site stats
बाह्रखरी :: Baahrakhari
देश
वर्षा गराउने प्रणाली भारतमा अलमलियो, नेपालमा पानी पर्दैन ?
फाइल तस्बिर ।

काठमाडौं । आगामी केही दिन नेपालमा धेरै भारी वर्षा नहुने भएको छ । वर्षा गराउने प्रणाली नेपाल प्रवेश नगर्दा केही दिन ठूलो वर्षाको सम्भावना नरहेको हो । 

“हामीले केही दिनअगाडि पूर्वानुमान गरेजस्तो वर्षा नहुने देखियो,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “वर्षा गराउने प्रणाली नेपालमा सक्रिय नहुँदा भारी वर्षाको सम्भावना नहुने भएको हो ।” 

एकाध स्थानमा भारी वर्षाको सम्भावना देखिए पनि ती स्थान निकै कम रहेको उनी बताउँछिन् । ठूलो वर्षा हुने र लगातार तीन/चार दिनसम्म वर्षा गराउने प्रणाली अहिले नेपालमा नरहेको उनी प्रष्ट पार्छिन् ।  

वर्षा गराउने प्रणाली भारतको बिहार हुँदै उत्तर प्रदेशतिर मोडिँदा नेपालमा भारी वर्षा केही दिनलाई टरेको हो । 

“बंगालको खाडीमा उत्पन्न भएर भारतको उडिसा हुँदै उत्तरतिर आएको प्रणालीले नेपालको सुख्खा  भएको तराईमा वर्षा गराउने अपेक्षा थियो,” विपद् व्यवस्थापनविज्ञ धर्मराज उप्रेती भन्छन्, “त्यो प्रणाली मध्य बिहार हँुदै भारतको इलाहाबाद पुगेको छ ।” 

उक्त प्रणालीको बाहिरी घेरा मात्र नेपालको तराई भागमा परेकाले केही ठाउँमा हल्का र मध्यम वर्षा भएको उनको भनाइ छ । कतै बादल मात्र देखिएर उक्त प्रणाली बाहिरिएको उनले बताए । 

“यसको बाहिरी घेराको मध्यम प्रभाव पश्चिम नेपालको बर्दियादेखि पश्चिमी भागमा आज पर्ने सम्भावना छ । तर, भारी वर्सा भने आगामी दुई/तीन दिन नहुने सम्भावना छ,” उनले भनेका छन् ।  

आउने हप्ताको आइतबारदेखि मंगलबारसम्म पश्चिम नेपाललगायत देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको उनले प्रष्ट पारेका छन् ।  मौसमविद् विनोद पोखरेल यो हप्ता नेपालमा भारी वर्षाको केही ठाउँमा भए पनि विपद् सिर्जना गर्नेगरी ठूलो पानी पर्ने सम्भावना नदेखिएको बताउँछन् । 

“तर, अर्को हप्ता भने धेरै ठाउँमा भीषण वर्षाको सम्भावना देखिन्छ,” उनी भन्छन्, “आइतबारदेखि मंगलबारसम्म ठूलो वर्षाको सम्भावना छ ।”   आइतबारदेखि तीनवटा प्रणालीले वर्षा हुने उनले प्रष्ट पारेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्