
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोसीमा ठूलो बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भोटेकोसीस्थित रसुवा–स्याप्रुबेँसी जलमापन केन्द्रमा मंगलबार (असार २४) बिहान ३ः३० बजे बाढी आइपुगेको थियो । बाढी बिहान ५ बजे त्रिशूली नदीस्थित वेत्रावतीमा आइपुगेको विभागले जनाएको छ ।
बाढीले बिहान ४ बजे रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाएको थियो । त्यहाँ मानिस र सवारीसाधनको आवतजावत बन्द भएको प्रहरीचौकी रसुवागढीले जनाएको छ ।
बिहान ०४ः४० बजेको गोसाइकुण्ड–२ मा ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको थियो । त्यहाँ रहेका सात/आठ ईभी गाडी बगाएको प्रहरीले जनाएको छ ।
यस्तै, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुगेको छ । रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारका निम्ति खटिएका मध्ये तीन प्रहरी सम्पर्कविहीन छन् ।
नौजनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी एक/एक र स्थानीय बासिन्दा सातजना छन् ।
हालसम्म १८ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा तीन प्रहरी, नौ नेपाली र ६ चिनियाँ नागरिक रहेका प्रहरीले जनाएको छ ।
बिहान ७ः५० बजे गोसाइकुण्ड–५ स्थित पासाङल्हामु सडकखण्डमा बाढीका कारण बाटो चर्किएको छ । धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।