
काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० शृंखलामा नेपालले पहिलो जित निकालेको छ । नेपालले प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा होबर्ट हुरिकेन्सविरुद्ध ६६ रनको सहज जित निकालेको हो ।
पाल्मर्स्टोनमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याउने क्रममा हुरिकेन्सले १६.१ ओभरमा सबै विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो ।
हुरिकेन्सका ब्राड्ली होपले सर्वाधिक ३१ रन बनाउ । चार्ली वाकिमले २८, च्याक कर्टिनले २१ र टिम वार्डले १३ रन थपे ।
हुरिकेन्सलाई सस्तैमा समेट्न नेपालका नन्दन यादवले पाँच विकेट लिए । तीन ओभर बलिङ गरेका नन्दनले १७ रन खर्चिए । रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक–एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।
नेपालका आरिफ सेखले सर्वाधिक ३३ रन बनाए । उनले २६ बलमा तीन चौका प्रहार गरे । ओपनर आसिफ सेख र कुशल भुर्तेलले क्रमशः २९ र २७ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ५.३ ओभरमा ४९ रनको साझेदारी गरेका थिए ।
भीम सार्कीले १८ रन थपे । लोकेश बमले २५ रन बनाए । उनले ११ बलमा तीन चौका र एक छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले नौ र कुशल मल्लले ६ रन बनाए ।
होबर्ट हुरिकेन्सका नभभेथान राथाकृष्णन र जेब बेलले दुई–दुई विकेट लिए । मार्कुस बेन, राफ म्याकमिलन र ब्राड्ली होपले समान एक–एक विकेट लिए ।
प्रतियोगितामा नेपालले यसअघि लगातार तीन खेलमा हार बेहोरेको थियो । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले हारेको थियो । नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
तस्बिरहरू : क्यान