site stats
बाह्रखरी :: Baahrakhari
विदेश
न्युजिल्यान्डमा पनि नेपालको जस्तै समस्या– युवाको ठूलो संख्या विदेश पलायन

काठमाडौं । हालैका वर्षहरुमा नेपालमा युवाहरु देश छाडेर विदेश जाने क्रम बढ्दो छ ।  विदेश जाने युवाहरुको पहिलो आकर्षण अमेरिका अष्टे«लिया, दक्षिण कोरिया, जापान, युरोपलगायतका देशहरु पर्दछन् ।  

युवाहरुको पलायनले काम गर्ने उमेरका मानिसहरु नहुँदा एकातिर देशभित्र उत्पादन र विकासमा असर परिरहेको छ भने अर्कोतिर ‘ब्रेन ड्रेन’को चिन्ता छँदैछ । तर यो प्रवृत्ति नेपाल भन्दा विकसित मानिने न्युजिल्यान्डमा पनि कम देखिएको छैन । 

हुनतः विश्वको जुनसुकै कुनामा पनि युवाहरू सधैँ विदेश जाने देशको रुपमा न्युजिल्यान्डलाई चिनिन्छ । लामो समयदेखि न्युजिल्यान्डका युवाहरू सधैँ विदेश जाने प्रवृत्ति रहेको बीबीसीले आफ्नो एक समाचारमा उल्लेख गरेको छ । 

न्युजिल्यान्डका युवाहरूका लागि शिक्षा आर्जन गरेपछि विदेश जाने एक संस्कारको रूपमा रहँदै आएको छ।  तर, पछिल्लो समयमा युवा पेशेवर र स्नातकहरू अत्यधिक देश छोडिरहेका छन्, जसले ‘ब्रेन ड्रेन’को डर पैदा गरेको छ । 

देश छोड्ने न्युजिल्यान्डवासीहरूमध्ये आधाभन्दा बढी तास्मान सागर पार गरेर अष्ट्रेलिया गइरहेका छन्, जसलाई बोलचालमा ‘द डिच’ भनिन्छ । 

अहिले, न्युजिल्यान्डवासीहरू जो पनि अष्ट्रेलिया सर्दैछन् भन्ने थाहा हुन्छ । विशेषगरी गत वर्ष, यो संख्या निकै ठूलो देखिएको छ । गत १२ महिनाको अवधिमा ८० हजार न्युजिल्यान्डका नागरिकहरू अर्को देशमा बस्न गएको पाइएको छ ।

न्युजिल्यान्डवासीहरू, विशेषगरी युवाहरू, विश्वभर हेरेर के सोच्छन् भने म यहाँ राम्रो जागिर पाउन सक्छु ? ‘स्ट्याटिस्टिक्स न्युजिल्यान्ड’का अनुसार, मार्च २०२५ सम्मको एक वर्षमा ७० हजार न्युजिल्यान्डवासीहरूले देश छोडेका थिए भने २५ हजार आप्रवासीहरू देश भित्रिएका थिए जसले लगभग ४५ हजारको आप्रवासन घाटा देखाएको छ ।

यो संख्या भारत वा नाइजेरियाजस्ता देशका लागि ठूलो नलाग्न सक्छ, तर न्युजिल्यान्डको जनसंख्या केवल ५० लाखभन्दा थोरै मात्र बढी छ । त्यसैले यो पलायनले ठूलो प्रभाव पारिरहेको छ । यसमा विशेष गरी देश छोड्नेहरू अधिकांश १८ देखि ३० वर्ष उमेर समूहका युवा छन् ।

वेलिङ्टनस्थित थिङ्क ट्याङ्क न्यूजिल्यान्ड इनिसिएटिभका वरिष्ठ फेलो ब्राइस विल्किन्सन भन्छन्, “युवा न्युजिल्यान्डवासीहरू सधैँ स्नातक भएपछि वा २० को दशकको सुरुमा विदेश जान्छन् । यसलाई ‘ओई’ अर्थात् ओभरसिज एक्सपेरियन्स भनिन्छ।” 

उनका अनुसार कोभिड लकडाउनको समयमा यो सम्भव थिएन, त्यसैले पछिल्लो समयमा ठूलो संख्यामा पलायन भएको छ । अर्थतन्त्र कठिन समयबाट गुज्रिरहँदा यो असामान्य पनि होइन । न्युजिल्यान्डको अर्थतन्त्र महामारीका कारण नराम्ररी प्रभावित भएको थियो, उच्च ब्याजदर र बेरोजगारीले थप असर पारेको छ ।

न्युजिल्यान्डको कन्जर्भेटिभ गठबन्धन सरकारको ऋण घटाउने र सार्वजनिक क्षेत्रमा रोजगारी कटौती गर्ने कठोर नीतिहरूले रेकर्ड संख्यामा न्युजिल्यान्डबासीहरूलाई देश छोड्न प्रेरित गरेको अर्थशास्त्री ब्राड ओल्सेन बताउँछन् । 
वेलिङ्टनस्थित परामर्श फर्म इन्फोमेट्रिक्सका प्रमुख अर्थशास्त्री ओल्सेन भन्छन्, “हामीलाई प्रस्थान कार्डहरूको पर्याप्त डेटा छैन । हामीले कसले देश छोडिरहेको छ, किन छोडिरहेको छ, कहिले फर्किन्छ, र कस्ता सीपहरू लिएर जाँदैछ भन्ने कुरा सोध्दैनौँ । हामी धेरै युवा न्युजिल्यान्डबासीहरू ओईका लागि विदेश जान्छन् भन्नेबारे मात्र बुझ्छौं । युरोप घुम्ने, केही काम गर्ने, पैसा कमाउने र अन्ततः फर्किने यो न्युजिल्यान्डको परम्परागत चलन हो । तर, हालको तथ्याङ्क हेर्दा, यो प्रवृत्ति अष्ट्रेलियातिर बढी केन्द्रित छ ।” 

न्युजिल्यान्डको बेरोजगारी दर हाल ५.१ प्रतिशत छ, जबकि अष्ट्रेलियाको बेरोजगारी दर ४ प्रतिशत भन्दा अलिकति माथि छ । त्यसैले, न्युजिल्यान्डका नागरिकहरुले तुलना गर्दा अष्ट्रेलियामा जागिर पाउन सजिलो देख्छन् । 
मेलबर्नको हाइ–राइज हार्बर फ्रन्टमा रमाइला रेस्टुरेन्ट र बारहरू छन्, जहाँ याटहरू पानीमा हल्लिरहेका छन् । 

एक युवा न्युजिल्यान्डबासी बेन म्याकग्राथे दुई वर्षअघि अष्ट्रेलिया सरेका थिए । २८ वर्षीय बेन भन्छन्, “म क्राइस्टचर्चमा बोइलरमेकरको प्रशिक्षण पूरा गरेपछि यहाँ आएँ । मलाई मेरो पुरानो कम्पनीका साथीहरूले अष्ट्रेलियामा कमाइ राम्रो हुने बताए, र त्यही कारणले म यहाँ आएँ ।” 

न्युजिल्यान्डको अर्थतन्त्र पछिल्ला केही वर्षमा राम्रो नभएको र जीविकोपार्जनको लागत निकै बढेकोले बेनको आय अष्ट्रेलियामा आएपछि तेब्बर भएको छ । 

उनले मेलबर्न हार्बरको सामुन्ने फ्ल्याट किनेका छन् र फुर्सदमा आफ्नो डुङ्गामा सिलिङ सिकिरहेका छन् । 

उनले भने, “यहाँको जीवनशैलीले मलाई न्युजिल्यान्ड फर्कने सोच बदलिदिएको छ । मलाई यहाँ निकै मन परिरहेको छ ।”

न्युजिल्यान्डको कमजोर अर्थतन्त्रले बेनजस्ता युवाहरूलाई देश छोड्न बाध्य पारिरहेको छ भने अष्ट्रेलियाका आकर्षक अवसरहरूले पनि उनीहरूलाई तानिरहेको छ । 

अष्ट्रेलियाली रोजगारदाताहरूले न्युजिल्यान्डमा शिक्षक, प्रहरी, र स्वास्थ्यकर्मीहरूका लागि विज्ञापन गरिरहेका छन्, जसमा उच्च तलब र स्थानान्तरण खर्चको प्याकेज समावेश हुन्छ । प्रोफेसर पल स्पुनली भन्छन्, “अष्ट्रेलियाले न्युजिल्यान्डको पेशेवर क्षेत्रबाट प्रतिभा लुटिरहेको छ ।” 

सन् २०२३ मा, अष्ट्रेलियाले न्युजिल्यान्डबासीहरूलाई चार वर्षको बसाइपछि नागरिकता दिने प्रक्रिया सहज बनायो, जसले सामाजिक सेवाहरू र अन्य सुविधाहरूमा पहुँच दिएको छ । यो परिवर्तनले धेरै किवीहरूलाई अष्ट्रेलियामा बस्ने र फर्कने सम्भावना कम बनाएको छ । 

जेजे स्मिथले अष्ट्रेलियामा धेरैपटक बसेर काम गरेकी छन् । हाल उनी परिवारको कारण अकल्यान्ड फर्किएकी छन्, तर विगत १६ वर्षदेखि उनले अष्ट्रेलिया सर्न चाहने न्युजिल्यान्डबासीहरूका लागि सूचना वेबसाइट चलाउँदै आएकी छन् । 

उनले भनिन्, “मैले न्युजिल्यान्डबासीहरूले अष्ट्रेलिया जाँदा थाहा पाउनुपर्ने सबै कुराहरू जस्तै जागिर खोज्ने, बैंक खाता खोल्ने, स्वास्थ्य सेवा, र पाल्तु जनावर सर्ने जस्ता विषयमा जानकारी राखेकी छु ।” 

रेबेका कुकसन अर्की न्युजिल्यान्डबासी हुन्, जो अष्ट्रेलिया सरेर सिड्नीमा शिक्षकको रूपमा काम गर्छिन् ।  उनको फ्लामेन्को नृत्यप्रतिको प्रेमले उनलाई क्राइस्ट चर्च ल्याएको थियो, तर भूकम्पपछि कामको अभावले उनले अष्ट्रेलिया रोजिन् । 

उनले भनिन्, “न्युजिल्यान्डमा जागिरका अवसरहरू कम थिए र तलब पनि सिड्नीको तुलनामा निकै कम थियो । यहाँ आएर मैले सोचेभन्दा धेरै कमाएँ ।” 

तर, यो सर्ने प्रक्रिया सजिलो छैन । 

रेबेकाले भन्छिन्, “सिड्नीमा आएर बस्ने ठाउँ खोज्न निकै तनावपूर्ण थियो । यहाँको आवास संकट न्युजिल्यान्डको भन्दा पनि खराब छ ।” 

यद्यपि, यस्ता चुनौतीहरूका बाबजुद, धेरै किवीहरू अष्ट्रेलिया सर्ने निर्णय गरिरहेका छन् ।  यसैबीच, न्युजिल्यान्डमा आप्रवासन पनि उच्च स्तरमा छ । सन् २०२३ मा दुई लाख ५० हजार र मार्च २०२५ सम्म एक लाख ५० हजार नयाँ आप्रवासी आएका थिए । 

आप्रवासन वकिल साइमन लरेन्टका अनुसार, भारत, चीन, र फिलिपिन्सबाट धेरै आप्रवासीहरू आउँछन्, जो निर्माण, आतिथ्य, र सूचना प्रविधि क्षेत्रमा काम गर्छन् । 

न्युजिल्यान्डको कडा अंक प्रणालीले अवैध आप्रवासनलाई कम गर्छ । त्यसैले अधिकांश नयाँ आगन्तुकहरू दक्ष आप्रवासी वर्गमा पर्छन् ।  तर, यो आप्रवासनले आवास र पूर्वाधारमा दबाब सिर्जना गरेको छ । लरेन्ट भन्छन्, “आवासको अभावले बेघरको समस्या बढिरहेको छ, र घरको भाडा र खरिद मूल्य आकाशिएको छ ।” 

सरकारले जमिन खुला गर्ने र पूर्वाधार सुधार गर्ने प्रतिबद्धता जनाएको छ, तर अकल्यान्डजस्ता ठूला सहरहरूमा दबाब कायम छ ।  अकल्यान्ड न्युजिल्यान्डको सबैभन्दा ठूलो सहर हो यसको जनसंख्याया १७ लाख छ । 

यसलाई विश्वको चौथो सबैभन्दा विविधतायुक्त सहर मानिन्छ ।  यहाँ ४३ प्रतिशत बासिन्दा विदेशमा जन्मिएका छन् ।  आप्रवासनले आर्थिक र सामाजिक योगदान गरे पनि, धेरै किवीहरूको पलायनले देशलाई चुनौती दिइरहेको छ । 

कतिपय आप्रवासीहरू सांस्कृतिक विविधताबाट बच्न न्युजिल्यान्ड आउँछन्, तर उनीहरुलाई यहाँ पुगेपछि उनीहरूलाई आश्चर्य लाग्छ । १५ वर्षसम्म सांसद रहेका अकल्यान्डको नर्थ शोर क्षेत्रका पूर्वसांसद वेन म्याप भन्छन्, “अकल्यान्डमा छोटो समयमै ठूलो परिवर्तन देखिएको छ । म दक्षिणी टापुमा धेरै पटक यात्रा गर्छु, र त्यहाँ पुग्दा लाग्छ, यो ३० वर्षअघिको न्युजिल्यान्डजस्तै छ ।”

अकल्यान्ड, जहाँ म्याप बस्छन्, एकदमै विश्वव्यापी सहर बनेको छ । यहाँको जीवनशैली, रेस्टुरेन्ट र अन्य कुराहरूमा ठूलो विविधता छ, जुन देशका अन्य भागमा कमै पाइन्छ । 

तर, यो विविधता सबैलाई मन पर्दैन । कतिपयले यसलाई खतरा ठान्छन् । यद्यपि, आप्रवासन विशेष गरी एसियाबाट आएका आप्रवासीहरूको योगदानबिना न्युजिल्यान्डको स्वास्थ्य सेवा सम्भवतः धरासायी हुन्थ्यो । अकल्यान्डका कुनै पनि ठूला अस्पतालमा जाँदा आधा डाक्टर र नर्सहरू नयाँ आप्रवासी भएको देखिन्छ ।

न्युजिल्यान्डमा अल्पसंख्ययक र आदिवासी समूहहरू तीव्र गतिमा बढिरहेका छन् ।  तर, १५ वा २५ वर्षमुनिका युवाहरूलाई हेर्दा यो जनसंख्या धेरै विविधतायुक्त छ  र यो विविधता अझै बढ्दैछ ।  सन् २०४० सम्ममा, अकल्यान्डको करिब ४० प्रतिशत जनसंख्या एसियाली मूलको हुनेछ र देशभरिमा प्रत्येक चार जनामध्ये एकजना कुनै न कुनै एसियाली समुदायको सदस्य हुनेछन् । 

त्यहाँको सांस्कृतिक विविधताको हिस्साको रूपमा एसियाली समुदायहरूमा उल्लेखनीय वृद्धि भइरहेको छ । यी जनसांख्यिक परिवर्तनहरू युरोपेली समुदाय र आदिवासी माओरी समुदायबीचको जटिल ऐतिहासिक सम्बन्धको पृष्ठभूमिमा भइरहेकाको बीबीसीको समाचारमा उल्लेख छ ।

न्यूजिल्यान्ड हेडिंग अक्रस द डिच’ नामक बीबीसी वर्ल्ड सर्भिसबाट प्रसारित एक अडियो डकुमेन्ट्रीका आधारमा तयार पारिएको सामग्री

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्