site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालमा पहिलोपटक एसियन पावरलिफ्टिङ च्याम्पियनसिप हुने

काठमाडौं । नेपालमा पहिलोपटक एसियन पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना गरिने भएको छ । बुधबार (साउन २१) पत्रकार सम्मेलन गरी नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सले प्रतियोगिताबारे जानकारी गराएको हो ।

यही साउन ३०, ३१ र आउँदो भदौ १ गते प्रतियोगिता आयोजना गरिने नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्सले जनाएको छ । प्रतियोगिताका सबै खेल काठमाडौंको नेपाल पुलिस क्लब परिसरमा सञ्चालन गरिनेछ ।

प्रतियोगितामा ओपन पावरलिफ्टिङ, डेड लिफटिङ, बेन्च प्रेस, बेन्च प्रेस एन्ड डेड लिफ्ट गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । यी विधाअन्तर्गत १६ तौल र १२ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।

तौलअन्तर्गत पुरुष र महिलातर्फ समान आठ समूह छुट्ट्याइएको छ । उमेरअन्तर्गत महिला र पुरुषतर्फ समान ६ समूह छुट्ट्याइएको छ ।

नेपाल, भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तान, उज्वेकिस्तानलगायत अरू एसियाली मुलुकका १२० बढी पावरलिफ्टरले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जानकारी गराएको छ ।

प्रत्येक तौल र उमेर समूहअन्तर्गतका खेलमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई मेडल, ट्रफी र आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । लक्की ‘ड्र’मार्फत पाँच खेलाडीलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० लाख रुपैयाँबराबरको एक वर्षको इन्स्योरेन्स समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्