
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले ऐनकानुन संसद्ले बनाउने कि संघसंगठनले भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शनिबार (जेठ ३१) उनले ऐनकानुन संघसंगठनले बनाउने भए जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।
“हामीले विधेयक बनाउने कि संघसंगठनले बनाउने ? यो कानुन बनाउँदै नबनाउने हो भने यो गणतन्त्रको के काम ?,” उनले प्रश्न गरिन्, “हामीले काम गरेको गर्यै गर्ने अनि त्यसपछि सम्झौता र प्रतिवेदन परिवर्तन गरेर महासंघले गरेको छ भनेर हुँदैन ।”
नेताहरू राजनीतिक भाषण दिन जान्ने तर कुनकुन कानुनले काम गर्छ भनेर थाहा नपाउने अवस्था रहेको उनले उल्लेख गरिन् । भएका छलफल र सहमति कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिइन् । त्यो कार्यान्वयनमा नलैजाने भए समितिमा छलफल गर्नुको कुनै अर्थ नहुने उनको भनाइ थियो ।
“ईसीजीको महत्त्व कति छ भनेर राजनीतिक भाषणचाहिँ दिने अनि त्यसमा कुनकुन कानुनहरूले काम गर्छ भनेर गर्न लगाउने,” उनले भनिन्, “तर, भएका छलफलहरू कार्यान्वयनमा नजाने हो भने किन छलफल गर्ने ? निजीमा राम्रो र सार्वजनिकमा झुर भन्ने हुन्छ ?”
हाल कायम रहेको विभिन्न खालका शिक्षकको मानक कहाँ हुने भनेर जवाफ मागिए पनि प्राप्त नभएको उनले सुनाइन् । “विभिन्न खालका शिक्षकको मानक कहाँ हुन्छ ? यी विभिन्न प्रकारका शिक्षकहरूको मापिङ के हुन्छ भनेर मागेको विषय हो । पटक–पटक तथ्यांक मागिएको तर त्यो तथ्यांकको वर्कआउट अहिलेसम्म आएको छैन,” उनले भनिन् ।
उनले अगाडि भनिन्, “अब अंग्रेजी उखानअनुसार कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर हल्लाउने ? भन्ने मेरो प्रश्न छ ।”
उनले विभिन्न प्रकारका शिक्षकको समायोजनका विषयमा अझै पनि स्पष्ट रूपमा उल्लेख हुन नसकेको टिप्पणी गरिन् । न्युज एजेन्सी नेपाल