द्रावती नदीकिनारका जनजीवनका जीवन्त कथा हो । यो हाम्रो बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक जीवनको पनि कथा हो र निष्कर्षमा नयाँ सन्दर्भ सुहाउँदो जीवनमूल्यको खोजी ।”
० ० ०
जीर्ण तन र विदीर्ण मन लिएर इन्द्रावती तट डुलिरहेको भूमा विम्बमा त्यहाँको माझी हो । काजी चतुर्भुजसिंह र उनका छोरा त्रिलोचन सिंहले त्यहाँका थापा खलकको प्रतिनिधित्व गर्छन् ।
उपन्यास आँपटार, भीमटार, भाङटार, जोगीटारका अधिकांश जग्गाजमिन तारघाट किपटका रूपमा लालमोहर सनद लिएका थापा खलकको शोषण र उत्पीडनकै पटाक्षेप हो । अधियाँमै पुस्तौँ पुस्ता गुजारेका माझीहरूको औंलो डोब्ने जग्गा नभएको कटु यथार्थ हो त्यो ।
उपन्यासमा त्यहाँका जमिनदार र ठूलाठालूको अमानुषिक, क्रूर र दमनकारी व्यवहार झेलेका निमुखा माझीहरूको हण्डर, ठक्करलाई विकलले इन्द्रावतीझैं सलल बगाएका छन्– जसले इन्द्रावतीको पाषाण बगरमा ठोक्किँदा–ठोक्किँदा धूलोपीठो भएका र तालुकदारहरूको दपेट्याइँमा परेका निमुखा माझीहरूको दुःखदायी व्यथालाई राम्रै न्याय गरेको छ ।
भूमाका छोराहरू भीमे, जैमाने र छोरी लालगेडी त्यसैगरी सोभिते, देबु पनेरू, गिरी मास्टरलगायत पात्रका माध्यमबाट विकलले त्यहाँको दमीत आवाज बोलेका छन् । या भनूँ– तिनैको मुखबाट विद्रोहको आवाज निकालेका छन् ।
दुःखलाई भाग्यको खेल र इन्द्रावतीको भदौरे भेलझैँ अनिवार्य ठान्ने पाका माझीहरू पछिल्ला पुस्तालाई केटौले ठान्छन् र जमिन्दारहरूको तावेदारीलाई नै आफ्नो भाग्य र भविष्य मान्छन् । यसले तुषारे पुसमा तुवाँलोले छोपिएको इन्द्रावतीझैँ माझीका दुःखलाई अझ बाक्लो बनाउँदै लगेको ठम्याउन सकिन्छ ।
आफ्नै घरबाट जमिनदारको विरोधको धूवाँ निस्कन थालेपछि भूमाको मन वेचैन हुन्छ । उपन्यासको मध्ययात्रासम्म हुर्केकी छोरी लालगेडी र कहाँ जान्छन् के खान्छन् भन्ने कुनै टुंगो नहुने दुई भाइछोराको पीरचिन्ताले भूमाको कृष्णवर्ण अझै निख्खर कालो बन्दै गएको प्रतीत हुन्छ ।
उपन्यासमा दुःखका फेहरिस्तमात्र छैनन् । विकलले इन्द्रावतीको कहर र मत्स्यकन्यारूपी माझी युवतीहरूको प्रेमिल रहरलाई पनि उपन्यासको भँगालोमा हुबहु मिसाएका छन् । तिनको निश्चल प्रेम र अन्तरचाहनाका प्रतिविम्बहरू इन्द्रावतीको कञ्चन पानीझैँ उपन्यासमा विम्बित छन् ।
सोभिते र लालगेडीको प्रेमालाप होस् या टीका–धागो र चुरा–पोतेमै यौवन सुम्पन विवश खिनौरीको दूरावस्था, यौन मनोदशालाई विकलले जस्ताको तस्तै उतार्दा माझी युवतीहरूको दमीत प्रेम र अव्यक्त चाहना नदीको पानीझैं सङ्लो देखिएको छ ।
मेलापात, भारोपर्म र ऐंचोपैंचोमा मत्स्यगन्धा मझिनीहरूलाई उपल्लो जात, तह र तप्काकाले गर्ने यौन विकृत दुव्र्यवहारमात्रै होइन, तत्कालीन परिवेशमा दोलालघाट, झ्याडीथान, चण्डिनीथानमा मेला भर्न जाँदा कौमार्य लुटाउनुपर्ने र परपुरुषबाट घिच्चाइएर बिहे गर्नुपर्ने कारुणिकता औपन्यासिक लाग्दैनन् । लालगेडीको रूप र कुमारीत्वलाई आफ्नो अधिकार ठान्ने त्रिलोचन सिंहको गिद्धे दृष्टि त्यहाँका माझी युवतीहरूको जीवन भोगाइको सजीव वर्णन हो ।
उपन्यासको मध्यखण्डबाट भने कथाले बेग्लै मोड लिएको छ । बाजेबराजुको पालादेखि नै आफूले आवादी (भोगचलन) गर्दै आएको काभ्रे पाटोमा काजीले हवेली ठड्याउने तारतम्य मिलाउन थालेपछि भित्रभित्रै सल्किएको विद्रोहरूपी भुसाग्नीले ज्वालाको रूप धारण गर्छ । र, त्यो राँकोले अन्ततः निमुखा माझीहरूलाई नै निल्छ ।
माझीहरूको पुर्खाको छाला काभ्रे पाटोमा हवेली बनाउन विरोधको चोचोमोचो मिलाएको भनेर देबु पनेरू त्रिलोचन सिंहबाट मारिएपछि गाउँलेहरूको दुर्दशा सुरु हुन्छ । विद्रोह दबाउन तत्कालीन प्रशासनले अपनाएको हत्कण्डाको योग्य दृष्टान्त योभन्दा अर्को हुनै सक्दैन ।
देबु पनेरू हत्याको झुटो आरोपमा विद्रोहमा संलग्न सबै युवालाई धरपकड गरिन्छ । प्रहरी हिरासतमा पुगेकी लालगेडीको शेरे हवल्दारमार्फत बलात् बैंस त लुटिन्छ नै, अन्ततः त्रिलोचन सिंहकै कब्जामा पुर्याइन्छ । त्यही वर्ष इन्द्रावतीले रौद्ररूप देखाउँछिन् र माझीका कटेरा, आवादी गरेका बिरौटालाई खण्डहर बगर बनाइदिन्छिन् ।
पुरिएका घुमका चित्रा, नामोनिसान मेटिएका पेरुंगा र ढडिया खोज्दै उराठलाग्दो बगरमा टोलाइरहेका माझीको भीडमा अचानक सोभिते देखा पर्छ । चरम यातनाका कारण दुब्लाएर सिट्ठी बनेको सोभितेलाई माझीहरूले मुस्किलले चिन्छन् ।
त्यहीबेला भूमाले प्रश्न गर्छ, “तँसँगै पक्राउ परेकी मेरी छोरी लालगेडी खै ?”
लालगेडीको वियोग र गाउँलेको दुर्दशाले आक्रान्त बनेको सोभिते इन्द्रावतीसँग कसम खाँदै संकल्प गर्छ, “म फेरि फर्कनेछु, हवेलीको कहर लिएर आउनेछु । हाम्रो समाजका लागि एउटा नयाँ बिहानी लिएर आउनेछु ।”
र, सोभिते रातमाटेबाट इन्द्रावती बगर झर्दा पृष्ठभूमिमा साना काजी त्रिलोचन सिंहको नयाँ बंगला देखिन्छ । त्यसबखत हवेली आफ्नो नयाँ अहंकारको पैतालामुनि सम्पूर्ण इन्द्रावतीको सेरोफेरो दबाएर कुनै बादशाहझैँ गर्वोन्नत शिर उठाउँदै माझीहरूका भग्न गाउँलाई ज्यादै हेय र तुच्छ दृष्टिले हेरिरहन्छ ।
० ० ०
०४० सालमा त्यहाँको कथा उपन्यासका रूपमा बाहिर आयो । लगभग गुमनामजस्तै बनिसकेको ‘अविरल बग्दछ इन्द्रावती’ ०५७ सालमा बद्री अधिकारीले टेलिचलचित्रको रूपमा पर्दामा उतारेपछि त्यसले आम रूपमै चर्चा पायो ।
तथापि आफ्नै कथा आफैंले हेर्न नपाएको गुनासो त्यहाँका माझी समुदायको आज पनि छ । यसकारण कि नेपाल टेलिभिजनबाट टेलिचलचित्र प्रसारण हुँदा उनीहरूको पहुँचमा टिभी थिएन । ४३ भागको टेलिचलचित्रको अन्त्य सन्तोषजनक नभएको भन्दै अधिकारीले ‘इन्द्रावती’ चलचित्र पनि बनाएका छन् ।
३३ वर्षसम्म पनि इन्द्रावतीको बहाव उस्तै छ । ०६५ मा विकलले भौतिक चोला बिसाए । त्यसबीचमा इन्द्रावती बगरका थुप्रै माझीहरूको जीवनको इहलीला पनि समाप्त भयो । तीन दशक हिउँदसँगै दुई राज्यव्यवस्था फेरिए ।
८१ वर्षको उमेरमा विकलको जीवनको दौडधूप टुंगियो, तर त्यहाँका माझीका कहर टुंगिए कि टुंगिएनन्– आजपर्यन्त कसैको चासो र चिन्ताको विषय बनेन ।
के ‘अविरल बग्दछ इन्द्रावती’ त्यहीँका माझीको दमीत कथा हो त ? के त्यहाँका थापा खलकको उपद्रो ठ्याक्कै त्यस्तै थियो त ? यी आममानिसका जिज्ञासा हुन सक्छन् । त्यसको निरुपणका लागि पनि इन्द्रावतीको कञ्चन पानीमा पैँताला चोबल्नै पर्छ । माझीहरूको दैनिकीको दृष्टिगोचर गर्नैपर्छ ।
र, भीमटारदेखि दोलालघाटसम्म लमतन्न फैलिएका झुपडी, बन र बुट्यान चहार्नैपर्छ ।
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७३ ०७:४७
प्रतिक्रिया दिनुहोस्