
काठमाडौं । अभिनेत्री तथा पर्वतारोही दीया पुनले युरोप महादेशको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रुस (५ हजार ६४२ मिटर) आरोहण गरेकी छन् ।
नर्ससमेत रहेकी अभिनेत्री पुनले यो साहसिक यात्रा जुन १० मा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइडहरू लिउन अताबिएभ तथा एड्गरसँग संयुक्त रूपमा सम्पन्न गरेकी हुन् ।
माउन्ट एल्ब्रुसको सफल आरोहणसँगै पुनले ‘सेभेन समिट्स’ अर्थात् सातै महादेशका सर्वोच्च शिखरहरू आरोहण गर्ने आफ्नो लक्ष्यतर्फ एक कदम अघि बढेकी छन् ।
हालसम्म उनले चार महादेशका अग्ला हिमाल माउन्ट एभरेष्ट (एसिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण अमेरिका) र हालै आरोहण गरेको माउन्ट एल्ब्रुस (युरोप) सफलतापूर्वक चढिसकेकी छन् ।
उनका आगामी लक्ष्य बाँकी तीन शिखर कास्र्टेन्स पिरामिड (ओसियानिया), डेनाली (उत्तर अमेरिका) र माउन्ट विन्सन (अन्टार्कटिका) हुन् ।
यो अभियानमा उनले आफू अभिनित चलचित्र ‘एक्लो’को पोस्टर र नेपालको राष्ट्रिय झन्डा पनि शिखरसम्म पुर्याएकी निर्माण टिमले प्रेस नोटमा उल्लेख गरेको छ । चलचित्र ‘एक्लो’ मा उनले पुन नामक अन्तरीक्षयात्रीको भूमिका निर्वाह गरेकी छन् ।