
काठमाडौं । प्रहरी प्रधान कार्यालयले बनाएको मापदण्डलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले लत्याएको छ ।
प्रहरी प्रधान कार्यालयको कार्य विभागले १५ वर्षभन्दा बढी समय ट्राफिक प्रहरी सेवामा कार्यरत प्रहरी कर्मचारीलाई हटाउने निर्णय गरेको थियो । विभागले गत असार ३१ मै उपत्यकामा कार्यरत १५ वर्षभन्दा बढी सेवा गरेका १०३ जना ट्राफिक प्रहरीको नामसहित पत्र पठाएको थियो ।
तर, उपत्यका ट्राफिक प्रहरी कार्यालयले अझैसम्म १५ वर्ष पूरा भएका ट्राफिक प्रहरीलाई हटाउन सकेको छैन ।
विभिन्न शक्तिकेन्द्रमार्फत ट्राफिक प्रहरीमै रहन चाहने कर्मचारीको दबाबका कारण उनीहरूलाई ट्राफिक सेवाबाट हटाउन नसकिएको प्रहरी स्रोत बताउँछ । शक्तिकेन्द्र धाउन नसकेका प्रहरी कर्मचारीलाई भने परिपत्र भएको एक हप्तामै हटाइएको थियो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले कुन कर्मचारीलाई राख्ने वा पठाउने भन्नेबारे कार्यालयले नै निर्णय गर्ने बताए ।
प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत कतिपय २० वर्ष पूरा भएका ट्राफिक प्रहरीलाई समेत ट्राफिक कार्यालयले भनसुनकै भरमा राखेको केही ट्राफिक प्रहरीको भनाइ छ ।