
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतामाथि नै प्रश्न उठाएका छन् । शुक्रबारबाट पार्टी कार्यालय च्यासलमा सुरु भएको पोलिट्ब्युरो कमिटी बैठकमा उनले एमालेमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भएको भन्न नमिल्ने जिकिर गरेका हुन् ।
“राष्ट्रपति भइसकेपछि पार्टीमा लामो समय सदस्यता रिक्त भयो । ग्याप भएपछि नयाँ सदस्यता लिने हो । कसरी नवीकरण हुन्छ ?,” ओलीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “एक त उहाँको सदस्यता नवीकरण भएको छैन । त्यसमाथि उहाँ राष्ट्रपति भइसकेको व्यक्ति ।”
ओलीले भण्डारी पूर्वराष्ट्रपति हुनाले एमाले अध्यक्ष बन्नेगरी सक्रिय हुन नहुने धारणा राखेको ती सदस्यले जानकारी दिए ।
केपी ओली र कर्ण थापाबीच भनाभन !
“राष्ट्रपति सम्मानीत पद हो । देशको उच्च गरिमामा बसिसकेको व्यक्ति पार्टी अध्यक्ष बन्नेगरी सक्रिय राजनीतिमा लाग्नु उचित हुँदैन,” ओलीले बैठकमा भनेका थिए ।
प्रचार विभाग प्रमुख राजेन्द्रका गौतमका अनुसार ओलीले भण्डारीका विषयमा पार्टीले उचित निर्णय गर्ने धारणा पनि राखेका छन् । दुई कार्यकाल राष्ट्रपति पदमा बिताएकी भण्डारी १० वर्षपछि सक्रिय राजनीतिमा आउने प्रयास गरेपछि एमालेसहित सिंगो राजनीतिक अवस्था तरंगित बन्न पुगेको छ ।
भण्डारीले असार १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एमालेको सदस्यता नवीकरण गरेको घोषणा गरेकी थिइन् ।
“...वास्तवमा त्यसबेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरिसकेकै थिएँ । फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,” भण्डारीले भनेकी थिइन् ।
ओलीले पोलिट्ब्युरो कमिटीको बैठकमा भण्डारीको सदस्यतामाथि नै प्रश्न उठाएपछि दुईबीच निकै दूरी बढेको देखिएको नेताहरु बताउँछन् । ओलीले भण्डारीको आगमनबारे सार्वजनिक सञ्चारमाध्यमार्फत् पनि आपत्ति जनाइसकेका छन् ।
पोलिट्ब्युरो बैठकमा मौखिक राजनीतिक प्रस्ताव पेश गर्दै उनले सचिवालय बैठकले अघि सारेको प्रस्तावमा नै अघि बढ्नुपर्ने धारणा राखेका हु्न् । बिहीबार पनि मध्यरातसम्म चलेको केन्द्रीय सचिवालय बैठकमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्थाबारे चर्काचर्की भएको थियो ।
पार्टीमा ७० वर्षे र उमेरहदको व्यवस्था हटाएर ओलीले तेस्रो कार्यकालको अध्यक्षको ढोका खुला गरेको नेताहरु बताउँछन् । एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमात्रै विधान महाधिवेशनमा सहभागी गराउन सकिने व्यवस्थाको प्रस्ताव गरेको छ ।
यसले पूर्वराष्ट्रपतिलाई भण्डारीलाई विधान महाधिवेशनमा सहभागी हुने बाटो बन्द गर्छ । किनकि उनी दशौँ महाधिवेशनका बेला राष्ट्रपति थिइन् । उनी एमालेको प्रतिनिधिको हैसियतमा थिइनन् ।
शुक्रबारको बैठकमा अध्यक्ष ओली र स्थायी कमिटी सदस्य कर्ण थापाबीच पनि भनाभन समेत भएको थियो । उनले उपाध्यक्ष विष्णु पौडेलले बोल्नासाथ धारणा राख्न पाउनुपर्ने माग गरेपछि ओलीले अहिले नबोल्न भन्दै बस्न निर्देशन दिएका थिए । सोही क्रममा विवाद भएको थियो ।
आफ्नो पालो आएपछि बोलेका थापाले ७० वर्षे र दुई कार्यकालको प्रावधान हटाउने प्रस्तावमा ओलीमाथि प्रश्नै प्रश्न तेर्साएका छन् । उनले विगतमा ओलीले प्रकाशित गरेको पार्टी जीवनको लोकतान्त्रिकरणको पुुस्तको अंश पढेर समेत सुनाएका थिए ।
उनले पार्टी जीवनमा लोकतान्त्रिकरणको कुरा उठाउँदा ओली ६० वर्षको भएको र अहिले आफू ६० बर्ष पुग्न लाग्दा ७० वर्षे उमेरहदबारे प्रश्न गर्न किन नपाउने भनी सोधेका छन् । त्यस्तै उनले १०औँ राष्ट्रिय महाधिवेशनपछि विधान पटक–पटक छाप्दा विधानको धारा ६४ को व्यवस्था किन हटाइएको भनी प्रश्न गरेका थिए । उनले पार्टीको विधानमा ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रस्ताव कायम राख्नुपर्ने धारणा राखेका छन् ।
बैठकमा बोल्नका लागि एक सदस्यलाई पाँच मिनेटको समय दिइएको छ । पोलिट्ब्युरो बैठक शनिबार पनि चल्नेछ । केन्द्रीय कमिटी बैठक आगामी साउन ५ गतेका लागि बोलाइएको छ । एमालेले भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनका लागि संशोधन प्रस्तावमाथि छलफल अघि बढाएको छ ।