
काठमाडौं । आजभोलि क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसम चर्चामा छन् । अमेरिकामा मात्र नभएर अमेरिकाभन्दा बाहिर पनि उनको चर्चा छ । उनको चर्चाको कारण हो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यालिफोर्नियाका आप्रवासी समुदायमा संघीय अध्यागमन एजेन्सी (आईसीई)लाई प्रयोग गरेर गर्न लगाएको छापा ।
अवैध आप्रवासीको खोजी गर्न आप्रवासी बसेका स्थानमा छापामारेर र गिरफ्तारी गर्न थालेपछि त्यहाँका नागरिक सडकमा निस्किए । प्रदर्शन गर्न थालेपछि क्यालिफोर्नियाका सडकमा अराजकता फैलियो । गाडीहरूमा आगजनी हुन थाल्यो । भीडलाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्ने र पक्राउ गर्ने काम भयो । अन्ततः ट्रम्पले सेना परिचालन गरे ।
ट्रम्पले सेना परिचालन गरेपछि यो कानुनी कदम हो वा होइन भन्दै अर्को विवाद खडा भयो । अहिले क्यालिफोर्नियाको लसएन्जलसमा कर्फ्यु लगाइएको छ ।
मंगलबार राति टेलिभिजनमा प्रसारित सम्बोधनमा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सत्ताको निर्लज्ज दुरुपयोग गरेको आरोप लगाए ।
उनले ट्रम्प प्रशासनको अनावश्यक अध्यागमन नियमनले उनको राज्यका आप्रवासी बस्तीहरूलाई आतंकित बनाएको बताए ।
“क्यालिफोर्निया पहिलो हुनसक्छ, तर यो यहाँ मात्र गरिनेछैन,” उनले चेतावनी दिए, “हाम्रो आँखाअगाडि नै लोकतन्त्रमा आक्रमण भइरहेको छ ।”
न्युसमको यो भाषणले अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको राज्यको नेतृत्व गर्ने डेमोक्र्याट र राष्ट्रपतिबीचको नयाँ टकराव सतहमा ल्यायो । यो दुवै नेताबीचको संघर्षले ५७ वर्षीय गभर्नरलाई ठूलो चुनौती प्रस्तुत गरेको छ ।
तर, यसले उनलाई एक राजनीतिक अवसर पनि दिएको छ । उनको कार्यकाल अर्को वर्ष समाप्त हुनेछ र उनी आफैँ राष्ट्रपति पदको महत्वाकांक्षी पनि हुन् ।
“ग्याभिन न्युसमको लागि पक्कै पनि यो एक अवसर हो,” क्यालिफोर्नियाका पुराना डेमोक्र्याटिक रणनीतिकार ड्यारी स्रागोले भने ।
उनले अगाडि थपे, “तर, राज्यको गभर्नरको रूपमा न्यूसमसँग क्यालिफोर्नियाको रक्षा गर्ने दायित्व छ । चाहे यो उनको राजनीतिक हितमा होस् वा नहोस् । यो कर्तव्यको आह्वान हो ।”
ट्रम्पले न्यूसमलाई असक्षम भन्दै लस एन्जलसमा भएको हिंसात्मक प्रदर्शनको प्रतिकार पर्याप्त रूपमा नगरेको आरोप लगाएका छन् ।
ट्रम्पले गभर्नरलाई दिइएको पहिलेको होच्याउने उपनाम ‘न्युजकम’ (फोहोर समाचार) फेरि प्रयोग गर्दै मंगलबार भने, “उनलाई गिरफ्तार गर्नु ठूलो कुरा हुनेछ ।”
संचारमाध्यमका रिपोर्टहरू अनुसार, ह्वाइट हाउसले क्यालिफोर्नियालाई दिने शिक्षा अनुदानलगायत अरबौँ डलरको संघीय सहयोग रोक्ने तयारी गरिरहेको छ ।
ह्वाइट हाउसका उप–प्रवक्ता एबिगेल ज्याक्सनले विज्ञप्तिमा भने, “लस एन्जलसमा कानुनविहीन दंगा र प्रहरीमाथि भएको हिंसाको लागि ग्याभिन न्युसमको असक्षम नेतृत्व सीधै जिम्मेवार छ ।”
“आफ्नो वामपन्थी समर्थकहरूसँग राजनीतिक लाभ हासिल गर्ने उद्देश्यले ‘फन्ड रेजिङ’ इमेल लेख्न छोडेर न्यूसमले आफ्नो राज्यमा कानुनी व्यवस्था कायम गरेर अमेरिकीहरूलाई सुरक्षित बनाउन केन्द्रित हुनुपर्छ ।”
न्यूसमले ट्रम्पको गिरफ्तारीको धम्कीलाई अधिनायकवादतर्फको कदम भनेर आलोचना गर्दै भने, “संघीय भवनहरूको सुरक्षा र आप्रवासन अधिकारीहरूलाई बचाउन ट्रम्पले सैन्य तैनाथी गरेकोले नियन्त्रित र शिथिल भएका प्रदर्शनहरू फेरि उत्तेजित भएको छ ।”
उनले मंगलबार रातको सम्बोधनमा भने, “कानुनको शासन अब डन (ट्रम्प) को शासनले प्रश्रय लिँदैछ ।”
पछिल्ला केही दिनमा, न्यूसम डेमोक्र्याटिक पार्टीको अनुहार बनेका छन् । जसले राष्ट्रियस्तरमा ट्रम्पको रिपब्लिकन प्रशासनको विकल्पको रूपमा स्पष्ट र एकीकृत आवाज प्रस्तुत गर्न धेरै चुनौती भोगेका छन् ।
गभर्नरले क्यालिफोर्निया र अमेरिकी झण्डाको अगाडि सुट लगाएर दिएको उनको सुव्यवस्थित भाषणले व्यापक मिडिया कभरेज पाएको छ । युट्युबका विभिन्न च्यानलहरूमा दश लाखभन्दा धेरै हेरेका छन् ।
न्यूसमको प्रेस टिमले सामाजिक संजालमा पनि सक्रियता देखाएर ट्रम्पलाई स्टार वार्स चलचित्रको खलनायक एम्परर पाल्पेटिनसँग तुलना गरेको छ ।
वाशिंगटन पोष्टका अनुसार, गभर्नरको आधिकारिक टिकटक अकाउन्टका फलोअर्स पछिल्ला दिनमा दोब्बरले बढेर ८ लाख ९७ हजार पुगेको छ ।
“न्यूसमले यसबाट राष्ट्रियस्तरमा सकारात्मक पहिचान बनाउनसक्ने सम्भावना ज्यादा छ,” स्रागोले भने ।
उनले भने, “न्यूसमले जति धेरै ट्रम्प र क्यालिफोर्नियाबीचको द्वन्द्वलाई उजागर गर्न सक्छन् (जहाँ राष्ट्रपतिको स्पष्ट गल्ती छ), उतिकै उनको राजनीतिक फाइदा हुने सम्भावना बढ्छ ।”
“यसलाई टेक्सासको लारेडो सडकमा दुईजना गन्स्लिंगरहरूबीचको द्वन्द्व नबनाउनुहोस्,” उनको सल्लाह दिन्छन् ।
ट्रम्प र न्यूसमको कथा र शैलीमा सधैँ विरोधाभास रहेको छ । एकातिर उग्र ट्रम्प अर्कोतिर परिष्कृत न्युसम ।
न्यूसम २०१८ मा डेमोक्र्याटिक मिड–टर्म चुनावमा निर्वाचित भएका थिए, जुन ट्रम्पको पहिलो राष्ट्रपतिकालको विरुद्धमा मतदाताको पहिलो ठूलो प्रतिक्रिया थियो ।
उनले आफ्नो राज्यलाई ट्रम्पको राष्ट्रिय दक्षिणपन्थी जनवादको प्रतिकार गर्न सक्षम राज्य बनाउने प्रतिज्ञा गरेका थिए । तर, उनको राजनीतिक यात्रा सधैँ सहज छैन ।
कोभिड महामारीका बेला उनले सार्वजनिक स्थानहरूमा कडा लकडाउन लगाएकोमा विवादित भए । उनले कोरोनाकालमै नोभेम्बर २०२० मा आफ्नो जन्मदिन एक फ्रान्सेली रेस्टुरेन्टमा मनाए ।
उनका राजनीतिक प्रतिद्वन्द्वीहरूले यसलाई कमजोरी ठानेर सेप्टेम्बर २०२१ मा रि–कल चुनाव थाले । तर, न्यूसमले आरामदायी अन्तरले जित हासिल गरे । सन् २०२२ मा न्यूसम दोस्रो चार वर्षे कार्यकालका लागि पुनः निर्वाचित भएपछि उनी राष्ट्रिय डेमोक्र्याटिक राजनीतिमा अझ सक्रिय भए । यसले उनको राष्ट्रपतिको महत्वाकांक्षा भएको अनुमानलाई बलियो बनायो ।
उनी जो बाइडेनको पुनः निर्वाचन चुनाव अभियानको प्रमुख प्रतिनिधि बने । र, डिसेम्बर २०२३ मा फक्स न्यूजमा फ्लोरिडा गभर्नर रोन डेसान्टिससँग प्रमुख बहसमा सहभागी भएका थिए । त्यतिबेला डेसान्टिस रिपब्लिकन पार्टीको राष्ट्रपति नामांकनको दौडमा थिए ।
गत नोभेम्बरमा ट्रम्प पुनः निर्वाचित भएपछि न्यूसमले राजनीतिक केन्द्रतिर उल्लेखनीय ढंगमा झुकाव देखाए ।
उनले महिला खेलकुदमा ट्रान्सजेन्डर खेलाडिहरूको सहभागितामा नयाँ असहजता व्यक्त गरे । अवैध कामदारहरूको स्वास्थ्य लाभ घटाउन आह्वान गरे । आफ्नो राजनीतिक पोडकास्टमा पूर्वह्वाइट हाउसका वरिष्ठ सल्लाहकार स्टिभ ब्याननजस्ता रूढिवादी अतिथिहरूलाई आमन्त्रित गरे । यसले डेमोक्र्याटिक पार्टीभित्र केहीलाई उत्तेजित बनायो ।
जनवरी २०२४ मा उनले लसएन्जलसको उपनगरमा भएको भीषण आगलागीमा ट्रम्पसँगै भ्रमण अवलोकन गरे र पुनर्निर्माण प्रयासमा नयाँ रिपब्लिकन प्रशासनसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
तर, लसएन्जलसमा भएको प्रदर्शनले यो निकटताको अचानक र निर्णायक अन्त्य भयो । अब यी दुई नेताहरू गहिरो राजनीतिक विभाजनको अगाडि आमने–सामने भएका छन् ।
ट्रम्पले सधैँ आफूलाई विपरीत पार्ने राजनीतिक प्रतिद्वन्द्वीको फाइदा लिँदै आएका छन् । चाहे त्यो २०१६ मा हिलारी क्लिन्टन हुन्, उनको पहिलो राष्ट्रपतिकालको पछिल्ला वर्षहरूमा न्यान्सी पेलोसी हन् वा सत्तामा फर्किने प्रयासमा जो बाइडेन नै किन नहुसन् ।
यो टकरावमा न्यूसमका लागि केही जोखिमहरू छन् । क्यालिफोर्नियालाई संघीय सहयोग रोकिने र गिरफ्तारीको धम्की त्यसका दुई उल्लेखनीय उदाहरण मात्र हुन् । तर, यो त्यस्तो संघर्ष हो जसलाई उनी आत्मसात् गर्न तयार देखिन्छन् । बीबीसी