
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि पहिलो चरणको स्टल बुकिङ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ सम्म आयोजना हुने उक्त एक्स्पोमा देशका चर्चित ब्रान्डहरू सहभागी हुने पक्का भएको छ ।
नाइमाले आयोजित स्टल बुकिङ कार्यक्रममा चार पांग्रे, दुई पांग्रे र व्यावसायिक सवारीसाधनको पनि प्रदर्शनी व्यापक सहभागिता देखिएको छ । कुल ४८ स्टलमध्ये २१ वटा चार पांग्रे र १८ वटा दुई पांग्रे र ९ वटा स्टल राखिएको छ ।
नेपालको अटोमोबाइल उद्योगमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै यो एक्स्पो महत्त्वपूर्ण अवसर हुने नाइमाले जनाएको छ ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यका अनुसार, सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिँदै प्रोत्साहन नीति अपनाएको सन्दर्भमा आगामी एक्स्पोले अझ ठूलो सफलता हासिल गर्ने अपेक्षा गरिएको छ । “प्रदर्शनी कार्यक्रममार्फत देशभरका उपभोक्तामा विद्युतीय सवारीसाधनप्रति विश्वास जगाउने हाम्रो प्रयास हुनेछ,” विज्ञप्तिमा भनिएको छ ।
नाइमाले हरित यातायात प्रणालीको विकास, दीर्घकालीन नीति निर्माण र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी प्रविधिहरूको पहिचान तथा प्रवर्द्धनमा जोड दिँदै जाने विज्ञप्तिमा उल्लेख छ । सोही अनुरूप, नेपाल मोबिलिटी एक्स्पो २०२५ ले विद्युतीय गाडी उद्योगका नविनतम प्रविधि तथा अवधारणाहरू प्रस्तुत गर्न उद्देश्य लिएको जनाएको छ ।
कार्यक्रममा सहभागिता जनाउने ब्रान्डहरू तीन श्रेणीमा वर्गीकृत गरिएको छ । चार पांग्रे सवारीसाधनअन्तर्गत बीवाईडी, सिट्रोन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेन्री भोल्ट्स, हुन्डाई, किया, लिपमोटर, एलईभी–१, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेइको, प्यूजो, प्रोटन, रेनो, टोयोटा, भक्सवागन लगायत रहेका छन् ।
सहभागी दुई पांग्रे सवारी ब्रान्डहरूमा एम्पियर, एथर, बजाज, बेनेली, सिएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयु, रिभोल्ट, रोयल एनफिल्ड, सेगवे–नाइनबट, सुजुकी, टिभीएस, अल्ट्राभायोलेट लगायतका ब्रान्ड रहेका छन् ।
व्यावसायिक सवारीसाधन ब्रान्डहरूमा चेरी वान्डा, डोङफेङ, फ्यरिजन, हुआजी, कामा, कारी, किङलङ, सनलङ लगायतका रहेका छन् ।
नाइमाले सबै सहभागी ब्रान्ड र कम्पनीहरूलाई आभार व्यक्त गर्दै एक्स्पोलाई सफल बनाउनको लागि सक्रिय सहभागिताको आह्वान समेत गरेको छ ।