
काठमाडौं । देशका अरू केही स्थानजस्तै आइतबार (साउन ११) काठमाडौंमा पनि वर्षाको पूर्वानुमान छ । काठमाडौंमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा दिउँसो/अपराह्न र राति वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।
“काठमाडौंमा दिउँसो/अपराह्न–राति हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसित भने, “एक–दुई स्थान (आइसोलेटेडेट)मा खण्डित किसिमको भारी वर्षा पनि हुनसक्छ ।”
आज र भोलि (साउन १२) यस्तै किसिमको मौसम हुने उनले बताए । “बदली (बादल/वर्षा) हुनेछ,” उनले भने ।
देशमा हाल मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको उनले जानकारी दिए । “अहिलेसम्म त न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ,” उनले भने, “यो केहीनजिक सर्ने र सक्रिय हुने सम्भावना छ ।”
भारतको झारखण्डमा यति बेला न्यूनचापीय क्षेत्र बनेको छ । नेपालमा आइतबार र सोमबार त्यसको प्रभाव पर्ने र वर्षा हुने उनले बताए ।