site stats
बाह्रखरी :: Baahrakhari
देश
रोजगारी खोज्दै १५१ देश पुग्छन् नेपाली, सबैभन्दा बढी कहाँ जान्छन् ?
फाइल तस्बिर ।

काठमाडौं । रोजगारी खोज्दै विश्वका १५१ देशमा नेपाली जाने गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर नेपालीहरू ती देश गएका हुन् । 

विभागले उपलब्ध गराएको तथ्यांकअनुसार, गत आर्थिक वर्ष आठ लाख ३९ हजार २६६ नेपाली वैदेशिक रोजगारीका क्रममा १५१ देश गएका थिए ।

वैदेशिक रोजगारीमा जानेमा सात लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला थिए । वैदेशिक रोजगारीमा जानेमध्ये ११.२५ प्रतिशत संख्या महिलाको थियो । 

गत आर्थिक वर्ष विश्वका २८ देशमा रोजगारी खोज्दै एक हजारभन्दा ठूलो संख्यामा नेपाली गएका थिए । सोही समयमा विश्वका तीन देशमा एक लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि गएका थिए । 

वैदेशिक रोजगारीको लागि सबैभन्दा ठूलो संख्यामा नेपाली जाने प्रमुख पाँच देशमा चारवटा खाडी राष्ट्र छन् । रोजगारीका लागि सबैभन्दा बढी नेपाली गएका प्रमुख चार देश सबै खाडी राष्ट्र हुन् ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष सबैभन्दा ठूलो संख्यामा नेपाली युनाइटेड अरब इमिरेट्स (यूएई) गएका थिए । वैदेशिक रोजगारीका लागि सो समयमा दुई लाख ७४ हजार ५९० नेपाली यूएई गएका थिए ।

वैदेशिक रोजगारीका क्रममा गत वर्ष दोस्रो ठूलो संख्यामा नेपाली साउदी अरेबिया गएका थिए । श्रम स्वीकृति लिएर साउदी अरब जानेको संख्या एक लाख ५२ हजार ५५७ रहेको छ । 

नेपालबाट वैदेशिक रोजगारीमा जानेको तेस्रो ठूलो संख्या कतार गएका थिए । गत आर्थिक वर्ष एक लाख ४० हजार ७९२ नेपाली कतार गएको विभागको तथ्यांकले देखाउँछ । 

रोजगारी खोज्दै चौथो ठूलो संख्यामा नेपाली गत वर्ष कुवेत पुगेका थिए । कुवेतमा ५९ हजार ६५ जना गएका थिए । वैदेशिक रोजगारीको सिलसिलामा पाँचौँ ठूलो संख्या मलेसिया गएका थिए । गत वर्ष ४९ हजार १९७ नेपाली रोजगारीको लागि मलेसिया गएका थिए । 

वैदेशिक रोजगारीका क्रममा छैटौँ ठूलो संख्यामा नेपाली युरोपेली राष्ट्र रोमानिया गएका थिए । रोमानिया जाने नेपालीको संख्या २७ हजार ८७४ रहेको छ । रोजगारी खोज्दै सातौँ ठूलो संख्यामा नेपाली गत आर्थिक वर्ष २०८१/८२ मा जापान पुगेका थिए । जापान जानेको संख्या २३ हजार ७१ छ । 

आठौँ ठूलो संख्यामा नेपाली दक्षिण कोरिया पुगेका थिए । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत वर्ष १४ हजार २२४ जना नेपाली दक्षिण कोरिया गएका थिए । 

वैदेशिक रोजगारीका लागि नेपालबाट नवौँ ठूलो संख्यामा नेपाली युरोपेली राष्ट्र क्रोएसिया पुगेको विभागको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष विभागबाट श्रम स्वीकृति लिएर १३ हजार ८३५ नेपाली क्रोएसिया गएका थिए । दशौँ ठूलो संख्यामा नेपाली रोजगारीको लागि बहराइन गएका थिए । गत वर्ष ११ हजार ६२४ नेपाली बहराइन गएका थिए । 

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा माल्दिभ्समा नौ हजार ९६१, साइप्रसमा नौ हजार १८२, ओमानमा आठ हजार ६०१, मौरिसस्मा पाँच हजार ७४०, माल्टामा चार हजार ४५७, सर्वियामा तीन हजार २८५, बुल्गेरियामा दुई हजार ७३ र जोर्डनमा दुई हजार ५२ जना नेपाली गएका थिए ।

यस्तै, पोर्चुगलमा दुई हजार नौ, टर्कीमा एक हजार ७९६, मकाउमा एक हजार ५१३, इजरायलमा एक हजार ३४२, स्लोभाकियामा १ हजार ३२३, अष्ट्रियामा एक हजार ३०६, अजरवैजानमा एक हजार २१३, स्लोभेनियामा एक हजार १७९, पोल्याण्डमा एक हजार १६६ र ब्रुनाईमा एक हजार १२३ नेपाली गएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्