
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई अबका तीन दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारी वर्षा भई नदीमा जलसतहले सतर्कता तह पार गर्न सक्ने मौसमविद्को पूर्वानुमान रहेको इप्पानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही कारण जलविद्युत् आयोजनामा पूर्वतयारीस्वरूप सतर्कता अपनाउन इप्पानले आग्रह गरेको हो ।
“इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौताअनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदानप्रदान गर्दै आएको छ,” इप्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मौसमसम्बन्धी पूर्वसूचना लिएर इप्पानमा आबद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई विपद्बाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका निम्ति पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ । रासस