site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रातो नदी र दुर्लभ माछाको संरक्षण गर्न चीनले भत्कायो ३०० बाँध, बन्द गर्‍यो जलविद्युत् केन्द्र

काठमाडौं । चीनले माछाको वासस्थान र स्वच्छ नदीका निम्ति ३०० बाँध भत्काएको छ । याङ्सीका प्रमुख सहायक नदीमा ती बाँध भत्काइएको हो । त्यहाँका अधिकांश साना जलविद्युत् केन्द्र पनि बन्द गरिएको छ ।

यो कदमबाट युनान, गुइझोउ र सिचुआन प्रान्त भई बग्ने ४०० किलोमिटर लामो चिशुई हे नदीमा सकात्मक प्रभाव परेको साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी)ले जनाएको छ । त्यसलाई ‘रातो नदी’का रूपमा पनि चिनिन्छ ।

सिन्ह्वा न्युज एजेन्सीलाई उद्धृत गर्दै जनाइएअनुसार, सन् २०२४ को डिसेम्बरसम्म ३५७ बाँधमध्ये ३०० हटाइएको छ । ३७३ साना जलविद्युत् केन्द्रमध्ये ३४२ बन्द गरिएको छ ।

पर्यावरणविद्का अनुसार, रातो नदीलाई माथिल्लो याङ्सी क्षेत्रमा पाइने दुर्लभ स्थानीय माछाको अन्तिम सुरक्षित वासस्थानका रूपमा लिइन्छ ।

वर्षौंदेखि बाँध र जलविद्युत् केन्द्रले माछाको बसाइँसराइमा अवरोध पुर्‍याएको थियो । र, प्रजनन क्षेत्र प्रभावित भएको थियो ।

सिङ्हुआ विश्वविद्यालयका हाइड्रोलिक इन्जिनियरिङका प्राध्यापक झोउ जियानजुनले एससीएमपीसँग भने, “हाइड्रोपावर बन्द गर्नुको अर्थ सामान्यतः विद्युत् उत्पादन रोक्नु हो । संरचना बाँकी भए पनि विद्युत् उत्पादन रोकेपछि पानीको व्यवस्थापनलाई परिवर्तन गरेर पर्यावरणीय आवश्यकता पूरा गर्न सकिन्छ ।”

संरक्षण परियोजना सन् २०२० मा थालिएको थियो । त्यसयता याङ्सी स्टर्जनजस्ता प्रजाति फर्कन सक्ने गरी नदीको अवस्था सुधार भएको छ । कहिलेकाहीँ ‘लास्ट जाइन्ट’ भनिने याङ्सी स्टर्जनलाई सन् २०२२ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले जंगली अवस्थामा लोप भएको घोषणा गरेको थियो ।

सन् २०२३ र २०२४ मा चिनियाँ विज्ञान एकेडेमीअन्तर्गत हाइड्रोबायोलोजी प्राधिकरणका अनुसन्धानकर्ताले रातो नदीमा स्टर्जन माछा छोडेका थिए । ती माछाले वातावरणसँग राम्रो अनुकूलता देखाएका छन् । सन् २०२४ को अप्रिलमा गुइझोउ प्रान्तमा २० वयस्क याङ्सी स्टर्जन नदीमा छोडिएका थिए ।

“अप्रिलको मध्यसम्ममा ती माछाहरूले प्राकृतिक प्रजनन व्यवहार देखाए र सफलतापूर्वक बच्चा कोरल्न थाले,” अनुसन्धानकर्ता लिउ फेईले भने, “यो उपलब्धिले रातो नदीको वर्तमान पारिस्थितिक अवस्थाले याङ्सी स्टर्जनको वासस्थान र प्रजनन आवश्यकता पूरा गर्न सक्ने संकेत गर्छ ।”

हाइड्रोबायोलोजी प्राधिकरणको अनुगमनानुसार, नदीमा माछा प्रजातिको संख्या बढिरहेको देखिएको छ । चीनले सन् २०२० मा याङ्सी नदीमा १० वर्ष माछा मार्न प्रतिबन्ध लगाएको थियो । नदीको पारिस्थितिक प्रणाली संरक्षण गर्ने त्यो दीर्घकालीन योजनाको हिस्सा थियो ।

सन् २०२१ को अन्त्यसम्म सिचुआन प्रान्तमा पाँच हजार १३१ साना जलविद्युत् केन्द्रमाथि कारबाही गरिएको थियो । तीमध्ये एक हजार २०० भन्दा बढी बन्द गरिएको एससीएमपीले जनाएको छ ।

हाइड्रोबायोलोजी प्राधिकरणले जलचर जीवनका निम्ति अनुकूल वातावरण बनाउन नदी आसपासको बालुवा खानीमा समेत प्रतिबन्ध लगाएको छ ।

सन् २०२४ को अगस्टमा प्रकाशित एक सरकारी प्रतिवेदनानुसार, माछा मार्न प्रतिबन्धपछि नदीको जलीय जैविक विविधता सुधारिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्