site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्यालिफोर्नियाका गभर्नरलाई पक्राउ गर्नुपर्ने मागमा ट्रम्पको समर्थन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसमलाई पक्राउ गर्नुपर्ने भनाइमा समर्थन जनाएका छन् । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग सोमबार कुरा गर्दै राष्ट्रपति ट्रम्पले गभर्नर न्युसमलाई पक्राउ गर्नुपर्ने बताएका हुन् ।

गभर्नर न्युसम र ट्रम्पका सीमा प्रमुख टोम होमनबीच चलेको विवादबारे फक्स न्युजका संवाददाता पिटर डुसीले सोधेको प्रश्नको जवाफ दिने क्रममा ट्रम्पको भनाइ आएको हो ।

सीएनएनले रेकर्ड गरेको भिडियोमा पत्रकार डुसीले ट्रम्पलाई सोधेका छन्, “गाभिन न्युसमले टोम होमनलाई आफूलाई पक्राउ गर्न चुनौती दिएका छन् । के उनले यो गर्नुपर्छ ?”

Argakhachi Cement Island Ad

जवाफमा ट्रम्पले भनेका छन्, “म टोम भए, यो काम गर्थें ।” उनले अगाडि भनेका छन्, “गाभिनले प्रचार मन पराउँछन् । तर मलाई लाग्छ, पक्राउ गर्दा राम्रो हुनेछ ।”

उनले न्युसमलाई राम्रो तर अत्यन्तै अक्षम व्यक्ति भनेका छन् ।

उता गभर्नर न्युसमले सामाजिक सञ्जालमार्फत ट्रम्प प्रशासनको कदमलाई अधिनायकवादतर्फ उन्मुख भनेका छन् ।

राष्ट्रपति ट्रम्पको टिप्पणी ट्रम्पका सीमा प्रमुख टोम होमनले लस एन्जलसमा चलिरहेको अध्यागमन कारबाहीमा गभर्नर न्युसम र लस एन्जलसका मेयर करेन बासले हस्तक्षेप गरे उनीहरूलाई पक्राउ गर्ने धम्की दिएपछि आएको हो ।

होमनको धम्कीको प्रतिक्रियामा गभर्नर न्युसमले एमएसएनबीसीलाई भनेका छन्, “उनी कडा मानिस हुन्, तर उनी मलाई किन पक्राउ नगरेको हो बुझ्न सकेको छैन ? म कहाँ छु भन्ने उनलाई थाहा छ ।”

न्युसम र अन्य डेमोक्रेटिक नेताले लस एन्जलसको हिंसात्मक प्रदर्शनमाथि दमन गर्न ट्रम्पले राष्ट्रिय गार्ड प्रयोग गरेपछि आलोचना गरेका छन् । उनीहरूले बल प्रयोग गरिए अरू समस्या ल्याउने बताएका छन् ।

न्युसमले ट्रम्प प्रशासनविरुद्ध मुद्दा चलाउने योजना पनि घोषणा गरेका छन् ।

अमेरिकाको क्यालिफोर्निया राज्यमा चार दिनदेखि चर्किएको प्रदर्शन नियन्त्रण गर्न संघ सरकारले ७०० भन्दा बढी स्थल र जल सैनिक लस एन्जलसमा परिचालन गरेको छ । अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाई (आईसीई)ले लस एन्जलसमा लुकेर बसिरहेका अवैध आप्रवासीको खानतलासी र पक्राउ गर्दा हिंसा भड्किएको थियो ।

एबीसीन्युजबाट ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्