site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नेटोमार्फत युक्रेनलाई हतियार पठाउने सम्झौता गरेको ट्रम्पको खुलासा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिकाले उत्तर अटलान्टिक सन्धि संगठन (नेटो)मार्फत युक्रेनलाई हतियार पठाउने सम्झौता गरेको बताएका छन् । उनले ती हतियारको सय प्रतिशत खर्च नेटोले व्यहोर्ने बताएको सीएनएनले जनाएको छ ।

“हामी नेटोमार्फत हतियार पठाउँदैछौँ । नेटोले ती हतियारको १०० प्रतिशत तिर्नेछ । हामी नेटोलाई प्याट्रियट क्षेप्यास्त्रहरू पठाउनेछौँ,” ट्रम्पले एनबीसीसँगको अन्तर्वार्तामा भने, “त्यसपछि नेटोले ती हतियार युक्रेनमा वितरण गर्नेछ ।”

प्याट्रियट एक शक्तिशाली हवाई सुरक्षा प्रणाली हो, जसले क्षेप्यास्त्र र विमानहरूलाई रोकेर रक्षा गर्छ । 

त्यसभन्दा अगाडि, बिहीबार नेटोका महासचिव मार्क रुटेले ट्रम्पसँग वार्ता गरेका थिए । रुटेले युक्रेनलाई थप गोला–बारुद र हवाई सुरक्षा आवश्यक रहेको र नेटो देशहरूले त्यसमा सहयोग जुटाउन समेत काम गरिरहेको सामाजिक संजाल एक्समा पोष्ट गरेका थिए ।

अमेरिकी विदेशसचिव मार्को रुबियोले युरोपका देशहरूसँग सक्रिय रूपमा युक्रेनलाई प्याट्रियट प्रणाली उपलब्ध गराउने विषयमा छलफल भइरहेको बताएका छन् ।
 
बिहीबार एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले सोमबार रुसबारे वक्तव्य दिने संकेत पनि दिए । “म रुसबाट निराश छु । सोमबार रुसबारे ठूलो वक्तव्य दिनेछु,” राष्ट्रपतिले भनेका थिए । सीएनएन
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्