
काठमाडौं । देशका केही स्थानमा भारी/धेरै भारी वर्षाको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार (साउन ३) रातिदेखि नै केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ ।
आइतबार (साउन ४) दिउँसो देशका केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा ‘धेरै भारी’ वर्षा हुन सक्ने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
यो अवधिमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने अरू केही भूभागमा पनि छ । “यी प्रदेशका हामीले केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भनेका छौँ,” उनले बाह्रखरीसित भनिन्, “तर, त्यो एक/दुई स्थानमा मात्र पनि हुनसक्छ ।”
उनका अनुसार, यी प्रदेशमा शनिबार रातिदेखि आइतबार दिउँसोसम्म केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोसीदेखि गण्डकी प्रदेशसम्म यस्तो सम्भावना रहेको उनले प्रस्ट पारिन् ।
सोमबार प्रभाव पर्ने क्षेत्र
गण्डकीबाट पश्चिम भूभागमा भने आइतबार रातिदेखि सोमबार (साउन ५) दिउँसोसम्म भारी वर्षाको सम्भावना छ । “गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म प्रभाव रहने देखिन्छ,” उनले भनिन्, “त्यहाँ थोरै स्थानमा हामीले भारीदेखि धेरै भारी वर्षाको सम्भावना भनेका छौँ ।”
ठूलो वर्षा गराउने प्रणाली धेरै लामो समय रहने नदेखिएको उनले बताइन् । तत्काललाई सोमबार दिउँसोसम्म मात्र यसको असर देखिने सम्भावना छ । “सोमबार राति नै यसको प्रभाव रहँदैन, सोमबार दिउँसोसम्म मात्र हो,” उनले भनिन्, “यो धेरै लामो अवधिको होइन ।”
हाल वर्षा हुने स्थिति छोटोछोटो समयमा परिवर्तन भइरहेको उनले बताइन् । त्यसैले लामो समय वर्षा भएको छैन । छोटो समयमै भारी वर्षा हुने उनले स्पष्ट पारिन् । “अहिले मोडेलहरू छिटोछिटो परिवर्तन भइरहेको छ,” उनले भनिन् ।
धेरै वर्षाको सम्भावना तराईभन्दा पहाडी भूभागमा बढी रहेको उनले जानकारी दिइन् । “सबै ठाउँमा भारी वा धेरै भारी वर्षा हुने होइन,” उनले भनिन्, “खण्डित वर्षा हुने, कुनैकुनै ठाउँमा – आइसोलेटेड भनिन्छ, त्यस्तो वर्षा हुनसक्छ ।”
काठमाडौं पनि धेरै भारी वर्षाको सम्भावना
आइतबार दिउँसो वाग्मती प्रदेशमा पनि धेरै भारी वर्षाको सम्भावना छ । वाग्मती प्रदेशका एक/दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् ।
वाग्मती प्रदेशभित्रै पर्ने देशको राजधानी काठमाडौंमा पनि धेरै भारी वर्षाको सम्भावना रहेको उनले बताइन् । “वाग्मती प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,” मौसमविद् मानन्धरले भनिन्, “काठमाडौंमा पनि त्यस्तो सम्भावना छ ।”
आइतबार दिउँसोको समयमा काठमाडौंमा भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् । “छोटो समय भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,” उनले भनिन्, “मुभिङ हुने समयमा थोरै समय त्यस्तो हुनसक्छ ।”
हाल देशभर मनसुनी वायुको प्रभाव छ । “मनसुनको न्यूनचापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ,” महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
भारी कति ?
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।
“सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने तथा हावाहुरीले समेत आंशिक असर पुर्याउन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” महाशाखाले भनेको छ ।