site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनलाई हवाई रक्षा मिसाइल दिँदै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले युक्रेनको सशस्त्र बललाई थप प्याट्रियट हवाई रक्षा मिसाइल र अति परिष्कृत सैन्य उपकरण पठाउने बताएका छन् । उनले युक्रेनविरुद्धको तीन वर्ष पुरानो युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको व्यवहारप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरे ।

“म राष्ट्रपति पुटिनसँग धेरै निराश छु । मैले उनलाई उनले भनेको कुरामा अडिग रहने वा साँचो बोल्ने व्यक्ति ठानेको थिएँ । पुटिनले यति सुन्दर ढंगले कुरा गर्छन्, तर रातमा मानिसमाथि बमबारी गर्छन् । हामीलाई यो मन पर्दैन,” ट्रम्पले फिफा क्लब विश्वकप फाइनलपछि सञ्चारकर्मीसित भने ।

ट्रम्पले सोमबार ह्वाइट हाउसमा नेटो महासचिव मार्क रुट्टेसँगको भेटमा नयाँ प्रतिबन्ध घोषणा गर्ने सम्भावनालाई अस्वीकार नगरी युक्रेनमा थप हतियार पठाउने योजना रहेको बताए ।

“हामी उनीहरू (युक्रेन)लाई प्याट्रियटहरू पठाउनेछौँ, त्यो उनीहरूलाई अत्यन्त आवश्यक छ, किनभने पुटिनले धेरै मानिसलाई आश्चर्यमा पारे,” ट्रम्पले भने ।

उनले अगाडि भने, “त्यहाँ केही समस्या छ, मलाई यो मन पर्दैन ।”

ट्रम्पले युरोपेली संघले अमेरिकामा निर्मित हतियार खरिद गर्ने र अन्ततः रुसविरुद्ध प्रयोग गर्न युक्रेनमा पठाइने पनि बताए । उनले युक्रेनका निम्ति कति प्याट्रियट मिासाइल पठाइने उल्लेख भने गरेनन् ।

तर, उनले प्याट्रियट मिासाइल उल्लेख गरे । र, युक्रेनलाई सुरक्षा चाहिने भन्दै रुसले हरेक रात नागरिकमाथि आक्रमण गरिरहेका बेला यो आवश्यक भएको तर्क गरे ।

युक्रेनलाई थप हतियार पठाउने उनको प्रतिबद्धता मस्कोको सेनाले शुक्रबार युक्रेनी प्रसूति अस्पतालमा आक्रमण गरेर नौजना घाइते बनाएपछि रुसविरुद्ध कारबाहीको अप्रत्यक्ष धम्की जारी गरिएको केही दिनपछिको हो ।

गएको साता मन्त्रिपरिषद् बैठकमा उनले युक्रेनीको साहसको प्रशंसा गरेका थिए । “म भन्छु– युक्रेनीहरू साहसी थिए, तर हामीले उनीहरूलाई अहिलेसम्मकै उत्कृष्ट उपकरणहरू दियौँ । हामीले उनीहरूलाई नयाँ र उत्कृष्ट मिसाइलहरू दियौँ । उनीहरूले धेरै कुरा खसाल्न सक्थे,” उनले भने ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्