site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलको संसद् भंग गर्ने विपक्षीको प्रस्ताव एक मतले अस्वीकृत

काठमाडौं । इजरायलमा संसद् भंग गर्ने प्रस्ताव एक मतले अस्वीकृत भएको छ । बिहीबार संसद्‌मा भएको मतदानबाट विपक्षी दलहरूले ल्याएको प्रस्ताव अस्वीकृत भएको हो ।

मतदानले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी सरकारलाई अहिलेसम्मकै गम्भीर चुनौती प्रस्तुत गरेको थियो । यस प्रस्तावले सत्तारूढ गठबन्धनमा फुट नै ल्याएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इजरायलको संसद्‌मा कुल १२० सांसदमध्ये सत्तारूढ गठबन्धनका दुई सांसदसहित ५३ जनाले संसद् भंग गर्ने पक्षमा मतदान गरेका थिए । बाँकी ६१ जनाले संसद् भंग गर्न नहुने पक्षमा मतदान गरे ।

विपक्षीको प्रस्ताव असफल भए पनि उनीहरू सत्ता गठबन्धनमा फुट ल्याउन सफल भएका छन । संसद् भंगको विधेयक ल्याएर विपक्षी दलहरूले सत्तारूढ गठबन्धनभित्र रहेको दशकौँदेखिको धार्मिक सेमिनरीमा अध्ययनरत अतिरूढिवादी पुरुषलाई अनिवार्य सैन्य सेवाबाट छुट दिने नीतिबारेको झगडाबाट फाइदा लिने योजना बनाएका थिए ।

नेतान्याहुका अतिरूढीवादी सहयोगी गठबन्धन दलहरूले अतिरूढीवादी पुरुषलाई सेनामा भर्ती गर्ने प्रस्तावलाई लिएर विवाद गरिहेका छन् । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि यो मुद्दा थप पेचिलो बनेको छ ।

अतिरूढीवादी दलहरूले गठबन्धनको धर्म नाघेर विपक्षमा मतदान गर्न धम्की दिइरहेका थिए । यदि उनीहरूले एकजुट भएर विपक्षमा मतदान गरेको भए संसद् भंग गर्न आवश्यक बहुमत पुग्ने थियो । तर, युनाइटेड टोरा जुडाइज्मका दुई सदस्यले संसद् भंग गर्ने विधेयकलाई समर्थन गरेका थिए ।

न्युयोर्क टाइम्सबाट ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्