काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिकूल बयान दिएको अभियोगमा एक व्यक्तिमाथि भ्रष्टाचार मुद्दा लगाएको छ ।
आयोगले खरिदारद्वय रतनबहादुर जीसी र हरिचन्द्र पाण्डेको घुस मुद्दामा सरकारी साक्षीका रूपमा कोहलपुर नगरपालिकाका डम्मरबहादुर बुढाथोकीलाई प्रस्तुत गरेको थियो । खरिदारद्वयलाई उनै बुढाथोकीले घुस दिएका थिए ।
तर, अख्तियारमा एकथरी र अदालतमा प्रतिकूल हुने गरी बकपत्र गरेपछि भ्रष्टाचार मुद्दा लगाइएको हो । जुन मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
बुढाथोकीले अख्तियारका अनुसन्धान अधिकृतसमक्ष गरेको बयान प्रतिकूलमा विशेष अदालतसमक्ष ०८२ असार २६ मा बकपत्र गरेका थिए ।
बुढाथोकीले जग्गाको मोठ भिडाउन सहजीकरणका निम्ति मिलेमतोमा खरिदारद्वय जीसी र पाण्डेलाई घुस दिएका थिए । उक्त घुस रकम रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीले राखेकाले उनलाई पनि अख्तियारले अभियुक्त बनाएको थियो । जसमा लेखापढी व्यवसायी शान्ति पुन संलग्न रहेको ठहरसहित अख्तियारले उनीहरूलाई पनि अभियुक्त बनाएको थियो ।
बुढाथोकीले बयान र साक्षी बनाउँदै अख्तियारले तिनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । उनले विशेष अदालतमा फरक बकपत्र दिएपछि अभियोग प्रमाणित हुन सक्ने अवस्था नै रहेन ।
त्यसपछि अख्तियारले आज उनै बुढाथोकीलाई पनि २० हजार बिगो कायम गरी भ्रष्टाचार मुद्दा लगाएको हो । आयोगले कुनै काम गर्न, गराउन वा नगर्न/नगराउन घुस दिएमा निजलाई पनि कसुरको मात्राबमोजिम सजाय हुन सक्ने व्यवस्था छ ।
अदालतबाट प्रमाणित भएमा घुसको बिगो, जरिवानासहित जेल सजाय भोग्नुपर्नेछ ।