site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एयर इन्डिया विमान दुर्घटनाको कारण के हुनसक्छ ?

काडमाडाैं । भारतको अहमदावादमा दुर्घटना भएको एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ को विमानमा रहेका   २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु छ । यो जहाज बिहीबार दिउँसो १ बजेर ३९ मिनेटमा गुजरात राज्यको अहमदाबादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उठेको केही सेकेन्डमा दुर्घटनाग्रस्त भएको थियो । 

अहमदाबादबाट लन्डन जाँदै गरेको उक्त विमान दुर्घटनाग्रस्त हुँदा डाक्टरहरूको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो । होस्टेल भवनमा ठोक्किँदा होस्टेल र जमीनमा भएका अन्य व्यक्तिहरूको पनि मृत्यु भएको भारतीय प्रहरीले बताएको सीएनएनले जनाएको छ । 

उक्त एयर इन्डिया विमान दुर्घटनामा २४१ यात्रुसहित कम्तीमा २९० जनाको मृत्यु भएको सीएनएनले उल्लेख गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो दुर्घटना किन भयो भन्ने कुरा विस्तृत अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ । तर, विमानले उडान भरे बित्तिकैको समय सबैभन्दा चुनौतीपूर्ण हुनसक्ने विज्ञहरूले बताएको बीबीसीले जनाएको छ । 

विमानको उडानको भिडियो हेर्दा यो दुर्घटनाको सटिक कारण निर्धारण गर्न लगभग असम्भव छ । तर, बीबीसीले यसको सम्भावित कारण पत्ता लगाउन नागरिक उड्ड्यन विज्ञहरूसँग कुरा गरेको छ । उनीहरूले केही सम्भावित कारणहरूको अनुमान लगाएका छन् ।

दुर्लभ डबल इन्जिन फेलियर
विमान उड्दै गर्दा भिडियोमा विमान अत्यन्तै कम उचाइमा उडिरहेको देखिन्छ । तर यो केवल ३० सेकेन्डसम्म हावामा थियो । एक पाइलटले बीबीसीलाई भने, “यदि, दुवै इन्जिन बन्द भएको भए, पाइलटसँग प्रतिक्रिया गर्ने समय नै हुँदैनथ्यो ।”

विमानमा चरा ठोक्किएको (बर्ड स्ट्राइक)
भारतका केही विज्ञहरूले चरा ठोक्किने सम्भावना पनि रहेको बताएका छन् । अहमदाबाद एयरपोर्टसँग परिचित विज्ञ तथा पाइलटहरूले यो एयरपोर्ट चराहरूको लागि कुख्यात रहेको बताए ।

फ्ल्याप समस्या
बीबीसीसँग कुरा गर्ने तीन विज्ञहरूले विमान उडान भर्दा फ्ल्याप (पखेटा) नफैलिएर पनि यो दुर्घटना भएको हुनसक्ने अनुमान लगाएका छन् । फ्ल्याप भनेको विमानको पखेटाको गतिशील भाग हो जसले उडान र ल्यान्डिङमा गति नियन्त्रण गर्न मद्दत गर्छ । 

विमान दुर्घटनासँग सम्बन्धित एक भिडियोमा विमान तलतिर झर्दै गरेको देखिन्छ । र, जमीनसँग ठोक्किँदा ठूलो विस्फोट भएको देखिन्छ । 

उड्ड्यन विश्लेषक ज्योफ्रे थोमस भन्छन्, “मैले भिडियो हेर्दा विमानको अन्डरक्यारेज (पाँग्रा) खुला थियो । तर, फ्ल्यापहरू बन्द थिए ।” 

यसको अर्थ के हो भने फ्ल्यापहरू पँखेटाको लहरमै थिए ।  उनका अनुसार यो टेकअफको समयमा असामान्य कुरा थियोे । 

थोमस भन्छन्, “अन्डरक्यारेज (विमानको पाँग्रहरू) सामान्यतया १०–१५ सेकेन्ड भित्रै फिर्ता लिइन्छ र यसपछि फ्ल्यापहरू १०–१५ मिनेटमा फिर्ता लिइन्छ ।”

अर्का विशेषज्ञ टेरी टोजर भन्छन्, “भिडियोबाट निश्चित रूपमा भन्न गाह्रो हुन्छ । तर, फ्ल्यापहरू नखुलेर विमानले सही ढंगले उडान भर्न नसकेको होला जस्तो लाग्दैन ।”

बकिंघमशायर न्यु युनिवर्सिटीका पूर्वपाइलट र सिनियर लेक्चरर मार्को चान भन्छन्, “यदि, फ्ल्यापहरू सही ढंगले सेट गरिएको थिएन भने यसले सम्भावित मानवीय कमजोरीको संकेत दिन्छ । तर, यसलाई पुष्टि गर्न भिडियोको रिजोलुसन धेरै कम छ ।”

अहिलेसम्म कुनै पनि कारण आधिकारिक रूपमा पुष्टि भएको छैन । अनुसन्धान टोलीले विमानको ब्ल्याक बक्स (उडान डाटा रेकर्डर) र ककपिट भ्वाइस रेकर्डर विश्लेषण गरेपछि मात्र स्पष्ट हुनेछ । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्