1690988801.jpg)
काठमाडौं । यतिखेर नेकपा माओवादी केन्द्रभित्र नेतृत्व परिवर्तन निम्ति चलेको अन्तरसंघर्षले उत्कर्ष खोज्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि खुला विरोध हुँदैछ । माओवादी उपमहासचिव जनार्दन शर्मालाई आफ्नै बोलीमा आत्मालोचना गर्न माग उठेसँगै पक्ष/विपक्षमा खुलेरै धारणा सार्वजनिक भइरहेका छन् ।
पार्टी नेतृत्वविरुद्धका सार्वजनिक अभिव्यक्तिले नकारात्मक प्रभाव परेको तर्क प्रस्तुत गर्दै शर्माविरुद्ध आत्माआलोचनाको माग उठेको हो । अध्यक्ष दाहालले पार्टी फुट्दैछ भन्ने प्रचार गरी भ्रमित पारेको आरोप शर्मामाथि लगाएका छन् ।
शर्माले आत्मालोचना गर्नुपर्ने अडानमा दाहाल कायमै छन् । तर, शर्मा आफू मात्र दोषी नभएको हुँदा आत्मालोचना नगर्ने अडान लिएका छन् । उता शर्माले अध्यक्ष दाहालकै कारण पार्टी संकट अवस्था सिर्जना भएको जिकिर गरेपछि विवाद बढेको छ ।
उनले राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकता, संगठनात्मक प्रणालीमा संकट आएको उल्लेख गरी यिनको समाधान पार्टीको विशेष महाधिवेशनबाट मात्र समाधान हुन सक्ने दलिल पेश गर्दैछन् ।
उनले त त्यस निम्ति विशेष महाधिवेशनको मागसमेत राखेका छन् ।
केही दिनअघिको पार्टी स्थायी कमिटी बैठकमा नेतृत्व परिवर्तनका विषयमा ठूलै बहस भएको थियो । शर्माले त स्थायी कमिटी बैठकको माइन्युटमा सही समेत गरेका छैनन् । पदाधिकारीहरूको मंगलबार बस्ने बैठकमा गएका बेला ‘माइन्युट’मा सही गर्ने तयारी भएको उनका निकट स्रोतले बताए ।
उनी निकट स्रोतले भन्यो, “यो धेरै अघिदेखिकै मुद्दा हो, अध्यक्षले छलफल गर्ने भन्नुभएको विषयमा वास्ता नगरेपछि शर्माले स्थायी कमिटी बैठकमा उठान गर्नुभएको हो । अब दाहाल र शर्माबीच बाहिर आएजस्तो समस्या छैन ।”
तर, माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटा शर्माले आत्मालोचना नगरेको हुँदा कडा चेतावनी दिने निर्णय पार्टीले गरेको जानकारी दिए । उनले बाह्रखरीसँग भने, ‘‘पार्टीको गतिविधि र नेतृत्वको विषयमा शर्माले आइन्दा कुनै पनि विरोधाभास विषय उठान नगर्ने समझदारी भएको छ ।’’
उनले भने, “पार्टीको नीति, नेतृत्व मान्नेगरी अध्यक्ष प्रचण्डसँग शर्माले सहमति गरेका छन् । पार्टी नेतृत्व परिवर्तन हुने सम्भावना छैन ।”
उपमहासचिव शर्माको विद्रोह
स्थायी समितिको बैठकले प्रदेशको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेसँगै झन्डै एक वर्षदेखि सुरु भएको उपमहासचिव शर्माको विद्रोह सतहमा आएको हो । प्रदेशका इन्चार्जहरू परिवर्तन गर्ने पार्टी बैठकको निर्णयमा उनले लिखित रूपमै असन्तुष्टि जनाएका थिए ।
हाल उनले पार्टी नेतृत्वप्रतिको असन्तोष प्रष्ट देखाएपछि विवाद चुलिएको हो । उनले पार्टीभित्र नीति निर्माण, पद बाँडफाँड वा नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै आवाज उठाएको उनी निकट नेताहरु बताउँछन् ।
माओवादीभित्रको अन्तरसंघर्ष सतहमा
माओवादीभित्रको अन्तरसंघर्ष र सतहमा देखिएका वैचारिक द्वन्द्वले पनि पार्टीमा समस्या देखिँदै आएको छ । पार्टीभित्रका विवाद अझै पनि राम्रोसँग बाहिर आउन नसकेको पार्टीकै नेताहरूले बताउने गरेका छन् ।
झन्डै ३ वर्षअघि पनि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समूह आक्रामक रूपमै प्रस्तुत भएको थियो ।
अध्यक्ष प्रचण्डकै भूमिकालाई लिएर श्रेष्ठ समूहले प्रश्न उठाएका थिए । त्यसबखत पार्टी विभाजनकै मनस्थितिमा पुगेका श्रेष्ठ पक्ष स्थानीय तहको चुनाव मुखैमा आएपछि नरम बनेका थिए । श्रेष्ठसँग २०५३ सालदेखिको सम्बन्ध बेवास्ता गर्दै ‘प्रचण्ड’ले पार्टी छोड भनेपछि उनले चित्त समेत दुखाएका थिए ।
क्रान्तिकरण नै किन ?
माओवादीको पछिल्ला बैठकहरूमा धेरैजसो नेताले पार्टी कमजोर बनेको भनी चिन्ता व्यक्त गर्ने गरेका छन् । माओवादी केन्द्रका सचिव राम कार्कीले पनि बाह्रखरीसँगको कुराकानीमा पार्टी कमजोर भएको बताए ।
उनले भने, “मैले सैद्धान्तिक कुरा गरेको हो, हरेक चिजको जीवन हुन्छ, मान्छेको पनि कैयौं सेल मर्ने र जीवन्त हुने गरेका छन् । काँचुली फेरेझँै पार्टी नेतृत्व पनि परिवर्तन हुनुपर्ने आवाज उठेका छन् । अधिकांश नेता कार्यकर्ताले पार्र्टीभित्रै क्रान्तिकरण गर्नुपर्ने बताएका छन् ।”
उनले थपे, “नेतृत्वमै क्रान्तिकरण आवश्यक छ, हालको अवस्थामा पार्टीको आदत, शैली, संस्कार र भूमिकालगायत धेरै विषयवस्तु फेरिनुपर्ने देखिएको छ । जनताले चेतावनी दिन थालिसकेका छन्, समर्थन घट्न थालिसकेको छ । त्यसकारण पनि पार्टीले कडा नीति अबलम्वन गर्नुपर्छ ।”
गत साउन १६ गते सुरु भएको माओवादी स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माको समर्थनमा चारजना नेताहरू छलफलमा मुखर भएर उठेका थिए ।
सचिव राम कार्की, स्थायी कमिटी सदस्य अञ्जना बिसंखे, पर्शुराम तामाङ र टंक राईले शर्माको पक्षमा खुलेरै धारणा राखेका थिए । उनीहरूले अध्यक्ष दाहालको कार्यशैलीमा प्रश्न उठाउनुका साथै नेतृत्व हस्तान्तरणको माग समेत गरेका थिए ।
माओवादी केन्द्र एकतामा उद्यत
प्रमुख प्रतिपक्षी माओवादी कमजोर हुँदै गएको महसुस गरी एकता गर्दै फेरि दर्बिलो शक्तिको रूपमा उदाउने योजनामा छ । विचार, नीति, प्राविधिक कार्यदिशा मिल्ने पार्टीहरूसँग एकता गरेरै जाने माओवादी केन्द्रको ध्याउन्न छ ।
समाजवादी मोर्चालाई पार्टीका रूपमा विस्तार गर्ने हिसाबले माओवादी अघि बढेको देखिन्छ । उसको ध्याउन्न ०८४ को चुनावमा बलियो दलका रूपमा उदाउनु हो ।
तर, एमालेसँग माओवादी केन्द्रले एकता गर्ने सोच नबनाएको र नीति पनि नमिल्ने जनाएको छ । माओवादी केन्द्रका प्रवक्ता सापकोटा भन्छन्, “तत्काललाई एमालेसँग एकता गर्ने सोच छैन, नीति पनि मिल्दैन । ऊसँग गठबन्धन गरिरहँदा हाम्रो पहिचान हरायो ।”
उनले थपे, “पार्टीको नीति तथा कार्यक्रमसँग मेल खानेसँग एकताबद्ध हुँदै जाने माओवादी केन्द्रको सोच छ ।’’
०८४ को चुनावमा माओवादी केन्द्र बलियो बनेर स्वतन्त्र रूपमा एक्लै लड्ने पनि उनले बताए ।
दलहरूबीच एकता कति सम्भव ?
समाजवादी मोर्चामा रहेका दलहरूलाई जनताले दिएको समर्थन हेर्ने हो भने कमजोर बन्दै गएको छ । मोर्चाभित्रका दलका नेताहरूले जनताले एकता चाहेको भनी अनौपचारिक संवाद पनि गरिरहेका छन् । जनसमर्थन निरन्तर कमजोर हुँदै गए मोर्चा भित्रैका दलमा एकताका लागि दबाब पनि बढ्ने देखिन्छ ।
कतिपय राजनीतिक दल टुक्रिदै नयाँ दलका रूपमा दर्ता हुँदा पनि जनसमर्थन कमजोर बन्दै गएको छ । यसका लागि एकता बलियो र दीर्घकालीन बनाउन नेतृत्वको त्याग, साझा उद्देश्य र स्पष्ट कार्यक्रम आवश्यक पर्छ ।
माओवादीको स्थान कहाँ
पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी माओवादी तेस्रो र त्यसमा पनि कमजोर दल बनेको छ । तर माओवादी अध्यक्ष दाहाल प्रचण्ड २०८४ को निर्वाचनमा पार्टी एक नम्बरको बन्ने दाबी गर्दैछन् । उनका पछिल्ला भाषणहरूमा माओवादी एक नम्बर पार्टी बन्ने विषय कतै छुटदैन । तर, पार्टीभित्रै आन्तरिक द्वन्द्व र उपमहासचिव शर्माको पछिल्लो क्रियाकलापले दललाई विवादकै उत्कर्षतिर पुर्याउँदै छ ।
पदाधिकारी बैठक आज
आन्तरिक विद्रोहको चपेटामा परेको माओवादीको पदाधिकारी बैठक भदौ ३ गते मंगलबार बस्दैछ । बिहान साढे ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा यही भदौ १५ गतेदेखि सञ्चालन हुने मध्यपहाडी लोकमार्ग अभियानबारेमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनले भने, “अभियानको विस्तृत तालिकाका विषयमा छलफल हुनुका साथै जानकारी गराइनेछ र अभियानका लागि कार्यविभाजनबारे छलफल हुनेछ ।’’
यस्तै आन्तरिक संगठनात्मकलगायत विषयमा पनि छलफल हुने उनले जानकारी दिए । मध्य–पहाडी लोकमार्ग अभियान यही भदौ १५ गते लमजुङबाट सुरु गर्ने माओवादीको तयारी गरेको छ ।