site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसमा खडेरीका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीर : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मधेस प्रदेशमा परेको खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीर रूपमा लागिपरेको बताएका छन् । 

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मधेसमा रहेको खोनपानीको समस्या समाधानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाइरहेको पनि बताए । 

मानवीय कारणले उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि समेत रणनीति बनाएर कार्यान्वयन गरिने उनको भनाइ छ । उनले विपद् व्यवस्थापन प्राधिकरणलाई प्रभावकारी बनाएर विपद्जन्य घटनाको व्यवस्थापन र जोखिम नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।
 
"विपद्‌मा परेर सुक्खा र खडेरी परेको मधेसको जनतालाई हामीले कसरी राहत उपलब्ध गराउने, त्यसको दीर्घकालीन समाधानका लागि के गर्ने भनेर योजना बनाउने, अहिले तत्काललाई खानेपानीको समस्या र सिँचाइको समस्या हल गर्ने कुरामा सरकार गम्भीर छ," उनले भने । 

विपद् तथा अतिवृष्टि र अनावृष्टिको समस्या समाधान गर्न राज्य बलियो हुन जरुरी रहेको पनि बताए । 

 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्