site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी अर्थमन्त्रीको आरोप– रुसबाट किनेको तेल बेचेर भारतले नाफा कमाउँछ

काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले भारतले रुसबाट सस्तो तेल किनेर प्रशोधन गरी उच्च मूल्यमा बेचेर ‘नाफा कमाउने’ गरेको आरोप लगाएका छन् । ट्रम्प प्रशासनले भारतमाथि ५० प्रतिशतको भन्सार कर लगाएका बेला बेसान्टको टिप्पणी आएको हो । यसमा रुसी तेल खरिद गरेका कारण लगाइएको २५ प्रतिशत भन्सार कर पनि समावेश छ ।

चीन र भारतसँग अमेरिकाको दोहोरो मापदण्डबारे समाचार च्यानल सीएनबीसीले सोधेको प्रश्नको जवाफमा बेसान्टले रुस–युक्रेन युद्धपछि चीनले रुसबाट आयात गर्ने तेलमा मात्र ३ प्रतिशतले वृद्धि भएको तर भारतको आयात ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको जनाए ।

“भारतले नाफा कमाउने मात्र काम गरिरहेको छ । यसबाट यसले १६ अर्ब डलरको अतिरिक्त नाफा कमाएको छ । भारतका केही धनी परिवारहरूले यसबाट लाभ उठाएका छन्,” अमेरिकी अर्थमन्त्री बेसान्टले भनेका छन्, “युद्ध सुरु भएदेखि नै भारतको यो व्यापार चलिरहेको छ । यो पूर्णरूपमा अस्वीकार्य छ ।”

उनले ब्लुमबर्गलाई दिएको एक अन्तर्वार्तामा ट्रम्प र पुटिनबीचको वार्तामा कुनै सहमति नभए रुसी तेल खरिद गरेकामा भारतमाथि थप प्रतिबन्ध लगाउने सम्भावना रहेको बताएका छन् ।

भारतले थप कर लगाउने अमेरिकी कदमलाई अनुचित भनेको छ । भारतले आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने बताएको छ ।

यसैबीच, भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले संसद्लाई भारत र अमेरिकाबीच व्यापार सम्झौतामा वार्ता भइरहेको जनाएका छन् । दुई देशले गैरसंवेदनशील कृषि उत्पादनहरू सहित वस्तुहरूको व्यापारको उदारीकरणको बारेमा छलफल गरिरहेका छन् ।

दुई देशबीच अहिलेसम्म पाँच चरणको वार्ता भइसकेको छ । तर, अमेरिकी टोलीले अगस्ट २५ लाई प्रस्ताव गरिएको छैटौँ चरणको वार्ता रोकेको छ ।

बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्