
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने बताएका छन् । प्रतिनिधिसभाको बैठक छिटै सुचारु हुने उनको दाबी छ ।
बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाएपछि सञ्चारकर्मीहरूको प्रश्नमा मन्त्री गुरुङले बुधबार वा बिहीबार (आज वा भोलि)सम्म बैठक सुचारु हुने बताएए ।
भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षली दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।
अख्तियारले एक कर्मचारीमाथि छानबिन सुरु गरेको भन्दै उनले कर्मचारीमाथि छानबिन सुरु गर्दा गृहमन्त्रीको राजीनामा नदिने उनले प्रष्ट पारे ।
मन्त्री गुरुङले एकजना कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे ।
गृहमन्त्रीले राजीनामा नदिने बरु संसदीय छानबिन समिति कसरी बनाउने भन्नेमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल जारी रहेको उनले बताए ।
सदनमा उठेका प्रश्नको जवाफ संसदनै गृहमन्त्रीले दिने र प्रतिपक्षले संसद् खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गर्नुपर्नेमा उनको जोड छ ।
“सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्दैन । सम्भवतः आज वा भोलिसम्म संसद् चल्छ,” उनले भने । —न्युज एजेन्सी नेपाल