site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अपात्र र लाटोकोसेरोको जोखना

ओम आचार्य

कसैले धुरी चढाउँछ
या शूली चढाउँछ
थाहा नपाई चढ्छ
या कुनै दलदलमा गढ्छ । 

भुइँमा हुन्छ
घटना घट्छ
या दुर्घटना हुन्छ
बुई चढ्छ या चढाइन्छ
खुट्टाले टेक्न छाड्छ
आसक्त नजरहरू
भित्रभन्दा बाहिरफेर गाड्छ ।

नजाने ठाउँमा जान्छ
बेला कुबेला जान्दैन
भक्ष अभक्ष छान्दैन
सोमत नभएको मत 
जग हल्लाइरहन्छ 
भतुवाहरू छिरिल्लिँदै हुन्छन्
खल्किएपछि ढाल्न/गाल्न सजिलो हुन्छ ।

समयले ताछ्दै हुन्छ उसलाई
बसिला कति बेला रिसाउँछ वा खुसी हुन्छ 
थाहा दिन्न कहिल्यै
पुतली बनाउँछ 
या झुसिल्किरो 
दर्शकदीर्घाको लाटोकोसेरो
जोखना हेर्दै हुन्छ एकोहोरो ।

(अर्घाखाँची)
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्