.jpeg)
- दृश्य
हलिउडमा जनवरीदेखि मार्चका महिनाहरु अवार्डमय हुने गर्छन् । गोल्डेन ग्लोब्स, राइटर्स गिल्ड अवार्डस्, क्रिटिक अवार्डस् आदि । तीमध्येको सबैभन्दा ठूलो र राम्रो अवार्ड ओस्कारलाई मानिन्छ । ओस्कार नोमिनेसदेखि अवार्ड नबाँड्दासम्म सधैं चर्चामा रहिरहन्छ । प्राय: जनवरीको तेस्रो मंगलबारतिर अन्तिम नोमिनेसन घोषणा हुन्छ । अनि शुरु हुन्छ अनुमान र भविष्यवाणीका शृङ्खला । फिल्म हलहरु हतार-हतार नोमिनेसनमा परेका फिल्म खोज्न, किन्नतिर लाग्छन् । हलको पहुँच नभएकाहरु टोरेन्टतिर लाग्छन् । फिल्म समीक्षकहरु समीक्षातिर लाग्छन् । सबैलाई भ्याइ-नभ्याइ हुन्छ । यसपालि ७२५८ जुरीले विभिन्न फिल्मका अनेक विधामा आफ्नो फैसला सुनाउनेछन् । सधैंजसो ओस्कार विवादित हुनेछ । कसरी ओस्कारले सबैलाई समेट्न सकेन, कसरी ओस्कार हरेक वर्ष 'माइनोरोटी'लाई वेवास्ता गरिरहेको छ आदि इत्यादि कुरामा बहस हुनेछन् । यो वर्ष पनि उस्तै चर्चा शुरु भइसकेको छ । तर, जेजसो भए पनि ओस्कारलाई वेवास्ता गर्न सकिन्न ।
यो लेख समीक्षा होइन । न त हो मूल्याकंन नै । यो त खाली अनुमान हो । र, हरेक फिल्मप्रतिका आशा र निराशा हुन् ।
यसपालि ओस्कारको प्रमुख विधा सर्वोत्कृष्ट चलचित्रमा ९ वटा फिल्म परेका छन्–
१) कल मी बाई योर नेम
२) डार्केस्ट आवर
३) डनकर्क
४) गेट आउट
५) लेडी बर्ड
६) फ्यान्टम थ्रेड
७) द पोस्ट
८) द शेप अफ वाटर
९) थ्री बिलबोर्डस् आउटसाइड इब्बिङ, मिसोउरी
मलाई सबैभन्दा औसत लागेको फिल्मचाहिँ 'द शेप अफ वाटर' हो । कति उत्सुक थिएँ म यसको नाम सुन्दा । शुरुदेखि नै यसले गरेको हल्ला, चर्चा, परिचर्चादेखि नै खुल्दुली थियो । के रहेछ भनेर म कैयौँ दिनसम्म कौतुहल रहें । तर, जब गैरकानुनी रुपमा टोरेन्टबाट डाउनलोड गरेर हेरें, निराशाबाहेक केही हात लागेन । मलाई पूरा फिल्म सकाउन हम्मे-हम्मे पऱ्यो । तर पनि अन्तिममा केही सस्पेन्स छ कि भनेर कुरें । निराशाबाहेक केही पाइनँ । डेल टेरोको पहिले 'प्यान्स ल्याब्रियान्थ' हेरेको थिएँ । त्यो पनि बढी हल्ला भएको फिल्म थियो । तर, पनि हेर्दा रमाइलै लागेको थियो । यो हदसम्म फिल्म सकाउन सकस भएको थिएन । तर, यी निर्देशकले फ्यान्टेसी र इतिहासका घटनाहरुलाई मीठो ककटेल बनाएर प्रस्तुत गर्छन् । त्यो बलियो पक्ष लाग्छ ।
त्यसपछि पालो आयो 'लेडी बर्ड'को ।
हरे !
यसपालि किन यस्ता सामान्य फिल्महरु छानिएका होलान् भनेर फेरि गम खाएँ । नराम्रो त भन्दिनँ । आमा-छोरीको द्वन्द्व राम्रो देखाइएको छ । एउटा टिनेजरले भोग्नु परेका आरोह-अवरोहरु सबैले आफूसँग जोड्न सक्छन् । तर 'रोटन टोम्याटोज'मा १००% रेटिङ र यसपालि सर्वोत्कृष्ट फिल्म पाउने हकदार भनेको सुन्दा चित्तै बुझेन । एउटा सामान्य र औसत फिल्मलाई किन यस्तो जय-जयकार गरिएको छ, बुझ्न सकेको छैन मैले । शायद मलाई फिल्म हेर्न आँउदैन होला भनेर दोहोऱ्याई-तेहेऱ्याई हेरें ।
अहँ ! झन् साधारण, झन् औसत ।
र, त्यसपछि पालो आयो 'कल मी बाई योर नेम' ।
आहा ! कति सुन्दर नाम । नामै मन पऱ्यो । यो फिल्म हल्का विवादमा आएको सुनेको थिएँ । के चाहियो ? फलामलाई चुम्बकले र मान्छेलाई विवादले तानिहाल्छ । फेरि पनि गैरकानुनी तरिकाले फिल्म हाँसिल गरेर हेरें । अनि हेरेपछि केही दिनसम्म अरु केही फिल्म हेर्न मन लागेन । कुनै-कुनै फिल्म हेरिरहँदा सामान्य लाग्छन् । अनि हेरिसकेपछि बिस्तारै दिमाग र मनमा प्रवेश गर्न थाल्छन् । हो यस्तै फिल्महरुले थाहै नदिई मथिङ्गल हल्लाउँछन् । 'कल मी बाई योर नेम'लाई त्यस्तै लिस्टमा राख्छु । प्रेम बडो रहस्यमयी चिज हो । यो कुरा सबैलाई थाहै छ । प्रेम लिङ्गमा मात्र सीमित हुन्न भनेर पहिल्यै 'ब्रोकब्याक माउन्टेन', 'ब्लु इज द वार्मेस्ट कलर' जस्ता फिल्मले चिच्याई-चिच्याई भनिसकेका छन् । तर, प्रेम उमेरभन्दा पनि माथि हुन्छ । उमेरले पनि छेक्दैन । एउटा तन्नेरी केटा र अधैवैंशे पुरुषको प्रेमकथा कस्तो होला ? यो फिल्ममा हेरेपछि थाहा हुन्छ । समाजमा खासै नदेखिएको र नभोगिएको कथा थियो यो । मन पऱ्यो । मान्छेहरुले 'पिडोफाइल' कथा पनि भने । कतिसम्म अबुझ हुन्छन् मानिसहरु जस्तो लाग्यो । खैर, अरुको बुझाइमा लगाम लगाउन पनि भएन । तर, उनीहरुलाई 'गेट वेल सुन' भन्न चाहन्छु । बस् ।
'थ्री बिलबोर्ड आउटसाइड इबिङ, मिसुरी' कस्तो अनाकर्षक नाम । फिल्म हो कि कसैको ठेगाना ! नामै सुनेर नहेरूँ-नहेरूँ लागेको यो जीवनको तेस्रो फिल्म थियो । पहिलो 'मात्रुका बिजलीका मण्डला', दोस्रो 'लभ सभ दे चिकन खुराना' । तर, भन्छन् नि- 'डन्ट जज अ मुभी बाई इट्स टाइटल' । 'थ्री बिलबोर्ड...' हेर्दा त्यस्तै भयो । फिल्म यसरि बग्यो कि मानौं ओरालो लागेको पानी । सानैदेखि बदलावाला फिल्मले रगत तताउँछ । मिथुनले आफ्नो बा-आमाको बदला लिएका फिल्महरु हेर्दै हुर्केको जिन्दगी । शुरुदेखि नै रगत तातियो । मिसुरीका पुलिसहरुसँग झनक्क रिस उठ्यो । बिलबोर्ड बदलाभन्दा पनि 'कातिल' पत्ता लगाउन एउटी आमाले गरेको हरप्रयास हो । एउटी आमाको दुखद कथा । जब कतैबाट न्याय पाइँदैन, बिलबोर्ड टाँस्न जानुपर्छ । र पनि न्याय पाइन्न । फिल्म गज्जब छ । फिल्मको सस्पेन्स र रहस्य आफ्नो ठाँउमा छ, तर सहायक भूमिका खेलेका स्याम रकवेलको अभिनय जति तारिफ गरे पनि नपुग्ने खालको छ । उस्तै बबाल रोल, उस्तै बबाल अभिनय । यसपालि सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड उनले नपाए ओस्कारले आफ्नो विश्वसनीयता गुमाउने लगभग पक्का छ ।
मलगायत सबैका फेबरेट क्रिस्टोफर नोलान । उनका फिल्म अर्कै तहका हुन्छन् । दिमाग खैलाबैला गराउँछन् उनी । अनि मन पनि थाहै नदिई छुन्छन् । 'इन्टरस्टेलर'को एउटा भागले उनको स्टाइल देखाउँछ । जब पात्र 'टेजारेक्ट'मा पुग्छ, तब दर्शकको दिमागमा 'केमिकल लोचा' हुन्छ । अद्भूत ! के हो के, दिमाग दुख्ने दृश्यहरु । अनि लगत्तै जवान बाउले मर्नै लागेकी बूढी छोरीलाई भेटेको दृश्य । दिमाग दुखेको सन्चो हुन नपाउँदै मन दुख्न थाल्छ नोलानका फिल्महरुमा । यस्ता अद्भूत निर्देशकका कुनै फिल्महरुले अहिलेसम्म ओस्कार जितेका छैनन् । जित्नु त परैको कुरा, नोमिनेसन पनि 'इन्सेप्सन' बाहेक अरु परेका छैनन् । उनको ऐेतिहासिक फिल्म 'डनकर्क' यसपालि नोमिनेसनमा परेको छ । हजारौँ बेलायती र फ्रेन्च सेनाहरुलाई डनकर्कबाट उद्धार गरिएको घटनामा आधारित यो फिल्म गज्जब छ । तर, अरुले भनेजस्तो 'नोलानको अहिलेसम्मकै उत्कृष्ट फिल्म', 'युद्धसम्बन्धी बनेको अहिलेसम्मकै उत्कृष्ट फिल्म' जस्तो लागेन मलाई । त्यो स्थानमा अहिले पनि 'सेभिङ प्राइभेट रायन्स' र 'ब्यान्ड अफ ब्रद्रर्स' छन् । 'डनकर्क' पूर्ण छैन । निर्देशन, तीन वटा कोणबाट देखाइएको एउटै कथा (भ्यान्टेज पोइन्टजस्तै), सिनेम्याटोग्राफी अनि टम हार्डीको उपस्थिति राम्रा पक्ष हुन् । तर, मलाई अधुरो, अपूरोजस्तो लागिरह्यो । न्युन ड्रामा, संवेदनाको कमी, अनि साँघुरो प्लटले यो फिल्मलाई सर्वोत्कृष्ट हुनबाट रोक्यो । मलाई लाग्छ- यसपालि पनि नोलानले नोमिनेसनमा मात्र चित्त बुझाउनु पर्नेछ ।
'डनकर्क'को उद्धारमा आधारित भएर 'डनकर्क' बन्यो । स्थलगत घटनाहरुको लेखाजोखा 'डनकर्क' फिल्म हो भने त्यही समय, त्यही घटनाको अर्को राजनीतिक/कूटनीतिक पाटो र विन्सटन चर्चिलको उदय 'द डार्केस्ट आवर' हो । कसरी बेलायतले दोस्रो विश्वयुद्धमा घुँडा टेकिसकेको थियो र कसरी चर्चिलले त्यो हुनबाट जोगाए । कसरी उनले 'डनकर्क' उद्धारमा भूमिका खेले । कसरी बेलायती नागरिकलाई व्यक्तिगत जहाज लगेर डनकर्क जान लगाए । यी सबै कुरा 'द डार्केस्ट आवर'मा देख्न सकिन्छ । यो फिल्म कथावस्तुभन्दा पनि अभिनयका लागि पछिसम्म याद गरिनेछ । ग्यारी वल्डम्यानले चर्चिलको भूमिका यसरि निभाएका छन् कि स्वयम् चर्चिलले समेत त्यति प्रस्तुति दिन सक्दैनथे होला । यो फिल्मले अरु अवार्ड थाप्छ कि नाइ- भन्न सकिन्न तर सर्वोत्कृष्ट अभिनेताको अवार्ड पक्कै लैजानेछ । यो भविष्यवाणीभन्दा पनि सत्य हो ।
अब स्टिभन स्पिलबर्गको कुरा गरौँ । ट्रम्प प्रशासनले प्रेसमाथि बारम्बार गरिरहने प्रहार र हमलादेखि आजित भएर आफूले बनाउनै लागेको फिल्म 'रेडी प्लयेर वान' छाडी छुट्टै फिल्म बनाएका निर्देशक हुन् उनी । निक्सन प्रशासनले त्यतिबेला (सन् १९७० तिर) 'पेन्टागन पेपर्स'को चुहावट रोक्न प्रेसमाथि देखाएको दबदबा र त्यसै वरिपरिका घटनाक्रम यो फिल्मको मुख्य कथावस्तु हो । अमेरिकी सरकारले भियतनाम युद्धबारे अमेरिकी नागरिकलाई अँध्यारोमा राखेको र फजुलको युद्ध लम्ब्याई हजारौंको ज्यान गएको तथ्य समेटिएको 'पेन्टागन पेपर्स'लाई कसरी 'द न्युयोर्क टाइम्स' र 'वासिङ्टन पोस्ट'ले प्रकाशित गरे, त्यो इतिहास 'द पोस्ट'मा देखाइएको छ । फिल्म हेर्दा कति समय बाँकी छ भन्दै हेर्ने एकदम खराब बानी छ । 'द पोस्ट' हेर्दा एकपटक पनि बाँकी समय हेरिनँ । फिल्मको गति त्यति सरल र मीठो छ । सकिँदा पनि किन सकियो भन्ने लागिरहन्छ भने त्यो चलचित्रलाई कसरी उत्कृष्ट नभन्ने ? स्पिलबर्ग जादुगर नै हुन् । नेपालका हरेक सम्पादकले एकपटक यो फिल्म हेर्नुपर्छ ।
अब यो वर्षको मलाई सबैभन्दा मन परेका दुई फिल्मको कुरा गरौँ- 'गेट आउट' र 'मडबाउन्ड' । दुर्भाग्यवश 'मडबाउन्ड' नोमिनेसनमा पर्न सकेन । मेरो वशमा हुन्थ्यो त यी दुबै फिल्मलाई संयुक्त रुपमा उत्कृष्ट चलचित्रको अवार्ड दिन्थें । दुबै फिल्म रंगभेदबारे हुन् । 'मडबाउन्ड'ले विश्वयुद्धताकाको मिसिसिपीतिर लैजान्छ भने 'गेट आउट'ले आधुनिक अमेरिकाको प्रतिनिधित्व गर्छ । एउटा फिल्म (मडबाउन्ड)ले इतिहासको कालखण्ड–– जतिबेला रंगभेद चरम उत्कर्षमा थियो–– त्यो संसारमा लैजान्छ र भन्छ- हरेक गोरो छाला रंगभेदी हुँदैन । र, अर्को फिल्मले वर्तमान अमेरिका–– जहाँ रंगभेद गैरकानुनी हो, जहाँ रंगभेद सकिइसकेको छ–– त्यहाँ लैजान्छ र भन्छ- आधुनिकता जति छाए पनि गोरो छालाले कालो छालालाई आफ्नो बराबार देख्दैन, देख्नै सक्दैन ।
सबैभन्दा अन्तिममा हेर्ने मौका जुऱ्यो ड्यानेल-डे-लुइसको 'फ्यान्टम थ्रेड' (किनकि टोरेन्ट आएको थिएन र यस्ता फिल्म हाम्रा व्यावसायिक हलहरूले लगाउँदैनन्) । लुइसको अन्तिम फिल्म भएर पनि होला- छु्ट्टै उत्साह थियो । दोस्रो विश्वयुद्धलगत्तै पछिको समाजलाई चित्रित गरिएको यो फिल्म राम्रो हो कि औसत कि नराम्रो, छुट्टाउन सकिनँ । धेरै सोचें । अनि निर्णय नै गर्नु पऱ्यो, यो फिल्म मेरा लागि औसत हो । लुइसको अभिनय र बुझ्न नसकिने पात्रहरुले अलिकति भए पनि ध्यान ताने । प्रेम पाउनका लागि मानिसले केसम्म गर्न सक्छ भन्ने कुरा बडो घुमाउरो पाराले देखाए पौल थोमस एन्डरसनले । त्यो पनि अनुपम लाग्यो । सबैभन्दा मनपरेको चाहिँ फिल्मको अन्त्य हो । एउटा पात्रले आफ्नो वर्षौदेखिको अहम् प्रेमका खातिर तिलाञ्जली दिएको देख्दा सन्तोष लाग्यो । प्रेमको अघि कसैको केही लाग्दैन- यो फिल्मले त्यही भन्छ ।
'मडबाउन्ड' फिल्मको नाम र कथावस्तुको यति मीठो सम्बन्ध मैले आजसम्म देखेको थिइनँ । र, 'गेट आउट' आधुनिक अमेरिकी समाजप्रतिको तीखो व्यंग्य । एक-आपसमा परस्पर फरक र विपरीत ध्रुव तर एउटै आत्मा बोकेका यी फिल्म मेरो यो वर्षका उत्कृष्ट दुई फिल्म हुन् ।