
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले सेवाग्राहीबाट साढे २४ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको दाबीसहित अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अर्का व्यक्ति भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय सहयोगी टीकाराम राउत हुन् । अख्तियारले दायर गरेको मुद्दामा २४ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि घुस मागेको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानमा टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्यको मोबाइल र कार्यालय सहयोगी टीकाराम राउतको साथबाट मोबाइल र २४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा उनीहरूले पूर्वयोजनाबमोजिम घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।