site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अस्ट्रेलियाले विश्वासघात गरेको नेतान्याहुको आरोप

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्ट्रेलियाले यहुदी समुदायलाई त्यागेको आरोप लगाएका छन् । पछिल्ला समय दुई देशबीच बढ्दो तनावका बीच उनले अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजमाथि इजरायललाई विश्वासघात गरेको समेत आरोप लगाएका छन् ।

“इतिहासले एन्थोनीलाई एक कमजोर राजनीतिज्ञ सम्झनेछ, जो उनको वास्तविक रूप हो,” नेतान्याहुले भने ।

अस्ट्रेलियाले सोमबार नेतान्याहुको सत्तारूढ गठबन्धनका एक कट्टर दक्षिणपन्थी सदस्यलाई देश प्रवेशमा रोक लगाएको थियो । जवाफमा इजरायलले प्यालेस्टिनी अथोरिटीका लागि अस्ट्रेलियाली प्रतिनिधिहरूको भिसा खारेज गरिदिएको थियो ।

अस्ट्रेलियाका आप्रवासनमन्त्री टोनी बर्कले नेतान्याहुले आक्रोशमा प्रतिक्रिया दिइरहेको बताएका छन् ।

क्यानबेराले हालै बेलायत, फ्रान्स र क्यानडासँगै प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेपछि पछिल्लो प्रतिक्रिया आएको हो । 

बर्कले बुधबार अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)सँगको कुराकानीमा भने, “शक्ति भनेको तपाईंले कति मानिसलाई विस्फोट गराउन सक्नुहुन्छ वा कतिलाई भोकै राख्न सक्नुहुन्छ भन्ने कुराले मापन हुँदैन ।”

यसैबीच, प्रधानमन्त्री अल्बानिजले पछि पत्रकारहरूसँग भने, “म यस्ता कुरालाई व्यक्तिगतरूपमा लिन्नँ । म अन्य देशका नेताहरूसँग सम्मानपूर्वक व्यवहार गर्छु र उनीहरूसँग कूटनीतिकरूपमा संलग्न हुन्छु ।”

इजरायलका विपक्षी नेता याइर ल्यापिडले नेतान्याहुको टिप्पणीको आलोचना गर्दै यसलाई अस्ट्रेलियाली नेताका लागि उपहार भएको संज्ञा दिएका छन् । ल्यापिडले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “आज लोकतान्त्रिक विश्वमा कुनै नेतालाई सबैभन्दा बलियो बनाउने कुरा नेतान्याहुसँगको टकराब हो । उनी राजनीतिकरूपमा पश्चिमी विश्वको सबैभन्दा विषाक्त नेता हुन् ।”

बीबीसीबाट ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्