site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केपी ओली र कर्ण थापाबीच भनाभन !

कठमाडौं । नेकपा एमालेको पोलिट्ब्युरो बैठकमा नेताहरुबीच चर्काचर्की परेको छ ।

बैठक शुक्रबार सुरु हुनासाथ उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनको प्रस्ताव राखेका थिए । उनको प्रस्ताव आउनासाथ स्थायी कमिटी सदस्य कर्ण थापा उठे ।

उनले आफ्ना केही महत्वपूर्ण विषय भएको बताउँदै बोल्नका लागि समय माग गरेको भए पनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई बोल्न समय दिएनन् ।

केही समयपछि बोल्न समय पाएका थापा ओलीको कामकारबाही र प्रवृत्तिमाथि चर्कोसँग बोले ।

ओलीप्रति प्रश्न उठाउँदै उनले भने– पार्टीको लोकतान्त्रिकरणको कुरा तपाईंले उठाउनुभएको होइन ? तपाईंले यस्तो कुरा उठाउँदा ६० वर्षको हुनुहुन्थ्यो । अहिले ७० कट्नुभयो । अहिले हामी ६० हाराहारीमा छौँ । अहिले हामीले ७० को प्रश्न किन उठाउन नपाउने ?”

केपी ओलीले त्यसबेला निकालेको रातो किताबका केही अंश पढेर सुनाउँदै थापाले अहिले जवाफ माग गरेका थिए ।

“तपाईंका प्रश्नको जवाफ मैले भोलि दिनेछु,” थापाप्रति आक्रोशित ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

बैठकमा संगठन विभाग प्रमुख काशीराज अधिकारीले विधान मिच्ने काम आफूबाट पनि भएकाले आत्मालोचित हुन पाउनुपर्ने धारणा राखेको एक सदस्यले जानकारी दिए ।

तर उनलाई महासचिव शंकर पोखरेलले रोकेका कारण धेरैबेर उनले आफ्ना धारणा राख्न नपाएको अर्का एक नेताले बाह्रखरीसँगको कुराकानीमा बताए ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्